१.सुशासन । भ्रष्टाचार मुक्त प्रशासन । समयबद्ध र नियमबद्ध शासन प्रणाली । भ्रष्ट आचरण मुक्त समाज । नैतिकवान नेता, कर्मचारी, र आम नागरिक । कल्याणकारी राज्य र राज्यका सम्पूर्ण अवयवहरु ठिकठाक । बनेका संविधान, कानुन तथा नियमहरुको पालनामा इमान्दार नागरिकहरु । आफ्नो अधिकार र कर्तव्यप्रति सजग, सचेत र दायित्वबोध गर्ने शासन प्रणालीका लागि संघर्षरत व्यक्तिहरु, दलहरु, नागरिक संस्था तथा स्वतन्त्ररुपमा सजग व्यक्ति तथा संस्थाहरु । सरकारी तवरबाटै त्यस्तो व्यवस्था अनि गैर सरकारी तवरबाट अनुगमनसमेत गर्नका लागि तयार इमान्दार प्रयासका लागि अनवरत लागिरहेकाहरु । आवधिक निर्वाचनबाट आएका जनप्रतिनिधिहरु सामाजिक सेवामार्फत् सामाजिक न्यायका लागि तत्पर , कटिबद्ध , प्रतिबद्ध र सधैँ आफ्नो कर्तव्यप्रति सजग ।
२. आजको संसारमा कतिपय देशहरुका शासन प्रणाली यस्तै स्वप्निल आदर्शलाई पछ्याउँदै र सामाजिकरुपमा प्रजातन्त्रको अभ्यास गरिरहेका छन् । तिनका संविधानमा खासै खोट लगाउने ठाउँ देखिँदैन । तिनका कानुनहरु पनि कानुनविद्हरुले तयार गरेका छन् । नियमहरु , विनियमहरु पनि विज्ञहरुले तयार गरेका हुन्छन् । तर जब अभ्यासको कुरा आउँछ , त्यहीँनेर समस्या देखिन्छ ।
३. प्रजातन्त्रको संवेदनशीलता भनेको नै यो अत्यन्त नरम र कडा व्यवस्था हो । नरम कुन अर्थमा भने यसले प्रचलित नियम तथा लिखित कानुनको आधारमा सेवा प्रदान गर्छ र कडा कुन अर्थमा भने यसका सीमा नाघेर अघि बढ्दा वा सीमाको परिसीमा बुझ पचाएर पछि हट्दा कानुनले आफ्नो डन्डा चलाउँछ ।
४. अहिले हामी कस्तो समयमा छौँ , एकपटक आफैँलाई नियालेर हेरौँ । कसैलाई आरोप , प्रत्यारोप गर्नुभन्दा अभ्यासको आधारमा आफूलाई हेरौँ । भन्सारले थाहा पाउँदैन एक क्विन्टलभन्दा बढी सुन अवैध तरिकाले आएको हुन्छ, कसले आयात गरेको पनि थाहा हुँदैन तर त्यस्तो आयातीत सुन पत्ता लाग्छ तर कसले करोडौँ लगानी गरेर ल्यायो भन्ने कुरा थाहा पाउन सकिँदैन । सुनको मात्र कुरा होइन, यसैगरी कति सामान भन्सारबाट छिरेको होला, कस्ता सामानहरु छिराइएका होलान्, त्यसको पछिल्तिरको मनोविज्ञान के होला ? भ्रष्टाचार नै होला ।
५. यसका कसको दोष ? को पहिले सुधारिनु पर्ने ? यी हरफ लेख्दाका केही जल्दाबल्दा समस्याहरु हेरौँ—ललिता निबासको सरकारी जग्गा व्यक्तिको नाममा सरेकोमा कैयौँ व्यक्ति हिरासतमा, भुटानी शरणार्थीका नाममा तेस्रो देश , खासगरी अमेरिका पठाउने कारणमा नेपाली नागरिकहरुलाई भुटानीको नाममा नक्कली शरणार्थी बनाएर पठाउन करोडौँ उठाएर पठाउने प्रकरणमा पूर्व गृहमन्त्री, बहालवाला सचिव जो निवर्तित गृह सचिव पनि थिए, करोडौँ रुपैञा उठाउने, दिने नाममा हिरासतमा राखेर छानबिन भएको बेला, सिधासाधा जनतालाई उनीहरुको आवश्यकताको खाँचो टार्ने नाउँमा दिएकोे भन्दा धेरै बढी रकमको कागज बनाई उनीहरुको जग्गा हडपेको घटनामा कति मानिसहरु पक्राउ परेर छानबिन हुँदै, कहिले कसरी , कहिले कसरी सुनको अवैध आयात गरेका घटनामा त्यस्ता व्यक्तिहरुको संलग्नता जसले कानुन कार्यान्वयन गर्नु पर्ने जिम्मा लिएका हुन्छन् । तत्काल तत्काल सरकार परिवर्तनका घटना घट्छन् प्रदेशमा, केन्द्रमा कारण के हो थाहा छैन, को किन कसरी मन्त्री बन्छ भन्न सकिँदैन ।
६. बेथितिको कारण को हो ? कर्मचारीतन्त्रमात्र हो कि ? राजनीतिक नेतृत्वमात्र हो कि ? संसदहरु किन प्रभावकारी हुन नसकेको भनेर कसले अनुगमन गर्ने ? प्रतिनिधि सभाको निर्वाचन भएको र सदन चालु भएको कति भई सक्यो, अझैसम्म विभिन्न समितिहरुका सभापतिको चयन हुन सकेको छैन ।
७. दलहरु बिर्ताको रुपमा चलेका छन् । दलहरुले जनतालाई बाटो देखाउनु पर्ने , सुशासनको प्रत्याभूति दिनु पर्ने तर दलहरु नै मुलुकलाई दलदलमा फसाउन लागेका छन् भनेर आम जनतामा नैराश्यता छ, आक्रोश छ र त्यसको कुनै पनि बेला बिस्फोटन हुनसक्ने संभावना छ । सामान्यतया, काठमाडौँको माइतीघरस्थित मन्डलामा जानु पर्छ मुलुकको अवस्था हेर्न । असन्तोष व्यक्त गर्नेहरुको प्रतीकात्मक स्वरुप त्यहाँ देख्न पाइन्छ ।
८. अब हामीले पनि सोच्नु पर्ने भएको छ, यही बेथितिका लागि हिजोका दिनमा प्रजातन्त्रको पक्षमा जनलहर उर्लेको थियो ? हिजोका राजाबादीहरुले आजको अवस्थासँग हिजो दाँजेर हिजो स्वर्ण युग थियो भन्न थाल्दा पनि आज किन सबै अलमल परेका हुन् ? मुलुकमा कुनै बेला केही हुन्छ, त्यसको जस लिने कुरामा मात्र होडबाजी देखिन्छ । त्यसो त यी निरन्तर ३० वर्षमा केही नभएको होइन तर अपेक्षा अनुसारको अवस्था सृजना नभएकोले अपेक्षा राख्नेहरुले गुनासो मात्र गर्ने गर्दैनन्, समयको रुपान्तरणलाई समेत नेतृत्व गर्नेछन् । रुपान्तरण कसरी कहाँबाट हुने भन्ने अन्यौल देखिन्छ ।
९. र अन्त्यमा, आजको समयको निरन्तरता नै भोलिको भविष्य हो । हामीले कस्तो वर्तमान भोलिका लागि सुम्पने हो भन्ने कुरा इतिहासले निर्धारण गर्नेछ । ह्यान्स एन्डर्सनले एउटा कथा लेखेथे—एम्परर्स न्यु क्लथ अर्थात् सम्राटको नयाँ लुगा । त्यहाँ दुईवटा जुलाहा हुन्छन् र मानिसहरुको नयाँ लुगाको लगाउने सोखलाई उनीहरुले ठगीको धन्दाको रुपमा प्रयोग गर्छन् । उनीहरु राजाहरुका लागि सुनका, चाँदीका र हीराजवाहरतका लुगा बनाउँछन् तर सर्त कस्तो छ भने उनीहरुले बनाउने लुगा सज्जनले मात्र देख्छन् । जो भ्रष्ट हुन्छ, आमाले भनेको बाबुभन्दा अर्के बाबुको सन्तान हो, जो अयोग्य हो , जो फटाहा हो , त्यसले उसको लुगा देख्दैन । वास्तवमा उनीहरु लुगा बनाउँदैन थिए तर लुगा बनाएको बहानामात्र गर्थे । त्यस्तै भएको छ अहिले सबै तिनै जुलाहा जस्तै बहाना बनाउँछन् र जनतालाई ठग्छन् भन्ने पर्न थालेको छ । समयको पदचाप बुझेर बेलैमा सजग नहुने हो भने मुलुक अचिन्त्य दुःखकोे भुमरीमा फस्नेछ । त्यो बेलामा ती गलत गर्नेहरुमात्र फस्ने छैनन्, हामी यो नेपालरुपी जहाजमा बसेका सबै नै डुब्ने छौँ । कसैलाई दोष दिनेभन्दा पनि अहिलेका यी सबै घटनाहरु एकैदिन, एकैछिनमा उत्पन्न भएका होइनन् । अहिलेका बेथितिको मात्रा हेर्दा कोही पनि चोखिने ठाउँ छैन । यसका लागि विभिन्न मनोवैज्ञानिक कारणहरु होलान् तर सुशासनको कमीले यस्तो भएको हो भन्नमा के को लाज ? कसको शासन छ भन्ने कुरा गौण हो मुलुकको अस्मिताका अघिल्तिर । हामीले प्रजातन्त्रका पक्षमा आफूलाई अनवरतरुपमा उभ्याएको समाज रुपान्तरणका पक्षमा हो , समाजको हित गर्ने व्यवस्थाको पक्षमा हो । नेपाल भन्ने देश अनवरत , अविच्छिन्न रहनु पर्छ सूर्यचन्द्र हुन्जेलसम्म भनेर लाग्नेहरुका लागि अहिलेको अवस्था कस्तो महसुस भएको होला ? अचिन्त्य छ र पनि मुलुकमा सकारात्मकरुपमा , प्रजातन्त्रको सुदृढताका लागि परिवर्तनको आवश्यकता छ । नयाँ विकल्प साप्ताहिकबाट
काठमाडौं। सत्तारुढ दलका सांसदहरुले उपसभामुख सुश्री इन्दिरा राना मगरविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी गरेका छन्। महाभियोग प्रस्ताव दर्ता गराएलगत्तै...
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको भन्दै इन्द्रजात्राको अक्षय कोष बृद्धि गरेर...
काठमाडौं। नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख तथा केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको समग्र शिक्षा, र त्यसमा पनि विश्वविद्यालय शिक्षा सुधारका...