आफ्ना सम्पूर्ण अवयवहरुलाई चलायमान गराएमा र समाजका आवश्यकता पूरा गर्न खट्न सकेमा प्रजातन्त्रप्रतिको आस्थालाई नेपाली कांग्रेसले यथावत् राख्न सक्नेछ – Naya Bikalpa
September 30, 2023, Saturday

आफ्ना सम्पूर्ण अवयवहरुलाई चलायमान गराएमा र समाजका आवश्यकता पूरा गर्न खट्न सकेमा प्रजातन्त्रप्रतिको आस्थालाई नेपाली कांग्रेसले यथावत् राख्न सक्नेछ

१. नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक २०८० साल साउन २ गतेबाट केन्द्रीय कार्यालय सानेपामा चलिरहेको छ । प्रतिनिधि सभामा नेपालको सबैभन्दा ठुलो दलको रुपमा र हालको गठबन्धन सरकारको सबैभन्दा ठुलो दल अनि गठबन्धनलाई नयाँ तरिकाले संयोजन गरिरहेको दलको रुपमा पनि नेपाली कांगे्रसको बैठक कसरी चल्ने होला र त्यहाँ निर्णय कसरी होला भन्ने आमरुपमा जिज्ञासा देखिएको थियो । स्वयं दलभित्रका र बाहिरका प्रतिस्पर्धीहरुमा समेत जिज्ञासा देखिएको थियो । यसपटक नेपाली कांग्रेसको एउटा निर्णयले पनि रुपान्तरणको नेतृत्वका लागि अहिलेसमेत नेपाली कांग्रेस अग्रणी नै छ भन्ने परेको छ । असार २७ गते गर्ने भनेको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी धर्मपत्नी तथा नेकपा माओबादी केन्द्रकी नेतृ सीता दाहालको असामयिक निधनले रोकिएको थियो । श्रीमती दाहाललाई श्रद्धाञ्जलि दिन र प्रधानमन्त्री दाहाल र उनको परिवारलाई समवेदना प्रकट गर्नका लागि तोकिएको दिन बैठक सुरु नभए पनि साउन २ बाट भएको हो । पार्टी सभापति शेरबहादुर देउबाले यसपटकको बैठकको सम्पूर्ण क्रियाकलाप प्रत्यक्ष प्रसारण गर्ने भन्ने निर्णय कार्यान्वयनले नेपाली राजनीतिक इतिहासमा एउटा नयाँ पाटोको सुरुवात भएको छ । सम्भवतः कुनै पनि दलको आन्तरिक बैठकसमेत प्रत्यक्ष प्रसारणमार्फत् सार्वजनिक गरिनु आफैँमा एउटा नयाँ र दलभित्रको खुलापनको द्योतक हो । सबैभन्दा पुरानो दल, रुपान्तरणका लागि पटक्कै अघि नसर्ने भनिएको दल नेपाली कांग्रेसमा देखिएको नयाँ प्रविधिको प्रयोगमार्फत् आफूलाई पारदर्शी देखाउन सक्ने हिम्मतलाई सर्वत्र प्रशंसा गरिएको छ ।

२. खुलाको अर्थ दलभित्रका औपचारिक व्यक्तिहरुबाहेक अरुको प्रवेशका लागि भने खुला होइन, पार्टीको आधिकारिक फेसबुकमार्फत् सबै हेर्न चाहने देश तथा विदेशका दर्शकहरुका लागि खुला गरिएको हो । यसलाई जुनसुकै तरिकाले व्याख्या गरिए पनि नकारात्मकरुपमा लिनु हुँदैन । त्यसो त , नेपाली कांग्रेसको बैठक चलिरहेको हुन्थ्यो, सामाजिक सञ्जाल तथा रेडियो तथा अनलाइनहरुमा कसले के भने, कोसँग को रिसायो, कसले कसलाई जाइलाग्यो भनेर समाचारहरु आएका हुन्थे । त्यसको सत्यापनका लागि कसले प्रमाणित गर्ने र ? आधिकारिक प्रवक्ताले भन्ने गरेका हुन्थे, दलका सबै पदाधिकारीहरु सदस्यहरुका बिचमा सौहार्दपूर्ण वातावरणमा बैठक सञ्चालन भएको छ र निर्णय सार्वजनिक हुँदा पनि औपचारिक भाषामा आउने हुन्थ्यो । अहिले सामाजिक सञ्जालमध्ये सबैभन्दा मनपराइएको फेसबुकमार्फत् सबैले त्यहाँका प्रक्रिया हेर्न पाएका छन् र कसले कुन तरिकाले आफूलाई कसरी प्रस्तुत गरिरहेका छन् भन्ने प्रत्यक्षरुपमा हेर्न र सार्वजनिकरुपमा मूल्याङ्कन गर्न पाइएको छ ।

३. एजेन्डा एकातिर , बहस अर्काेतिर परेको भन्ने पनि टिप्पणी सार्वजनिकरुपमा आएको छ भने तत्कालका लागि देखिएका र नेपाली कांग्रेसले सार्वजनिकरुपमा जबाफ दिनु पर्ने विषयमा खास कसैले ध्यान नदिएको या बोल्न नचाहेको भन्ने पनि टिप्पणी आएका छन् । यसको कारण के पनि हुनसक्छ भने पोहोर असारमा भर्खर स्थानीय निर्वाचन सम्पन्न भएको थियो र त्यसको समीक्षा खासै गरिएको थिएन, त्यसपछि नेपाली कांग्रेसकै गठबन्धन नेतृत्वको सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन गराएको थियो । अनि सरकार बन्ने बेलामा एउटा गठबन्धन बन्यो अचानक अनि त्यसले प्रदेशहरुमा र केन्द्रमा नयाँ समीकरण तयार गर्दैगर्दा फेरि समीकरण बदलियो । तर नेपाली कांग्रेसले आधिकारिकरुपमा केन्द्रीय समितिको बैठक बोलाएन तर महत्वपूर्ण निर्णयहरु गर्दै रह्यो । त्यसपछि धेरै काण्डहरु, प्रकरणहरु आए, नेपाली कांग्रेससँग सम्बन्धित व्यक्तिहरु त्यसमा परेका छन् र पनि आधिकारिकरुपमा केन्द्रीय बैठक बसेन र मौनताका साथ पार्टी बसेको कुरामा सर्वत्र चासो राखिएको थियो । अझ चितवन र तनहूँको उपनिर्वाचनपछिको अवस्थाले नेपाली कांग्रेस अब थाकेको गोरु जस्तै भयो , उठ्न सक्दैन, रुपान्तरण पनि हुन सक्दैन भन्ने कुरा दलभित्रबाटै, आधिकारिक नेतृत्वहरुबाटै आउन थालेको बेलामा बसेको बैठकप्रति अझै सबैको सार्वजनिक चासो छँदैछ ।

४. खासगरी प्रजातन्त्रको पर्यायका रुपमा र नेपालमा वहुदलीय संसदीय व्यवस्थाको प्रणेताको रुपमा नेतृत्वदायी भूमिकाको दल नेपाली कांग्रेसमा देखिएको अप्रजातान्त्रिक व्यवहार र प्रजातन्त्रका लागि आवश्यक अवयवहरुका प्रतिको वितृष्णाले प्रश्न त उठेकै छ संसदमा, समाजमा , राजनीतिक वृत्तमा । खासगरी नेपाली कांग्रेसका ती मौन मतदाताहरु जसले आदर्शका रुपमा नेपाली कांग्रेसका नेताहरु बीपी, गणेशमान, किसुनजी, सुवर्णजी, गिरिजाबाबु, महेन्द्रनारायण निधिजी, सुशील कोइरालाजीहरुलाई मान्थे, तिनीहरुको विश्वासमा पक्कै पनि कमजोर नेपाली कांग्रेस, निर्णयहीन नेपाली कांग्रेस, अनुशासनहीन नेपाली कांग्रेस, परनिर्भरमा बाँच्न चाहने नेपाली कांग्रेस र एक्लै आम निर्वाचनमा होमिन पनि डराउने कांग्रेसप्रति थक्क थक्क लागेको होला ।

५.तर अहिले एउटा सानो निर्णय जस्तो लाग्ने , संसारका कुनै पनि प्रजातान्त्रिक दलले नगरेको काम सार्वजनिकरुपमा सामाजिक सञ्जालमार्फत् आफूलाई प्रस्तुत गर्ने कामले नयाँ आशा दिलाएको छ । सभापति देउवाको संयमता, दलको बैठकलाई औपचारिकरुपमा सञ्चालनले देखाएको के हो भने सभापति देउवामा रहेको क्षमतालाई दुरुपयोग गर्नु हुँदैन, सदुपयोग गर्नु जरुरी छ । त्यसो त अबको पार्टीको सभापतिको निर्वाचनमा आजसम्मको विधानको आधारमा उहाँ सभापतिमा फेरि उठ्नु हुन्न , त्यसैले पनि सम्भवतः नेतृत्वको चयनका लागि सामाजिक सञ्जालले बोल्नेहरुमध्येको मानिस को योग्य होला भन्ने छान्न पाउने छन् । बोलेरभन्दा काम गरेर , प्रजातान्त्रिक अभ्यासलाई घरघरमा पु¥याउन सक्ने क्षमताको आवश्यकता परेको छ ।

६. सबैतिर लथालिङ्ग छ । यो लथालिङ्ग सबै दलको समग्र अक्षमताको परिणाम हो तर समाजमा यसको दोष साम्यवादीहरुले सबै नेपाली कांग्रेसको टाउकोमा हालेका छन् र कांग्रेस मौन बस्दा र प्रजातन्त्रका अवयवहरुलाई सक्रिय नपार्दा , चलायमान हुन नसक्दा थोपरिएको दोषको भागी हुनु परेको देखिन्छ । खुला समाजको पक्षधर संस्थामा आन्तरिक प्रजातन्त्रको कमी र अभ्यासमा देखिने कमीले दोषको भागी हुनु परेको हो । २०४७ पछि मुलुकले गरेको विकासको तीब्र गति र त्यसको परिणामले मुलुकमा देखिएको परिवर्तनले भन्दा बिस्तारै मुलुक परनिर्भरतामा जकडिन थालेको प्रसङ्गमा पनि दोष जत्ति कांग्रेसको भागमा पारिएको छ तर त्यसको प्रतिवाद हुन सकेको पाइँदैन । सायद अबको खुला कांग्रेसमा त्यसको लागि पनि नयाँ जोस जाँगरका साथ संगठन गर्ने इच्छाशक्ति पलाउने छ भन्ने आशा गर्न सकिन्छ ।

७.र अन्त्यमा, सिंगो कांग्रेस एकताबद्ध हुँदा र प्रजातन्त्रका आधारभूत मान्यतालाई आत्मसात् गरी पार्टी र त्यसका अवयवहरुलाई चलायमान गराउँदा, भ्रष्टाचारका विरुद्ध अभियान चलाउँदा र आफ्नो वर्चस्व भएका पालिकाहरु , प्रदेश सरकार तथा केन्द्र सरकारलाई जनमुखी बनाउने अभियान सुरु गरेमा नेपाली कांग्रेसको जनमता घटेको जस्तो देखिँदैन, बरु बढ्ने छ किनभने प्रजातन्त्रप्रतिको प्रतिबद्धता कांग्रेसले बलीदानमार्फत नै उदाहरणीय रुपमा इतिहासमा देखाएको छ, अब त्यसलाई फेरि व्यवहारमा देखाउन सक्नुपर्छ र नयाँ मतदाताहरुलाई प्रजातन्त्रप्रतिको प्रतिबद्धता सिकाउन सक्नुपर्छ । अनि मात्र सामाजिक सञ्जालमा बैठकका प्रक्रियाहरु खुला गरेको परिणामले काम दिन्छ, अन्यथा तत्कालका लागि कसैको मुखबन्द गर्न रणनीतिक चाल हो कि भन्ने नपरोस् । सभापतिजीले आफ्नो वहुमतको भन्दा अनुभवको क्षमताका आधारमा मुलुकलाई अरु धेरै दिन बाँकी छ भन्ने सोच्नु पर्ने भएको छ । नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० श्रावण ८, १२: ४४

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० श्रावण ८, १२: ४४

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...

संघीयता कार्यान्वयनमा शासकीय मानसिकता परिवर्तन जरुरीः कावा प्रधानमन्त्री खड्का
संघीयता कार्यान्वयनमा शासकीय मानसिकता परिवर्तन जरुरीः कावा प्रधानमन्त्री खड्का
  • २०८० श्रावण ८, १२: ४४

  काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तनमा जोड दिएका छन्। राजधानीमा शुक्रबार...