प्रजातन्त्रलाई लयमा ल्याउन नेपाली कांग्रेसले मात्र सक्छ भन्ने विश्वास दिलाउन सक्नुप¥यो – Naya Bikalpa
September 30, 2023, Saturday

प्रजातन्त्रलाई लयमा ल्याउन नेपाली कांग्रेसले मात्र सक्छ भन्ने विश्वास दिलाउन सक्नुप¥यो


१.नेपाली कांग्रेस लयमा नहुँदा के हुन्छ ? अहिले जे भएको छ , त्यस्तै हुन्छ । नेपालको प्रजातन्त्रको अभियन्ता भनेको नेपाली कांग्रेस हो , यो कुरा मैले मनगढन्ते तरिकाले भनेको होइन, नेपालको इतिहासले प्रमाणित गरेको तथ्य हो । नेपाली कांग्रेसलाई अब लागेछ, संगठन विना त , न त दलको अस्तित्व रहनेछ, न त प्रजातन्त्रको पक्षमा मुलुकमा कुनै अभियान नै चालिने छ ।

२. भनिन्छ, नेपालको आधुनिक इतिहासको बाटो नेपाली कांग्रेसले खनेको हो । यो कुरा इतिहासविद्हरुले गरेका अनुसन्धान र लेखनबाट हामीले पनि थाहा पाएका हौँ । तर त्यही बाटोको खाका देख्ने बित्तिकै कसरी त्यसलाई निमिट्यान्न पार्ने भन्ने नै षडयन्त्र भएको बुझ्न सकिन्छ । त्यसरी प्रजातन्त्रको सग्लो खाका बनाउने नेपाली कांग्रेसले देखाएको बाटो नै आजको पनि बाटो हो , राजमार्ग हो । नेपाली कांग्रेसले प्रजातन्त्रको एउटा नमुनाको स्वरुपका अभ्यास गर्न नपाउँदै देखि त्यो बनाउनेहको विरुद्धमा जुन षडयन्त्र रचिएको थियो, त्यो आज पनि यथावत् छ । लाग्छ, आफ्ना विरुद्धमा रचिने षडयन्त्रको जालोमा नेपाली कांग्रेस दिनानुदिन फसेको छ ।

३. यो कुरा नेपाली कांग्रेसलाई थाहा नभएको पनि होइन तर आजको बेथितिको सम्पूर्ण उत्तरदायित्व किन नेपाली कांग्रेसको टाउकोमा थुपारिन्छ तर नेपाली कांग्रेस त्यसका विरुद्धमा चुइँक्क बोल्न सक्दैन । उदाहरणका लागि आफूलाई वामपन्थी भनेर चिनाउने अवसरवादीहरुले सभा समारोहमा नेपाली कांग्रेसलाई सामन्ती व्यवस्थाका अवशेष भन्छन्, पुँजीपतिका दलाल भन्छन्, अमेरिकी साम्राज्यवादका दलाल भन्छन््, भारतीय दलाल भन्छन् , सम्पूर्ण भ्रष्टाचारको जडको रुपमा उदाहरण दिएर भन्दा पनि त्यहाँ उपस्थित कांग्रेसी प्रतिनिधिले त्यसको उत्तर दिँदैनन् र मानौँ यसभन्दा पहिले बोल्ने कथित सर्वहारा वर्गका स्वयंभू नेताको भनाइ अकाट्य जस्तो गरी चुपचाप बस्छन् र मौनं सम्मति लक्षणम् जस्तो गर्छन् । यसमा कसको दोष ? हामी प्रजातन्त्रका पक्षधर भनेर आफूलाई चिनाउन चाहनेहरुको रगत उम्लँदा आफूलाई नेपाली कांग्रेसका धुरन्धर नेता तथा कार्यकर्ता मान्नेहरुले प्रजातन्त्रको पक्षमा हाम्रो आदर्श व्यवहार यस्तो छ र हामी कुनै विदेशी दलाल पनि होइनौँ, हामी साम्राज्यवादीका दलाल पनि होइनौँ भनेर खण्डन गर्ने हिम्मत गरेको पाइँदैन ।

४. बीपीले जनमत संग्रहताका भनेको म सम्झन्छु, कसैले नेपाली कांग्रेसका बारेमा नकारात्मक टिप्पणी गरेमा तत्काल प्रतिवाद गर्नु र किनभने हामीले यो पार्टीको जग राष्ट्रियताको आधारमा राखेका हाैं, प्रजातन्त्रका आदर्शको अभ्यास गर्नका लागि सुरु गरेका हौँ । न त हामीले कोशी बेचेका छौँ, न त हामीले गण्डकी बेचेका छौँ , भूराजनीतिक कारणले गर्नुपर्ने सहमति र सम्झौता जसले पनि जहिले पनि गर्नैपर्छ तर हामीले आफूले सकेसम्म आफूलाई फाइदा हुने गरी काम गरेका छौँ । बीपी भन्नुहुन्थ्यो , तर प्रतिवाद गर्नुभन्दा पहिले कोशी सम्झौता , गण्डक सम्झौता र सात सालको दिल्ली सम्झौताका बारेमा जानकारी लिएर मात्र बहसमा भाग लिनू । अध्ययन गर्नू तर निरंकुशताका पक्षमा कहिल्यै नलाग्नू , बरु हाम्रालागि निरंकुश राज्यको जनता हुनुभन्दा , तानासाही शासकको जनता हुनुभन्दा जेलनेल नै स्वागतयोग्य हुनेछ । प्रजातन्त्रका पक्षमा लाग्दा कसैसँग प्रजातन्त्रका विरुद्धमा सम्झौता गर्न सकिँदैन र राष्ट्रियताका लागि भने जोसँग पनि सहमति , सहकार्य गर्न सकिन्छ ।

५. यसरी प्रजातन्त्रका पक्षमा कोरेको बाटो , तयार गरेर हामीलाई सुम्पिएको डोरेटो अब राजमार्ग हुँदा पनि त्यही डोरेटोको चिन्हमा नै हिँड्ने नेपाली कांग्रेसका कार्यकर्ताहरुमा बोधोपन किन आएको हो भन्ने कुरामा चिन्ता सर्वत्र हुँदा नेपाली कांग्रेस लयमा फर्केन भन्ने पनि चिन्ता उस्तै थियो । तर साउन २गतेदेखि १० गतेसम्म केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले एउटा आशाको किरण देखिएको छ , त्यो हो कांग्रेसले धेरै पछि भए पनि आफ्नो संगठनको चासो राखेको छ ।

६. साउन २० देखि ३० सम्म आन्तरिक संगठनको लागि गाउँ गाउँ गएर आफ्नो अवस्थाको समीक्षा गर्ने र त्यसको उपचारका लागि व्यापक संगठन गर्ने जुन अठोट गरेको छ । ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधिहरुको रोहबरमा समीक्षा गर्ने र कमी कमजोरीलाई कसरी समाधान गर्न सकिन्छ भनेर नयाँ तरिकाले संगठनलाई चुस्त दुरुस्त पार्ने बुझिएको छ ।

७. नेपाली राजनीतिमा अहिले नेपाली कांग्रेस कमजोर देखिएको छ । त्यसको कारणका रुपमा कांग्रेस जस्तो दलले अरुसँग गठबन्धन गरेर निर्वाचनमा जानु परेको प्रमाण प्रस्तुत गरिँदै छ । पञ्चायतकालमा समेत पञ्चहरु कांग्रेसको संगठन सखाप पा¥यौँ भनेर गमक्क फुल्दा पनि के हो , कांग्रेसका पक्षमा कति जनसंख्या छ भन्ने पत्ता लगाउन सकेका थिएनन् । नभन्दै पञ्चायतलाई धक्का दिनका लागि कांग्रेसकै नेतृत्वमा संयुक्त जनआन्दोलन भएको थियो । २०४७ सालमा नयाँ संविधान आएपछि भएको २०४८सालको निर्वाचनमा समेत कांग्रेस एक्लै २०५ स्थानमा निर्वाचन लडेको थियो । तर २०७४ र २०७९ मा पनि कांग्रेसले आफूलाई एक्लै निर्वाचनका जान हिम्मत नगरेकोले पक्कै पनि कांग्रेस कमजोर भएकाले होला भन्ने आम जनमानसमा पर्नु स्वाभाविकै हो जवकि जनताको मतमा खासै फरक नपरेको होस् ।

८. आजको बेथिति, अस्थिर राजनीति, सरकारको पेन्डुलम अवस्थाको कारण भनेको कांग्रेस कमजोर भएर नै हो । कतिसम्म भने २०७४सालमा संघ र प्रदेशमा अवस्थाको आँकलन गरिएको थियो । २०७९ सालमा केही सुधार भएको त छ तर सरकार, संसदको नेतृत्वका प्रश्नमा कांग्रेस निर्णायक हुन सकेको छैन । त्यसैले भन्नै पर्ने हुन्छ, कांग्रेस कमजोर भए प्रजातन्त्र कमजोर हुँदो रहेछ ।

९. सायद अहिलेको केन्द्रीय बैठकले यी कुराहरुमा आत्मसात् गरेकोले होला, संगठनलाई जबसम्म व्यवस्थित गर्न सकिँदैन, जबसम्म संगठनका आधारमा जुनसुकै खालको प्रतिस्पर्धा गर्नका लागि तयारी हुन सकिँदैन, तबसम्म प्रजातान्त्रिक अवस्थाको स्थितिले सकारात्मक सुधारको अपेक्षा गर्न सकिँदैन ।

१०. अपेक्षा गरौँ, अब नेपाली कांग्रेसमा प्रजातन्त्रका पक्षमा मात्र गुट बनोस् । बहस र छलफलका लागि तर्कपूर्ण जानकारी राख्नेहरुको जमात बढोस् । प्रजातन्त्रको अभ्यासका लागि उदाहरण हुनका लागि आफ्नै आन्तरिक प्रजातन्त्र सुदृढ बनाउने हिम्मत पलाओस् । अहिले नेपालको संघीय संसदमध्ये प्रतिनिधि सभामा प्राविधिकरुपमा मात्र ठुलो दल बनेको छ , त्यो पनि गठबन्धनका बलमा आएको हो भनेर कसैले आरोप लगाउँदा त्यसलाई असत्य भन्न सकिँदैन । संसदको तेस्रो दललाई च्यापेर सरकारको नेतृत्व दिनु परेको छ, दोस्रो दलले सभामुख पाएको छ, चौथो दलले उपसभामुख लिएको छ । प्रदेशमा पनि मुख्यमन्त्री अर्काको भरमा लिन पाइएको छ , त्यो पनि गठबन्धनका ठिक बेठिक सर्तहरु मानेर जुनकुरामा नेपाली कांग्रेससँग स्पष्ट जबाफ छैन ।

११. र अन्त्यमा, नेपाली कांग्रेस अब काल्पनिक र मिठो सत्ताको स्वादमा भन्दा जनताको सेवाको पक्षमा अरु दत्तचित्त भएर लाग्नु पर्छ भन्ने जनताको धारणा छ । प्रजातन्त्रमा जब जनता प्रजातन्त्रको विकल्प खोज्नका लागि भड्किन्छन्, त्यहाँ अर्को निरंकुशताले घाँटी उठाएर प्रजातन्त्रको सिकार गर्नेछ । बीपी कोइरालाको पार्टीले यसकुरामा सजग र सतर्क हुनै पर्छ । नेपाली कांग्रेसको सिद्धान्तले जितेको पनि भन्ने तर आफ्ना एजेन्डा कायम गर्न नसकेको अवस्था अब नआओस् । अबको नेपाली कांग्रेसले सत्ताको कृत्रिम स्वादमा भन्दा प्रजातन्त्रको स्वाद जनतालाई दिनका लागि कम्मर कसेर लाग्नु पर्छ । नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० श्रावण २२, १२: ५८

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० श्रावण २२, १२: ५८

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...

संघीयता कार्यान्वयनमा शासकीय मानसिकता परिवर्तन जरुरीः कावा प्रधानमन्त्री खड्का
संघीयता कार्यान्वयनमा शासकीय मानसिकता परिवर्तन जरुरीः कावा प्रधानमन्त्री खड्का
  • २०८० श्रावण २२, १२: ५८

  काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तनमा जोड दिएका छन्। राजधानीमा शुक्रबार...