मातृभूमिको अस्मिताभन्दा ठुलो राजनीतिक नैतिकता अर्को हुँदैन – Naya Bikalpa
June 1, 2023, Thursday

मातृभूमिको अस्मिताभन्दा ठुलो राजनीतिक नैतिकता अर्को हुँदैन

१. मुलुक अझै तरङ्गित छ नक्कली शरणार्थी तयार गरी तेस्रो मुलुक पठाउन गरिएको जालझेली कार्यको अहिलेसम्म प्राप्त विवरण र पक्राउ परेका व्यक्तिहरुको हैसियतका कारणले । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, संविधान सभाका सभासद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजित राई, नेपाल सरकारका बहालवाला सचिव गृहमन्त्रालयमा सचिव रहिसकेका टेकनारायण पाण्डे,भुटानका शरणार्थी नेता टेकनाथ रिजाल सहित गरी १६ जना हिरासत रहेर अनुसन्धानमा रहेका र अरु थप १६जनासमेतका नाममा अनुसन्धान भइरहेको भनेर नेपाल प्रहरीको सूत्रका आधारमा समाचार आइरहेका छन् ।

२. अनुसन्धानका क्रममा हिरासतमा रहँदै कसैलाई अपराधी या अभियुक्त भनी हाल्नु हुँदैन किनभने विधिको शासनको नीतिमा सर्वोच्च अदालतको फैसलाले देखाउने निर्णयका आधारमा मात्र भन्न मिल्छ कि कसले कति अपराध गरेको रहेछ तर जुन तरिकाले, शरणार्थीहरुको बारेमा तेस्रो देश , अझ संयुक्त राज्य अमेरिका नै भनेर किटानीसाथ नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने नाटक भयो, त्यस नाटकका लागि रकम उठाइयो र रकम दिनेहरुले काम पनि भएन , पैसा पनि पाइएन भनेर गुनासो गर्न थालेपछि एक कान, दुई कान , मैदान भएर आजको अनुसन्धानसम्मको कुरा आएको देखिन्छ ।

३. रायमाझी, खाँण, , शेर्पा , रिजाल, पाण्डे र राई जस्ता व्यक्तित्वहरुको संलग्नताप्रति शङ्कासमेत गरिनु पनि हाम्रालागि लाज, सरम र बेइज्जतको कुरा भएन र ? नेपाली नागरिकहरु शरणार्थीको रुपमा जान खोज्नुले पनि नेपाली राजनीति र परिवेशको लागि लाजलाग्दो कुरा भएकै हो । जान खोज्ने र लाखाँै रुपैञा खर्च गरेर अमेरिका जान खोज्नु,त्यो पनि अवैध तरिकाले, अनि त्यस्तो अवैध, गैरकानुनी काम थाहा हुने बित्तिकै कारबाही गर्ने अख्तियार भएका व्यक्तिहरुको नै संलग्नताले यी कामहरु सम्पादन भएको भन्ने सही तथ्य हो भने हाम्रो आजको प्रशासन यन्त्र, आजको राजनीतिक सिकाइप्रति पुनर्बिचार गरिनु पर्ने बेला आएकै हो । अझ भुटानीहरुकै भुटान फिर्तीका लागि लडिरहेका टेकनाथ रिजालको समेत भुटानीका नाममा नेपालीहरुलाई शिविरका नक्कली शरणार्थी साबित गर्न लागेको नै हो भने अब कसको विश्वासमा ती भुटानी नागरिकहरु भुटान फर्कने आशा गरुन् त ? हिजोका दिनमा रिजालजीले कुन प्रेरणाले भुटान नरेशसँगै संघर्ष गर्नु भएको थियो ? यदि नक्कली शरणार्थीमा रायमाझी, खाँण, पाण्डे, शेर्पा र रिजालको संलग्नता प्रमाणित भयो भने विद्वत्ता, संघर्ष, त्याग, तपस्या र क्षमताको भरमा मानिस नचिनिने रहेछ भन्ने दिव्य ज्ञान प्राप्त हुनेछ । जोजो यसमा लागेको भन्ने अनुसन्धानले प्रमाणित गर्ला, जो जो प्रधानमन्त्री तथा गृहमन्त्रीको बेलामा यी प्रयास भए, गरिए र थाहा पाएर पनि आँखा चिम्लेर बसेका थिए, ती सबै नैतिकरुपमा पनि संलग्न जत्तिकै मानिने छन् । लहरो तान्दा पहरो गर्जने सम्भावना छ भन्ने उखान चरितार्थ हुने देखिन्छ । यो अवैध तरिका अपनाउने बुद्धि, रकम उठाउने तरिका, रकम उठाउनका लागि सरकारी तयारी र अबैध हो भन्ने थाहा पाउँदा पाउँदै पनि लाखौँ रकम दिनेहरु पनि यो अवस्थाको जालोबाट बाहिर रहन सक्दैनन् भन्ने कुरामा प्रहरी अनुसन्धान, सरकारी वकिल कार्यालय, अदालत सबै जानिफकार नै होलान् ।

४.जनता जागेको बेला छ । नेपाली प्रहरीको कुनै बेलामा गुमेको छविलाई पनि उजिल्याउने बेला हो यही समय । नेपाली न्याय प्रणालीको पनि छवि उजिल्याउने बेला हो यही समय । राजनीति, प्रशासनसमेतलाई शुद्धीकरण गर्ने बेला हो यही समय । नत्र समयले सबैलाई किनारामा यसरी पु¥याउने छ कि इतिहासको कुनै कालखण्डमा यस्ता कुपात्रहरुले पनि मुलुक चलाएका थिए भन्ने मात्र बाँकी रहला । तर अहिले नै अन्तिम निर्णयमा पुग्ने बेला भइसकेको छैन । तथ्य बाहिर आउनै बाँकी छ । असल पात्रहरुको पहिचान हुनै बाँकी छ । धेरै समस्याहरुले नेपाल गाँजिएको छ तर अहिलेको तत्कालीन तरङ्गको रुपमा भुटानी शरणार्थीको प्रसङ्ग आएको मात्र हो । लाखौँबाट हजारौँमा शरणार्थी पुगेकोले पनि यो घटनाले बाहिरिन पाएको हो । ठुलो संख्याको शरणार्थी हुँदा कति नेपालीहरु शिविरमा प्रवेश गरेर डलरमा भत्ता खाएका थिए होलान्, कतिले शिविरमा नाम रहेकै बेलामा अमेरिका, क्यानाडा, अस्ट्रेलिया, नर्वे, डेनमार्क, स्वेडेन, निदरल्यान्ड या अन्य देशमा जाने चाँजो पारेका थिए होलान् ? या विदेशमा रहेकै नेपालीहरुको पनि नाम मिल्ने कारणले भुटानी भन्ने प्रमाण पु¥याएर शरणार्थीको हैसियतमा ती देशहरुमा बसोबास गरेका होलान् ?

५. अहिलेको यो प्रसङ्गले नेपालको विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ र गृह प्रशासनको काममा आँैला ठड्याउने अवस्था आएको छ । अलि अलि चुहिएर आएको सूचनाका आधारमा के पनि सुनिएको छ भने संयुक्त राष्ट्रसंघले तेस्रो देश बसोबास सम्पन्न भइसकेको भने पछि किन फेरि यसबारेमा छानबिन गर्नु परेको थियो? अनि तत्कालीन सहसचिव बालकृष्ण पन्थीको समितिमा नै बिचौलिया कसरी प्रभावी भए र प्राप्त प्रतिवेदनमा कसरी नक्कली शरणार्थीहरुको नाम प्रवेश गर्न सक्यो ? अनि ती नाम राख्ने , राख्न लगाउने, नाम परेकाहरुसँग रकम उठाउँदासम्म पनि किन प्रहरीले सुइँको पाएन ? अलिअलि थाहा पाउँदा पक्राउमा परेकाहरु किन छुटे? अहिलेको अवस्था के हो ? सायद अभियोजनमा यी सबै कुराहरु आउलान् नै ।

६. र अन्त्यमा, हामीले पुग्ने भनेको सुरुको कारणमा , यसरी अवैध तरिकाले कमाएको सम्पत्तिको दुरुपयोगका वारेमा र मुलुकको यसप्रकारको द्रोहको कारणसँग अब फेरि कसैले त्यस्तो प्रकरण नदोहो¥याउन सकोस् भन्नेमा केन्द्रित हुनु जरुरी छ । यो लाज, सरम र राज्यको दुर्नामबाट कसरी बच्ने भन्ने कुरामा विश्वभर छरिएर रहेका नेपालीहरुको भविष्यसमेत जोडिएको छ । अब त कस्तो हुने भयो भने जोजो नेपालीहरु बाहिर छन्, ती सबैको अनुहारमा भुटानी देख्ने र भुटानी शरणार्थीहरुको अनुहारमा नेपालीमात्र देख्ने अवस्था आएको छ । अनि बाँकी करिब ७ हजार भुटानी शरणार्थीहरुको भविष्य दोहोरो मारमा परेको स्पष्ट देखिन्छ । सायद यस्तै समस्याहरुको समाधान गर्न नै परराष्ट्र मन्त्रालयको स्थापना गरिएको हुन्छ प्रत्येक देशमा । गृह प्रशासनले अहिलेको अनुसन्धान गरेकोले पनि गृहले पनि आफ्नो गुम्न लागेको साख जोगाउने पनि बेला हो । एउटा प्रसङ्ग छ, चाणक्य र चन्द्रगुप्तका बिचको वार्तालापको । चाणक्यको चातुर्यता र चन्द्रगुप्तको शौर्यताले जब पहिलो अत्याचारी सत्ता पल्टियो, अनि पुराना सत्ताका नायक घनानन्द हिरासतमा थिए । जब चन्द्रगुप्तले थाहा पाए, उनी स्वयं तिनै घनानन्दका माता मौरीबाट जन्मेका तर राजाले अधिकार दिनबाट वञ्चित गरिएका छोरा थिए। जब चाणक्य शत्रुशेष धेरै दिनसम्म राख्दा पछि उसैले सिध्याउँछ भनेर मार्नका लागि प्रेरित गर्दा चन्द्रगुप्तले आफ्ना बाबुलाई नमार्न माताको आदेश छ भने । अनि चाणक्यले प्रश्न गरे—राजनीतिको शुद्धीकरणका लागि माता ठुली कि मातृभूमि ? चन्द्रगुप्तले भने—मातृभूमि । त्यसो भए आजै राती घनानन्दको हत्या गराऊ आमालाई थाहै नदिई । अनि १५ दिनसम्म काज क्रिया गर्नु परेन त गुरु ? भन्दा चाणक्यले सहरमा हल्ला फिँजाउन लगाएछन्—अबका १५ दिनपछिमात्र राजाको राज्यारोहणको कार्यक्रम गरिने छ किनभने राजा कुनै जरुरी सिद्धिमा लागेका छन् । अर्थात् मातृभूमिको इज्जतका लागि जस्तोसुकै कदम पनि उठाउन सरकार पछि पर्नु हुँदैन । तर एउटा समस्याचाहिँ देखिन्छ, दण्डाधिकारीहरु पनि विश्वसनीय हुनुपर्छ जसले गरेको न्यायप्रति जनतालाई, विश्वलाई विश्वास लागोस् । नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
  • २०८० जेष्ठ ८, ११: २३

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
  • २०८० जेष्ठ ८, ११: २३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...

राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
  • २०८० जेष्ठ ८, ११: २३

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...