फेरि सभापति हुने रहर छैनः देउवा – Naya Bikalpa
December 15, 2025, Monday      Epaper
डिएलए नेपालको ११औँ राष्ट्रिय महाधिवेशन

फेरि सभापति हुने रहर छैनः देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई पुनः पार्टीको सभापति हुने रहर नभएको बताएका छन्।

पार्टीको शुभेच्छुक संगठन नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए नेपाल)को ११औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले अहिलेको समयमा सबै मिल्नुको विकल्प नभएको भन्दै आफूलाई पुनः सभापति बन्ने रहर नरहेको बताएका हुन्।

सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बेला आएको भन्दै प्रजातन्त्र बलियो बनाउन कांग्रेसलाई बलियो बनाउनु पर्ने बताए।

नेकपा (एमाले) भित्र उमेर हद हटाइएको भन्दै उनले थपे, ‘हामीकहाँ त्यस्तो छैन। तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन। मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन।” प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्री देउवाले कानून व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताए। उनले भने, ‘रानीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठिक छ र यो छैन भनेर सुझाव दिन सक्ने कानून व्यवसायी हुन्।’

प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डिएलएको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो । उनले भने, ‘यो भूमिकालाई अझै सशक्त बनाउँदै लैजानुपर्छ ।’ आफू पनि कानूनको विद्यार्थी भएको भन्दै देउवाले अभ्यास गर्न नपाउँदा दुःख लागेको बताए । कानून व्यवसायी पेशा मर्यादित भएको उनको भनाइ थियो ।

बिपी कोइराला पनि कानून व्यवसायी भएको भन्दै उनले भने, ‘बिपी पार्टीमा कानून व्यवसायी (लयर) थिए। भारतीय नेता जवाहरलाल नेहरू पनि कानून व्यवसायी हुनुहुन्थ्यो । लयर राम्रो हो, मैले पनि ल पढेको हुँ, प्राक्टिस गर्न पाइनँ।’ अमेरिकामा कानून पढेका राष्ट्रपतिलगायत उच्च तहमा पुगेको भन्दै उनले कानूनको ज्ञान सबैलाई हुनुपर्ने बताए।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश सिफारिस गर्ने क्रममा क्षमताको आधारमा गरिने बताए। उनले भने, ‘नेताहरूको आँगनमा देउसी, भैलो खेलेर न्यायाधीश बन्ने दिन गए।’

क्षमता नभएका व्यक्तिलाई न्यायाधीशमा सिफारिस नगर्ने प्रतिबद्धता जनाउँदै उहाँले भने, “न्यायालयमा भएको भ्रष्टाचार शून्य गर्न म मन्त्री भएको हुँ। त्यो सफा गर्ने क्रममा ब्रिफकेस बोकेर धाउने न्यायाधीश बन्न सक्दैन। निष्पक्षरूपमा क्षमताका आधारमा न्यायाधीश छानिन्छ।”

विगतमा शक्ति केन्द्रबाट कानून सञ्चालन भएको उल्लेख गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरुङले त्यस्ता शक्ति केन्द्र ढलेको र लोकतन्त्र प्राप्त भएको बताए। पछिल्लो समयमा फेरि हामी ती शक्ति केन्द्रजस्तै बन्यौँ र दण्ड चलाउन थाल्यौँ भने कानूनी राज्यको परिकल्पना अधुरो हुने उनको भनाइ थियो।

लोकतन्त्रलाई बलियो बनाउनका लागि सुशासन आवश्यक रहेको भन्दै उहाँ कानूनको आँखामा सबै बराबर हुने बताए ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले विधिको शासन र सर्वोच्चताका लागि कांग्रेस ठीक ठाउँमा उभिनु पर्ने बताए । उनले भने, ‘कांग्रेस ठीक ठाउँमा उभियो भने विधिको शासन र सर्वोच्चता रहन्छ नत्र रहँदैन ।’ अहिलेको समय पार्टीलाई पुनरसंरचना गर्ने समय भएको धारणा राख्दै उहाँले यसमा डिएलएको सहयोग आवश्यक रहेको बताए।

पार्टीलाई विधानसम्मत सञ्चालन गर्नका लागि अहिलेको पद्धतिलाई भत्काउन आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, “क्रियाशील सदस्यता वितरण र उम्मेदवार छनोट गर्ने अहिलेको पद्धतिको अन्त्य नभएसम्म पार्टीभित्र सुधार हुन नसक्ने देखिन्छ ।”

कार्यक्रममा केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई सुधार गरेर अघि बढ्ने बताए । उनले भने, “हामी कांग्रेसलाई कमजोर हुन दिँदैनौँ । सुधार गरेर अघि बढ्छौँ ।’ पार्टीलाई अझै सशक्त बनाएर अघि बढ्ने उनको भनाइ थियो ।

केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको व्यवस्था र संविधानमाथि आक्रमण भइरहेको बताए । लामो सङ्घर्षपछि ल्याएको व्यवस्था र संविधानमाथिको आक्रमण रोक्नका लागि कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । न्यायालयमा भएका विकृति र विसङ्गति रोक्नका लागि राजनीतिज्ञ र कानून व्यवसायी एक ठाउँमा उभिन आवश्यक रहेको उनले बताए ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुषाल, पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर, खम्बबहादुर खाती, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष महादेव यादव, प्रेमबहादुर खड्का, हरिहर दाहाल, शेरबहादुर केसी, सर्वोच्च अदालत बार एसोसिएसनका वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल लगायतले बोलेका थिए।

पूर्वी चितवनको रत्ननगरमा आज र भोलि हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभर ८८ एकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानून व्यवसायीमध्येबाट एक हजार चार सय एक जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। नयाँ नेतृत्वमा सर्वसम्मत बनाउने प्रयास भइरहेको छ ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
  • २०८० जेष्ठ २६, २०: १३

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०८० जेष्ठ २६, २०: १३

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

ओलीले गराए उम्मेदवारी दर्ता
ओलीले गराए उम्मेदवारी दर्ता
  • २०८० जेष्ठ २६, २०: १३

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...