१. आइतवारदेखि जयनगरबाट जनकपुर र बिजलपुरासम्म रेल सेवा सुरु हुन थालेको छ । यसअघि जयनगरबाट ३५ किलोमिटरको रेल सेवा चलिरहेको थियो । अब अरु थप १७ किलोमिटरको रेल सेवा सुरु हुन लागेको छ । यसले जनकपुरको कुर्थादेखि विजलपुरासम्मको दूरी तय गरेर स्थानीयहरुको यातायात सेवाको आवश्यकता पूरा गर्ने विश्वास गरिएको छ ।
२. भनिन्छ, यो रेल सेवा भारतमा रेलका लागि आवश्यक पर्ने काठको पटरी ढुवानी गर्नका लागि अंग्रेजहरुले नै चलाएका थिए । अहिलेका बिजलपुरा स्टेसनभन्दा अझ पाँच किलोमिटर जत्ति पश्चिमसम्म रेल सेवा थियो र सम्भवतः विक्रम सम्बत् १९८५ सालदेखि नै रेल सेवा सुचारु थियो । पछि भारत पनि स्वतन्त्र भयो र भारतमा रेल सेवाका लागि आवश्यक पर्ने काठको ढुवानी पनि बन्द भयो होला तर पनि नेपालको जनकपुरसम्म जयनगरबाट रेल चल्थ्यो जुन पछि विजलपुरासम्म भने पनि भंगाहासम्मको दूरी तय गरिरहेको थियो । विक्रम सम्बत् २०५१सालको ठुलो बाढीपश्चात् बिगी खोलामा बाढी आई रेल वारपार गर्ने पुल भत्कियो तर त्यसको मरम्मत बेलैमा गरिएन । त्यसका कारणले खासगरी लोहारपट्टीदेखि पश्चिमतर्फका धरमपुर, बखडी वरपरका बस्ती र भंगाहासम्मका बासिन्दाहरुको जनकपुरसम्मको यात्रा बसमा निर्भर हुन पुगेको थियो । अहिले भंगाहासम्म बस र टेम्पो चले पनि रेल सेवाको स्मरण गरिरहन्थे, जुन अब पूरा हुने भएको छ । तर पहिलेको अनुभवका कारणले शंका गर्ने ठाउँ पनि छ , अब कहिलेसम्म चल्ला रेल सेवा ? त्यसो त राष्ट्रिय गौरवको आयोजनामा परेका नेपालको रेल सेवा बर्दीबासहुँदै सुदूर पश्चिमसम्म जानेछ र एसियाली रेल सेवाको अंग हुनका लागि भारतको रेल सेवासँग जोडिने परिकल्पना छ । अबको रेल सेवा विद्युतीय उर्जामार्फत् चल्ने अनुमान गर्न सकिन्छ, त्यसैले सायद अब जनकपुरदेखि बिजलपुरासम्मको रेल सेवा बरु विस्तारित हुनेछ, रोकिने छैन भन्ने विश्वास गरौँ ।
३. जुनबेला बाढीबाट सामान्य क्षति भएको थियो, त्यो बेलामा नै मरम्मत गरिएको भए सायद जयनगर—जनकपुर—बिजलपुरासम्मको रेल सेवा निरन्तर चलिरहेको हुन्थ्यो । पछि जनकपुरदेखि बिजलपुरासम्मको मात्र यातायात रोकिएन, पूरै जयनगर जनकपुरसम्मको रेल सेवा रोकियो । अनि नेपालले आफूले रेल सेवाका लागि रेलमार्ग तयार नगरी भारतसँग सहयोग माग्न गएको हो । आधा शताब्दीभन्दा बढी चलिसकेको रेल सेवा आफ्ना कमजोरीले बन्द गराई फेरि भारतसँग सहयोग माग्दै रेलमार्ग बनाउनु र बनेको रेलमार्गमा पनि रेल चलाउन नसकेर धेरै पछिमात्र रेल सञ्चालन गराउनु परेको कटु यथार्थ पनि हामीसँगै छ ।
४. रेल सेवा नयाँ होइन, पहिले पनि रेल सेवा नेपालमा रहेको इतिहास पाइन्छ । कसका कारणले हो, थाहा छैन तर नेपालको कमी कमजोरीका कारणले नै होला, आधुनिक कालमा पनि बनेको रेलमार्ग र नेपालमा आइसकेका रेलका इन्जिन र डब्बाहरु जनकपुरमा बर्साती ओडेर बस्न बाध्य भएका थिए । पहिले चलिरहेको रेल अपरिपक्व निर्णयले बन्द हुँदा रेलका लिगमा रहेका फलामहरुसमेत चोरिए । अनि हुँदाखाँदा रेल सेवा बन्द हुनु, बल्ल बल्ल छिमेकी देश भारतले बनाउनु तर कहिले रेलको ऐन नहुने, कहिले रेल चलाउने चालक नहुने अनि बल्ल बल्ल चालकको तालिम भयो, साइत नजुर्ने ? चलेर बन्द भएको रेल सेवाको पनि फेरि उद्घाटन गर्नुपर्ने ? रेल सेवा नै छैन, रेल विभागका महाप्रबन्धक हुन मारामार , अनि त्यसमा पनि कहिले कसलाई हटाएको छ, कहिले कसलाई नयाँ राखेको छ । सायद सुशासनको कमी भएर होला । पछि आउने पुस्ताले नेपालको रेलको कथा सुने भने हामीलाई के भनेर प्रशंसा गर्लान् ?
५.फेरि ५२ किलोमिटर त रेल सेवा सुचारु हुने त भयो, आधुनिक रेलको कल्पनामा बनेको ब्रोडगेज रेलको मरम्मत सम्भार कसरी होला? रेलमा चढ्ने हामी सेवा ग्राहीहरुले कति यसको सेवाशुल्क तिरौँला ? पहिले जुनबेला रेल सेवा थियो, स्थानीयहरुले रेलको भाडा कति तिर्थे ? यसको बारेम पहिलेका भुक्तभोगीहरुलाई थाहा होला तर ती सबै निवृत्त भए होलान् । अहिलेको आधुनिक बेलामा मोबाइलबाट टिकट काट्ने व्यवस्था पनि छ क्यारे , तर रेल सेवा शिक्षा कसरी जनतासमक्ष पु¥याइन्छ, त्यसले रेलेको खर्च कसरी धान्ने भन्ने पनि आउला । गाउँ गाउँमा रेल सेवा पुग्नु हाम्रालागि खुसीको कुरा हो तर हामी सेवाग्राहीहरुको सद्व्यवहारमा पनि यसको दिगोपन जोडिएको हुन्छ ।
६. रेल मार्ग बनेको धेरै समय पछि रेल सेवा सुरु हुन लागेको छ ५२ किलोमिटरमा, खुसीको कुरा हो । यसले यातायातको विविधीकरणको पहल भएको छ र भएको साधनको प्रयाग गर्न थालिएको छ। यसको दिगोपनसँग भने हामीले ध्यान दिनैपर्छ । रेलमा पाइनु पर्ने सेवा पनि आवश्यक छ र भाडा दर पनि समसामयिकरुपमा सहज हुने गरी राखिनु पर्छ । अर्कोतिर राष्ट्रिय गौरवको आयोजनालाई सफल पार्न पनि राज्यले केही सहेर भएपनि सेवाग्राहीहरुलाई सहजीकरण गर्नैपर्छ । जुनबेला पहिले बिजलपुरा रेल चल्थ्यो, त्यो बेलाभन्दा अहिले यातायातका विकल्पहरु प्रशस्त देखिएका छन् । पहिले फाट्टफुट्ट पाइने साइकलको बदलामा अहिले मोटर साइकल नहुने परिवार नै छैनन् मधेस प्रदेशमा , अझ जनकपुरदेखि विजलपुरासम्मको बस्तीमा । मोटर बाटो सबै गाउँमा पुगेको छ। राष्ट्रिय राजमार्गसँग जोडिने सहायक मार्गहरु धेरै बनेका छन् । त्यसले पार्ने असर र जरुरत परेर रेलको सेवा लिन चाहनेहरुका लागि समय र भाडाको सहजीकरण आवश्यक छ । त्यसो त रेल जतिबेर पनि जयनगरबाट आउँछ, बिजलपुरा नै आउने पनि त्यति व्यावहारिक हुन्छ कि हुँदैन हाललाई ? अनि जनताका लागि भनेर चलाए पनि सेवा सुचारु गराउँदा कहिले आउने कहिले नआउने पनि हुनुहुँदैन ।
७. र अन्त्यमा, रेल सेवाको विस्तारको नयाँ आयाम यसलाई मान्नुपर्छ तर दिगोपनको आशा भने सबैले राखेका हुन्छन् । विकल्पहरुको बिचमा सुरु भएको रेल सेवाले जनताको मन जितेमा पहिलेजस्तै जनताको यातायात हुनेछ । मैले ओस्लोमा र टोक्योमा देखेको थिएँ, आफ्नो निजी यातायातको साधनभन्दा यात्रुहरु रेल सेवाको भर पर्ने हुन्थे । उनीहरु आफ्नो कार थन्क्याएर रेलको सेवा लिन्थे र मानिसहरु पनि भाडा नतिरी रेलमा चढ्नु पनि अपराध जस्तै ठान्थे । हामीले पनि भोलिको रेल सेवाको अवस्था यस्तै कल्पना गरौँ र त्यसको छनक अहिलेदेखि दिन थालौँ । नयाँ विकल्प साप्ताहिकबाट
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...
काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तनमा जोड दिएका छन्। राजधानीमा शुक्रबार...