अभियुक्त भगाउन बक्तव्यबाजी : विकल्पको १३ प्रश्न ? – Naya Bikalpa
April 20, 2024, Saturday
लामिछाने गृहमन्त्री कि न्युजमेकर ?

अभियुक्त भगाउन बक्तव्यबाजी : विकल्पको १३ प्रश्न ?

काठमाडौं । सुरक्षा जस्तो संवेदनशिल विषयको तालुकदार अड्डा गृह प्रशासन हाँक्ने नेतृत्व जिम्मेवारीबोध र कर्तव्य पुरा गर्नेभन्दा समाचार उत्पादन कसरी गर्ने भन्ने विषयमा ध्यान केन्द्रीत गर्न लाग्यो भने मुलुकको शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था सब ठीक ठाक होला भन्ने कल्पना गर्न सकिँदैन ।

आफ्नो हैसियत र कर्म भुलेर सस्तो लोकप्रीयता र चर्चाकै पछि कुद्ने मनसायका कारण हाल मुलुकको सुरक्षा व्यवस्था भद्रगोल हुन थालेको छ । प्रसंग हो नवनियुक्त गृहमन्त्री रबी लामिछानेको । पूर्वसंचारकर्मी समेत रहेका गृहमन्त्री लामिछाने छोटो समयमै चर्चाको शिखरमा पुगेर राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । देश र जनताका समसामयिक विषयमा समस्या, गुनासा र अभावका विषयबस्तु फलाकेर चर्चा कमाउन सफल लामिछानेले जनताबाट आफू जननिर्वाचित जनप्रतिनिधि मात्र होइन, मुलुकको कार्यकारी संस्था मन्त्रीपरिषद्को जिम्मेवार सदस्य भएको चेत नहुँदा यतिवेला हास्यका पात्र मात्र होइन, अल्लारे शैलीका परिचायक बनेका छन् ।

एउटा संचारकर्मीले दैनिक समाचार उत्पादन गर्न अनेकौं विषयमा ध्यान दृष्टि लगाए झै गृहमन्त्री भएका लामिछानेले समाचारको विषयबस्तु आफू केन्द्रीत भइरहोस भन्ने मनसायले संचारकर्मीलाई खुराक (अन्तरबस्तु) त दिएर राम्रै गरे तर मुलुकको गृहमन्त्री जस्तो संवेदनशिल पदको गरिमा र मर्यादालाई भने आँच आउने काम गरे ।

गृहमन्त्री लामिछानेले माघ ६ गते शुक्रबार साँझ यस्तै हर्कत देखाएर संचारकर्मीलाई त खुराक दिए तर आमनागरिकमा भने त्रास निम्त्याए । गृहमन्त्री लामिछानेको आदेशमा गृहका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले एउटा विज्ञप्ति जारी गरे, त्यो के भन्दा – एक जना कर्तव्य ज्यान मुद्धाका अभियुक्तलाई पक्राउ गर्न प्रहरीले अटेर गरेकोले लिखित आदेश दिएको भनेर ।

मुलुकको शान्ति सुरक्षाको बागडोर हाँकेर बसेको गृहमन्त्रीले आफूले भनेको मौखिक आदेश प्रहरीको नेतृत्वले कार्यान्वयन नगरेकोले सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्दै पुनः लिखित (पत्राचार) निर्देशन गर्नु परेको घटना चान चुने विषय होइन, यो निकै गम्भीर र संवेदनशिल विषय हो ।

गृहमन्त्रीको निर्देशनमा गृहका प्रवक्ताले यस्तो विज्ञप्ति जारी गरेको घटनाले मुलुकको शान्ति सुरक्षा, अमन चयन र चेन अफ कमाण्ड भद्रगोल भएको र बेथिति रहेको झल्किन्छ । यसले केही गम्भीर प्रश्न उजागर गरेको छ ।

प्रश्न नम्वर १ : गृहमन्त्रीले पटक पटक प्रहरी नेतृत्वलाई अभियुक्त पक्राउ गर्नु भनी दिएको निर्देशन पालना नभएको हो ?

प्रश्न नम्वर २ : गृहमन्त्रीको मौखिक आदेश पालना नगर्ने प्रहरीको नेतृत्वलाई वा जिम्मेवार अधिकारीलाई गृहमन्त्रीले कुनै

कारबाही नगर्नुको पछि के कारण होला ? कि कारबाही गर्न सक्ने अवस्था मन्त्रीमा नभएको हो ?

प्रश्न नम्वर ३ : गृहमन्त्रीको आदेश संविधान र कानून बमोजिम भए पनि प्रहरीको नेतृत्वले पालन नगरेको अवस्थामा शान्ति सुरक्षाको नेतृत्व गरेको गृहमन्त्रीले त्यो पदमा टाँसिनुको खास स्वार्थ वा मकसद कुनै छ ? वा राजिनामा दिन कसले रोक्यो ?

प्रश्न नम्वर ४ : प्रहरीको नेतृत्वले गृहमन्त्रीको आदेश पालना नगरेको अवस्थामा के लिखित आदेश मात्रै मान्नु पर्ने वा कार्यान्वयन गर्नु पर्ने अवस्था बाध्यकारी हुन्छ ?

प्रश्न नम्वर ५ : सात वर्ष अघि मधेश आन्दोलनको बेला घाइते भएका शसस्त्र प्रहरीलाई एम्बेन्सबाट झारेर यातना दिएरै हत्या गरेको अभियोग लागेका व्यक्ति गत पुस २६ गते मंगलबार प्रतिनिधि सभाको बैठक कक्षमा आफूसँगै सत्ता पक्षको लहरमा बस्दा तपाइँले आँखा चिम्लनु भएको थियो ?

प्रश्न नम्वर ६ : महोत्तरी जिल्लाको क्षेत्र नम्वर १ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका लक्ष्मी महतो कोइरी अभियुक्त हुन भन्ने सूचना गृह प्रशासन वा प्रहरीले गृहमन्त्रीलाई नदिएको हो ?

प्रश्न नम्वर ७ : पुस २६ गते मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत माग्ने प्रस्तावको पक्षमा १९४ नम्वरमा लक्ष्मी महतो कोइरी अभियुक्त भए पनि मत दिएको संसद सचिवालयले सूचना सार्वजनिक गरेकै थियो ? तर गृहमन्त्री ९ दिनसम्म अर्थात माघ ६ गते ५ बजेसम्म किन चुप बस्नु पर्यो ?

प्रश्न नम्वर ८ : प्रतिनिधि सभा सदस्यमा निर्वाचित कोइरी र मनाङबाट निर्वाचित टेकबहादुर गुरुङ प्रहरीको खोजिको सूचीमा रहेको सूचना प्रहरीलाई थाहा थिएन ? थियो भने कोइरीले संघीय सांसदले लगाउने लोगो कहाँबाट कहिले लिए ? संसदको गेटमा रहेको प्रहरीले नेतृत्वलाई सूचित नगरेको हो ?

प्रश्न नम्वर ९ : के अवदेखि हरेक अभियुक्तलाई प्रक्राउ गर्न गृहमन्त्रीले प्रहरी नेतृत्वलाई लिखित आदेश दिइरहने हो ? वा लिखित निर्देशन दिएको सबै विषय विज्ञप्ति जारी गरेर संचारकर्मीलाई खुराक दिइरहने हो ?

प्रश्न नम्वर १० : अभियुक्त पक्राउ गर्ने कार्य नगर्ने तर विज्ञप्ति जारी गरेर सूचना यसरी नै गृह प्रवक्तावाहेक अरुले सार्वजनिक गरेर अभियुक्त भगाउन भूमिका खेलेको भए ‘मतियार’ करार हुने थिए । तपाईको यो कर्मले अभियुक्त लुक्न, भाग्न वा प्रमाण नष्ट गर्न सहयोग गर्दैन र ?

प्रश्न नम्वर ११ : सुरक्षा संवेदनशिल महत्वपूर्ण अंग गृहमन्त्रालयको प्रमुख जस्तो व्यक्तिले हरेक सूचना सार्वजनिक गर्दै सस्तो प्रचार गर्ने हो ? कुन देशको गृहमन्त्री कहिल्यै लोकप्रीय भएको घटना तपाइँलाई थाहा छ ?, होइन भने गृहमन्त्रीले जिम्मेवारी र कर्तव्य पुरा गर्दा अलोकप्रीय पनि हुन सक्छ भन्ने हेक्का थिएन ?

प्रश्न नम्वर १२ : तपाईंसँग स्वार्थ बाझिएको गृह मन्त्रालयको जिम्मेवारी लिन किन मरिहत्ते गर्नु भयो? सत्तारुढ घटक नेकपा एमालेबाट निर्वाचित सांसद भएकै कारण लक्ष्मी महतो कोइरीलाई प्रक्राउ नगर्न एमाले नेतृत्वबाट दबाब वा चुनौति आएको हो ? होइन भने संसद सचिवालयको अनुमति लिएर संसद भित्रैबाट च्याप्प पार्न केले रोक्यो ?

प्रश्न नम्वर १३ : यी सबै प्रश्नको यथार्थ जवाफ दिन नसक्ने हो भने तपाईँका हालसम्मका सबै कर्म कपोलकल्पित, भ्रामक, झुट र चर्चा पाउन गरिएका नक्कली कर्म हुन भन्दा सही होला कि नहोला ? नयाँ विकल्प साप्ताहिकबाट

 

सम्बन्धित समाचार

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान
  • २०७९ माघ ९, १२: ५७

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । एक सूचना जारी गर्दै खुला...

यी प्रदेशमा वर्षा र हिमपात हुने
यी प्रदेशमा वर्षा र हिमपात हुने
  • २०७९ माघ ९, १२: ५७

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...

विश्वासको मत लिनै गठबन्धनलाई सकस
विश्वासको मत लिनै गठबन्धनलाई सकस
  • २०७९ माघ ९, १२: ५७

पोखरा । विश्वासको मत पाएको घोषणा गराउने मुख्यमन्त्री खगराज अधिकारीको प्रयास असफल भएको छ । असफल भएलगतै १० वैशाखमा अदालतले...