१. कुरो संघीयताको हो । नयाँ व्यवस्थाको रुपमा संघीयतालाई नेपालले अंगीकार गरेको छ । लामो विवाद र बहसको परिणामबाट ७ प्रदेशको व्यवस्था गरिएको छ । ७५३ ओटा स्थानीय तह वा स्थानीय सरकारको व्यवस्था गरिएको छ । नेपालको नयाँ शासन प्रणालीको प्रयोग र अभ्यासका बारेमा समीक्षा गर्ने अवस्था आउन थालेको छ । तर त्यो समीक्षा गर्ने वैध ठाउँ भनेको संघीय संसद नै हो किनभने आवश्यकता अनुसार संविधान पनि सुधार गर्न सक्ने अधिकार संघीय संसदलाई मात्र छ ।
२. २०७२ साल असोज ३ गते जब नयाँ संविधान घोषणा गरियो, त्यसबेलादेखि हामी औपचारिकरुपमा संघीय संरचनामा प्रवेश गरेका हौँ । २०७४ सालको स्थानीय तह, प्रादेशिक संसद तथा संघीय संसदको निर्वाचन भएपछि साँच्चै संघीयताको अभ्यासमा लागेका हौँ ।
३. अब संघीयताको अभ्यास गरेको पनि ६ वर्ष भएको छ । निर्वाचनका बेलामा हतार हतारमा निर्वाचन गरिन्छ । न त निर्वाचन कानुनमा कुनै समीक्षा गरिन्छ , न त संघीयताको अभ्यासमा देखिएका कमी कमजोरीहरु हटाउने कोसिस गरिन्छ ।
४. हाम्रो संविधान सामाजिकरुपमा तयार गरिएको गतिशील दस्ताबेज हो । आधारभूत मान्यताबाहेक संविधान परिवर्तनीय छ , संशोधनीय हुन्छ । मुलुकका लागि संविधान चाहिने हो । अभ्यासमा देखिने कमी कमजोरीलाई सुधार गर्न सक्ने भनेको संघीय संसदले कानुन बनाएर मात्र हो ।
५. न त बारम्बार संविधानको हबाला दिएर प्रतिनिधि सभा विघटन गर्ने कामका बारेमा रोक्न सक्ने कानुन नै बन्यो, न त प्रदेशको स्वायत्तताको बारेमा कुनै सम्भावनाको अवस्थाको समेत जानकारी राख्न खोजेको पाइयो । जसरी केन्द्रीय संसद र केन्द्र सरकार स्वायत्त हुन्छ, त्यस्तै प्रदेश सभाको पनि आफ्नै स्वायत्तता हुन्छ । तर केन्द्रीय राजनीतिको अस्थिर प्रकृतिको छायाले प्रदेशमा पनि गाँजेको पाइयो । अरु त अरु , केन्द्रीय संसद चलेको कति महिना भयो, अझै संसदीय समितिहरुले पूर्णता पाउन सकेको छैन । त्यस्तै गरी केन्द्रमा सत्तामा समीकरण बदलिने बित्तिकै प्रदेशमा नक्कल गर्दै परिवर्तन भएका छन् र त्यहाँको काम कार्बाहीले संघीयताको खिसी गर्ने ठाउँ पाएको छ ।
६. हुन त त्यसको कारक तत्व हो , केन्द्रमा अस्थिरता । कुनै दलको पनि वहुमत नभएको अवस्था । कसैको वहुमत नआएकोले अनेका जोडजम्मा गरेर वहुमत पु¥याउने काम गरिन्छ । आम निर्वाचन सम्पन्न हुने बित्तिकै गठबन्धनको आधारमा सरकार बन्ने काम हठात् हुन सकेन र माओबादी पक्षलाई एमालेले प्रधानमन्त्रीको पद सुरक्षित गराएर र अनेक सर्तभित्र जकडेर तत्कालै सभामुख, उपसभामुख तथा मुख्यमन्त्रीहरुको भागबन्डा गरिएको थियो । जब राष्ट्रपति पनि एमालेलेआफ्नो पक्षमा पार्न चाह्यो,अनि फेरि पुरानै गठबन्धनमा सत्ता फर्कियो र राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने काम भयो । त्यसपछि फेरि सत्ता समीकरण हठात् परिवर्तन हुन थाल्यो जसले अझै पनि पूर्णता पाउन सकेको छैन । कति ठाउँमा मन्त्रालय थपेर भाग पु¥याइएको छ , ती भागबन्डामा परेका मन्त्रीहरुले मन्त्रालय पाएका छैनन्। अनि मधेस प्रदेश र वाग्मती प्रदेशबाहेक मुख्यमन्त्री परिवर्तन गरिए र ती मुख्यमन्त्री परिवर्तन नभएका प्रदेशहरुमा पनि समीकरण परिवर्तन गरिए । राजनीतिक रुपमा त्यसको औचित्य प्रमाणित गर्ने कसरी होला इतिहासमा ? अहिले कोशी प्रदेश एउटा उदाहरणीय बेथितिको प्रमाण भएको छ ।
७. अहिलेको अवस्था भनेको संघीयतालाई प्रजातान्त्रिक प्रक्रियामा कसरी जनतासमक्ष औचित्य प्रमाणित गर्ने भन्ने हो । सत्ताभन्दा व्यवस्थाको स्थिरताको प्रश्न जटिल हुन्छ । व्यवस्थाले सकारात्मकरुपमा जग बसाउ्रँदा भोलि जो पनि मुख्यमन्त्री हुन पाउने छ र आज जे अभ्यास हामी गर्छौँ , भोलि त्यही नै नजिर हुनेछ । नेपाल प्रजातान्त्रिक प्रक्रियाको नेता पनि हुन सक्छ यदि हामीले संघीयतालाई स्वायत्तरुपमा प्रयोग गर्न प्रेरित गर्न सक्यौँ भने ।
८. हाम्रो संविधानले अधिकार र कर्तव्यको छिनोफानो गरेर तोकेको छ । कतिपय अधिकारहरु दोहोरिएर राखिएका होलान्, तिनका बारेमा संविधानमा परिवर्तन गरेर या कानुन बनाएर या सर्वोच्च अदालतबाट निर्णय गराएर, व्याख्या गराएर पनि हामीले संघीयतालाई प्रयोग गर्न लायक बनाउनु पर्छ । अहिले तीन प्रकारको सरकारमध्ये स्थानीय र केन्द्रीय सरकारमात्र प्रयोगमा देखिन्छन् । त्यसोहुँदा के प्रदेश सभा, प्रदेश सरकार मुलुकलाई बोझ नै भएका हुन् त ? यदि त्यस्तो हो भने प्रदेश सभाका सांसदहरुले पनि त्यसका समीक्षा गरुन् , संघीय संसदले पनि त्यसमा निष्पक्ष तरिकाले समीक्षा गरुन् । कतै यस्तै सानातिना कुराले मुलुक फेरि अस्थिरतातर्फ नजाओस् । फेरि संघीयताका विरुद्धमा ठुलो जमात देखिन्छ । कामले संघीयताको आवश्यकता देखाउन सक्नुपर्छ । सातै प्रदेशमा सांसदहरु, सभामुख, उपसभामुख,मुख्यमन्त्रीहरु , मन्त्रीहरुको खर्चको उपादेयता औचित्य प्रमाणित गर्न चुनौती आएको छ । त्यसतर्फ ध्यान नदिने हो भने र विगत ६ वर्षको अनुभवका आधारमा समीक्षा नगर्ने हो भने यसैगरी चल्न त चल्ला तर जनताको कोपभाजन हुँदा बालुवाको घरजस्तै सबै प्रणाली भत्कने पो हो कि ? ध्याय दिनु जरुरी छ । बहसका लागि खुला छोड्नु पर्छ सबै संसदहरुमा । अनि त्यसबाट विकल्प आवश्यक भए निस्कन्छ , अहिलेको अवस्थालाई निरन्तरता दिने हो भने पनि छलफलले निर्णय गराएर अघि बढ्नु जरुरी छ ।
९. र अन्त्यमा, प्रदेश सभा र प्रदेश सरकारहरुको आवश्यकताको औचित्य प्रमाणित गर्नै पर्ने अवस्था आएको छ । स्थानीय तहको खर्चको बेहिसाब बेरुजुका कारणले भ्रष्टाचारको मलिलो ठाउँ बनेको छ भन्ने महालेखापरीक्षकको प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनहरुले औँल्याएको कैफियतलाई कसरी सुधार गर्ने भन्ने पनि समीक्षाको विषय बनेको छ । संविधानको प्रयोगको १० वर्षमा विभिन्न आयोगहरुको तदारुकता र आवश्यकताको पनि निरुपण गर्ने बेला भएको छ । संविधानको मर्मलाई बिर्सेर , अक्षरसँगमात्र तादात्म्यता बढाएको भनेर आरोप खेप्नु परेको छ सरकारले । संविधानमा लेखिएका कुराहरुको प्रयोग र अभ्यास नहुने हो भने अलंकारका लागि किन संविधानको दुहाइ दिने भन्ने पनि आलोचना हुन थालेको छ । त्यसैले सम्पूर्ण कुराहरुको समीक्षा जरुरी छ , त्यो पनि संघीय संसदमा । मुलुकको हितका लागि र इतिहासको पानामा सही तरिकाले भावी पुस्तालाई मुलुक हस्तान्तरण गर्ने प्रक्रियाको सही बाटो लिएको देखिनु पनि पर्छ र जनताले त्यसको परिणाम सकारात्मक लिएको अनुभूति पनि गरेको हुनुपर्छ । नयाँ विकल्प साप्ताहिकबाट
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...
काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तनमा जोड दिएका छन्। राजधानीमा शुक्रबार...