जलवायु परिवर्तनको भयावह स्वरुपको कसरी व्यवस्थापन गर्ने ? – Naya Bikalpa
September 7, 2024, Saturday

जलवायु परिवर्तनको भयावह स्वरुपको कसरी व्यवस्थापन गर्ने ?

१. समसामयिक विश्वको ठुलो समस्या भनेको जलवायु परिवर्तनको समस्या हो । पर्यायवरणीय परिवर्तनको कारक स्वयं प्रकृति होइन, त्यसको कारण त हामी मानिसहरु हौँ । हामीले प्रकृतिको लयलाई बिगारेका हौँ । त्यसैले पर्यायवरणीय परिवर्तन या जलवायु परिवर्तनका कारणहरुमा स्वयं प्रकृति नभएर त्यसमा जानीजानी छेडछाड गर्ने हामी मानिसहरु हौँ । हामीले हुन त मानवीय स्वार्थका लागि नै त्यसो गरेका हौँला, तत्कालको स्वार्थका लागि । तर यो पृथ्वी, यो ब्रह्माण्ड त सधैँ र सबैका लागि हो भन्ने कुरा कसरी बिर्सन सकिन्छ र ? प्रकृतिमा रहेका केही प्राकृतिक भण्डारका अपरिमित , असीमित तथा सबैका लागि जतिबेर पनि आवश्यक पर्ने साधनहरुको अति प्रयोग र त्यसमा हुने प्रदूषणका कारणले यदि त्यसको मौलिक उद्देश्य पूरा हुन सकेन भने त्यसले समाधान होइन , समस्या निम्त्याउँछ । अहिले भएको पनि त्यही हो । खासमा हामी मानिसहरुका विकासका नाममा प्रकृतिको दोहन भएकाले तापक्रममा वृद्धि भएको छ र त्यसैले नै जलवायुमा परिवर्तन ल्याएर संसार तात्दैछ , त्यसका कारणले आउने परिवर्तन अवश्यंभावी बनेको छ ।

२. तापक्रम वृद्धिले के असर पारेको छ त भन्दा उत्तरी ध्रुव र दक्षिणी ध्रुवमा संग्रहित हिउँ पग्लेर समुद्रमा सैय्यौँ किलोमिटरका ढिक्का पसेपछि एक त समुद्र बढी चिसो हुने भयो, अर्कोचाहिँ समुद्रको पानीको तह पहिलेभन्दा धेरै माथि आउने भयो । पानी पनि चिसो हुने भयो । त्यसले किनारमा देशहरु डुबानमा पर्ने भए र त्यहाँको अस्तित्व नै खतरामा पर्ने भयो । तातो पानीमा बसेर आफ्नो जीवन निर्बाह गरिरहेका सामुद्रिक जीव र वनस्पतिहरुका चिसो पानीमा नबाँच्ने भए । पानी तात्न पनि समय लाग्ने भयो , त्यसले गर्दा बेलामा पानी लयमा नपर्ने भयो । ध्रुवीय क्षेत्रमा हिउँको कमीले त्यहाँका प्राणी र वनस्पतिको ह्रास हुने भयो । मालद्विभ्सजस्ता समुद्रको धेरै मिटर टाढा नरहेका टापु र देशहरुको अस्तित्व अब धेरैवर्षसम्म नरहने भएको छ ।

३. जलवायु परिवर्तनका कारणले हाम्रो जस्तो समथर, पहाडी र हिमाली देशको अवस्था झन झन नाजुक हुन थालेको छ । हामीजस्ता पानीको श्रोतका लागि हिमाल ,पहाड तथा भूमिगत पानीको आधारमा बाँच्ने हरुका लागि तापक्रम वृद्धिले हिमालको हिउँ पग्लेर काला पहाडका रुपमा हिमाल परिवर्तन हुँदैगर्दा पानीका श्रोतहरु बिस्तारै नासिन थालेका छन्। हिमाली भेगमा बस्ने बासिन्दा , वनस्पति र अन्य वन्यजस्तुहरुको बासस्थानमा परिवर्तन हुँदा तिनको अस्तित्व संकटमा परेको अवस्था छ ।

४.हामीले खानु पर्छ र त्यसका लागि खेती अपरिहार्य छ । इतिहासको कालखण्डदेखि नै हामी खेती गर्ने र आफैँले उब्जाएको बालीनालीबाट आफ्नो निर्बाह गर्ने बानी भएका नेपालीहरु हौँ । प्रकृतिको प्रक्रिया र लयसँगै खेती गर्दै आएका हौँ । यता केही वर्षदेखि भने हामीले संसारमा भएको विकास र हामी आफैँले गरेको अनुसन्धानबाट नयाँ प्रविधिबाट पनि खेती गरिरहेका छौँ । हिमाली भेग, पहाडी क्षेत्र तथा दक्षिणको पहारिलो फाँटमा खेती गर्छौँ र दक्षिणको तराईको फाँटलाई नेपाललाई अन्न भण्डारको रुपमा मानेको छौँ । हामीसँग प्रशस्त अन्न उत्पादनका लागि सिँचाइको सुविधा थपेर समथरमा खेती गर्नुपर्ने हुन्छ । सिँचाइको आधार भनेको या त हिमाली नदीको पानी हो, या त पहाडी क्षेत्रका वनजंगल, खोँच तथा महाभारतका कतिपय ठाउँबाट बगेर आउने पानीको हो । पहाडी भेगमा पानीको श्रोत भनेका वर्षामा परेको पानीको भूमिभित्रको संग्रहले हो । अनि वर्षा ऋतुमा पानी पर्दैन । समयमा पानी पर्दैन । प्रकृतिको लयमा पानी पर्ने भनेको मनसुनमा हो । मनसुनको सुरु र अन्त्यको पनि तापक्रम वृद्धिले समयचक्र परिवर्तन हुन थालको आभास आउँछ । हिउँदमा पानी पथ्र्यो अरब सागरबाट आउने चिसो वाष्पयुक्त वादलबाट तर अचेल त्यो पनि नियमित हुन सकेको छैन । हिउँदमा या वर्षामा पानी परी हाले कि त खण्ड वृष्टि हुन्छ, कि त अति वृष्टि हुन्छ । या त पानी नै पर्दैन । प्रकृतिको आफ्नै लय हुन्छ । लाखौँ वर्षदेखिको प्रकृतिको अनवरत र निरन्तर एउटै लयमा मानवीय कारणले स्वतः परिवर्तन आएको छ ।

५. हाम्रा कारणले , नेपालका कारणले तापक्रम वृद्धि त भएको होइन, मनसुनको चक्रमा परिवर्तन भएको होइन तर हामीले पनि आफ्नो प्रकृतिलाई गलत तरिकाले दोहन गर्दा परेको समस्या भनेको अलिअलि पानी पर्दा पनि बाढीको जोखिम बढेको छ, खोलानालाको माटो, गिट्टीको दोहन गर्दा बाढीबाट हुने क्षतिको आँकलन गर्न सकिँदैन । कतिपय नदीक्षेत्रलाई, वनक्षेत्रलाई अतिक्रमण गरेर बस्ती राख्दा पानीजन्य विपत् रोक्न सकिएको छैन । जलप्रकोपलाई रोक्न नसक्दा र बेलामा सिँचाइको व्यवस्था गर्न नसक्दा फल्ने बालीनाली पनि फलाउन सकिएको छैन । एकातिर काम गर्ने जनशक्ति विदेश पलायन गरेकाले कृषि प्रधान देशले धान, चामल, आलु, तरकारी , दाल आदि खर्बौँ रुपैँयाका खाद्यान्न आयात गर्नु परेको छ, अर्कोतिर जलवायु परिवर्तनको समस्याको उपयुक्त समाधानको उपाय पहिल्याउन नसक्दा कृषिको मात्र कुरा होइन, बर्सेनि सरुवा रोगको प्रकोपबाट समेत प्रताडित हुनु परेको अवस्था छ ।

६. र अन्त्यमा, जलवायु परिवर्तनका कारण हामी नेपाली नभए पनि त्यसको दुष्चक्रमा त हामी परेकै छौँ । हिमाली भेगको वातावरण परिवर्तन हुँदा पर्यटनको विषयमा मात्र ह्रास आउने होइन, हाम्रो जनजीवनमा समेत त्यसले पारेको दुष्प्रभाव कसरी कम गर्ने ? पहाडमा त्यसले पारेको दुष्प्रभावलाई कसरी कम गर्ने ? तराई र मधेसमा देखिएको भूमिगत जलको ह्रासले गर्दा खानेपानी, बोरिङ्मार्फत्को सिँचाइमा परेको समस्या र प्रत्येक मनसुनमा कम पानी पर्ने या अति पानी पर्ने कारणले भएको विनासको कसरी व्यवस्थापन गर्ने र क्षतिपूर्ति गर्ने समस्या देखिन्छ । यस्ता कुरामा दीर्घकालीन योजना बनाएर, संयुक्त राष्ट्रसंघमार्फत् पर्यायवरणीय समस्या उत्पन्न गराउने कारकको पहिचान गरी क्षतिपूर्तिको माग गरी , हरित क्रान्तिमार्फत् अक्सिजनको मात्र थप्ने काम गर्नु जरुरी छ । हाम्रो पर्यावरणीय समस्याको समाधान कति हामीसँगै छ, कति हाम्रो नियन्त्रणभन्दा बाहिर छ, त्यसको खोजी गरी समाधान बेलैमा ननिकाले हाम्रो विकासको लय पनि हराउने छ, हाम्रो जीवन पनि दुष्कर हुनेछ । नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन प्रधानमन्त्रीको आग्रह
  • २०८० श्रावण २९, १३: १७

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्...

मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
मधेशमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने
  • २०८० श्रावण २९, १३: १७

धनुषा : चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...

अर्थ समितिको बैठक आइतबार बस्ने
अर्थ समितिको बैठक आइतबार बस्ने
  • २०८० श्रावण २९, १३: १७

काठमाडौं : संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने...