भारतद्वारा नेपाललाई मिर्गौला डायलाइसिस मेसिन उपहार स्वरुप प्रदान – Naya Bikalpa
April 19, 2024, Friday

भारतद्वारा नेपाललाई मिर्गौला डायलाइसिस मेसिन उपहार स्वरुप प्रदान


काठमाडौं । भारत सरकारले दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरेका हुन् ।

करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे । उक्त अवसरमा उनले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख गरे ।

मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताए ।

उनले भने, ‘दुई मुलुकबीच आर्थिक, सामाजिक सबै रुपले घनिष्ट सम्बन्ध छ । यो हाम्रो ऐतिहासिक पक्ष हो । भूकम्प र भोभिडको समयमा पनि भारत सरकारबाट जुन खालको सहयोग भयो । त्यो अत्यन्तै उल्लेखनीय छ । महत्वपूर्ण छ । यो कुरा नेपाली जनताले सधैंभरी सम्झन योग्य छ । म यसका लागि भारतीय राजदुतावासमार्फत् भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु । स्वास्थ्य क्षेत्रमा पनि थप सहकार्य गरेर अघि बढने विश्वास दिलाउन चाहन्छु ।’

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिवद्धता समेत व्यक्त गरे ।

नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उनको भनाई थियो । राजदूत श्रीवास्तवले भने, ‘करिव एक वर्ष अघि नेपाल सरकारको तर्फबाट २ सय मृर्गौला डायलाईसिस मेशिनका लागि भारत सरकारलाई अनुरोध गरिएको थियो । सोही अनुसार मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ । हामी नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्नेछौं ।’

नेपालको विकासको सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दै आएको छ । नेपालको ट्रमा सेन्टर निर्माण, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सहयोग भारत सरकारले गरेको छ ।

भूकम्पका बेला १३२ वटा हेल्थ पोष्ट निर्माणमा पनि भारतले सहयोग गरेको छ । कोभिड भ्याक्सिनमा पनि भारतले नेपाललाई सहयोग गरेको छ । भारत सरकारको तर्फबाट एक असल छिमेकीको तर्फबाट नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकासका लागि सधैं अग्रसर रहनेछ ।’

भारतले कोभिड संकटका बेला मात्रै पनि १३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।

स्वास्थ्य क्षेत्रमा सहकार्य भारत–नेपाल विकास साझेदारीको महत्वपूर्ण पक्ष हो । नेपालका विभिन्न जिल्लामा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित झन्डै ५० वटा उच्च प्रभाव सामुदायिक परियोजनाका अतिरिक्त काठमाडौंस्थित नेपाल भारत मैत्री आपतकालीन तथा ट्रमा सेन्टर, धरानस्थितवी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंस्थित वीर अस्पतालको ओपीडि कम्प्लेक्स जस्ता प्रमुख स्वास्थ संस्थाहरु भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएका हुन् ।

साथै भारत सरकारले नेपाललाई आइसीयु बेड, मेडिकल अक्सिजन प्लान्ट, अत्यावश्यक औषधी, आरटी–पीसीआर टेस्ट किट्स, पीपीई, भेन्टिलेटर जस्ता स्वास्थ्य उपकरणहरु पनि उपलब्ध गराएको थियोे । भारत सरकारले प्रत्येक वर्ष नेपालका विभिन्न स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपलब्ध गराउदै आएको छ । भारतले हालसम्म नेपालका लगभग सबै जिल्लामा गरी ९४० वटा एम्बुलेन्स वितरण गरिसकेको छ ।

निकट छिमेकीको हिसाबले भारत र नेपालबीच बहुआयामिक एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस मिर्गौला डायलाइसिस मेसिनको हस्तान्तरणले स्वस्थ नेपालको निर्माणमा नेपाल सरकारले गरेको प्रयासमा भारतले पुर्याउदै आएको सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

सम्बन्धित समाचार

हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
हिमालयन हाइड्रो एक्स्पोमा १२ देश सहभागी ,अडानी ग्रुप समेत सामेल
  • २०७९ फाल्गुन ८, १६: ३४

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा यही वैशाख १२ देखि १४...

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखको भूमिका असंवैधानिक र आपत्तिजनकः कांग्रेस
  • २०७९ फाल्गुन ८, १६: ३४

काठमाडौं। प्रदेश सरकार गठन गर्ने नाममा गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलापप्रति नेपाली कांग्रेसले घोर आपत्तिजनक...

कोशी प्रदेशमा संविधान विपरित संकल्प प्रस्ताव
कोशी प्रदेशमा संविधान विपरित संकल्प प्रस्ताव
  • २०७९ फाल्गुन ८, १६: ३४

  विराटनगर। कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई संविधान विपरित विश्वासको मत लिन निर्देशन दिनेलगायतका...