१. नेपाल भन्ने देश शदियौँदेखि वहुभाषिक, वहुसांस्कृतिक र वहुधार्मिक भएर पनि सबै धर्मावलम्बी , सबै भाषी, सबै सांस्कृतिक सभ्यता मान्नेहरु आपसमा मिलेर बसेको इतिहास छ । आज पनि संसारमा त्यसरी मिलेर बस्ने देशको बारेमा अध्ययन गर्ने हो भन्ने नेपाल पहिलो शान्तिपूर्ण सहअस्तित्वका पक्षमा आपसमा अभ्यास गरेर बसेको देशको रुपमा लिन सकिन्छ ।
२. सामाजिक न्याय र प्रजातन्त्र एकअर्कासँग अन्योन्याश्रित पक्षहरु हुन् । मानव अधिकारको पाटोले मान्छेको बाँच्ने अधिकारको वकालत गर्छ भने समाजमा कसरी सहज तरिकाले बाँच्न पाउने भन्ने बारेमा सामाजिक न्यायले व्यवस्थापन गरेको पाइन्छ । शान्तिपूर्णरुपमा एकअर्काले आपसमा सम्मानका साथ बाँच्ने र बाँच्न पाउने हकको अभ्यास र उपयोग नेपालमा भएको छ , त्यसको लागि हाम्रो प्रजातान्त्रिक व्यवस्थाले मौलिक हकहरुको प्रत्याभूत गरेको छ ।
३. नेपालमा हाल अचानक धार्मिक , सांस्कृतिक तथा सामाजिकरुपमा असहिष्णुता कसरी पलाएको हो ? थाहै भएन । कोशी प्रदेशको नामाकरणपश्चात् नै एउटा असन्तोष देखिएको थियो र त्यसको कारणले हो वा अन्य कुनै असामाजिक तत्वको प्रयासले, गोरुको मासु प्रसङ्गले, मन्दिर चर्चका प्रसङ्गले हाल धरानमा देखिएको आपसी असन्तोषले अन्य भागमा पनि फैलिने डर बढेको छ ।
४. समाजलाई एकीकृत र आपसमा समन्वय गरेर राख्नु भनेको राजनीतिक प्रयासभन्दा पनि सामाजिक समन्वयको आवश्यकता पर्छ र त्यसमा राजनीतिक नेतृत्वहरुको समझदारीपनको आवश्यकता पक्कै नै पर्छ । के कारणले समाज विचलित हुन थालेको हो भन्ने बारेमा समस्याको तल्लो तहसम्म नै पुग्नुपर्छ । माओवादी जनयुद्धका कारणले आज यो परिणाम आउन थालेको भन्ने एकथरी तर्क छ जसले गर्दा हिजोको कारण आज पनि परिणामको रुपमा देखिएको हो भनिन्छ । अनि आपसमा कलह बढाउने काममा केही विदेशीहरु पनि लागेका छन् जसले गर्दा नेपालको धर्म निरपेक्षताको विरुद्धमा लागेर सापेक्षताको पक्षमा भूमि तयार गरिन थालेको पनि भनिन्छ । तर परिणाममा चाहिँ के देखियो भने नेपाली समाज मिलेर बसेको थियो, मिलेर बस्नै पर्छ भन्ने सन्देशचाहिँ अब सबैले दिनैपर्छ ।
५.मुलुकमा अनेकानेक समस्या छन् । बाढीले आक्रान्त छ, पहिरोले पिल्सिएको छ , कहिले सुख्खाले सताउँछ, कहिले बेमौसमी हिउँ परेर सताएको छ । झन अहिले भुटानी शरणार्थीहरुका नाममा नेपाली नागरिकलाई नै नक्कली शरणार्थी तयार गरी तेस्रो देश अझ अमेरिकामा नै पठाउने कामले मुलुक बदनाम भएको बेला छ र त्यसको अनुसन्धानले अझै अन्तिम रुप लिई सकेको छैन । फेरि ललिता निवासको १४३ रोपनी सरकारी जग्गाको बारेमा पनि नक्कली मालिक तयार भएकाले त्यसको पनि अनुसन्धान चलिरहेको छ र मुद्दाको तयारी देखिन्छ । यसैबिच क्विन्टलका क्विन्टल सुनको काण्ड देखिएको छ , दृश्यमा ६१ किलो सुन छ , ३३ किलो सुन छ र ९ किलो सुन छ तर त्यसको जगमा देखिएको टनका टन सुन अवैधरुपमा नेपाल पैठारी भएर भारततर्फ गएको सुनिन्छ, देखिन्छ । त्यसको पनि अनुसन्धान हुँदैछ र त्यसको अवैध तरिकाले आउने सुनका बारेमा जाँचबुझ आयोग २०२६अनुसार एउटा शक्तिशाली आयोग गठन भएर कारण, परिणाम र निदानका लागि भावी उपायसमेत दिने गरी असोज ५ गते उच्चस्तरीय आयोग गठन हुने निर्णय भएको अवस्था छ । यसरी मुलुक एकमाथि अर्को समस्याग्रस्त देखिन्छ ।
६. यी त भए प्रशासनिकरुपमा देखिएका कमी कमजोरीमाथि सुशासनका लागि गरिएका अनुसन्धानका प्रक्रिया, जहाँ अझै अनुसन्धानमा कमी भएको भनेर औल्याइएको छ र अझ कति अनुसन्धानका दायरामा अटाउने हुन्, कति अनुसन्धानका दायरामा अटाएर अभियोजनमा अटाउने हुन् र कतिले त्यसबाट कार्बाहीको दायरामा आउने हुन् भन्ने कुराको लागि कानुनी शासनमा केही समय पर्खनै पर्नेछ ,किनभने त्यसको अन्तिम निर्णय गर्नका लागि माननीय अदालतको फैसला मान्नुपर्ने हुन्छ ।
७. कोशी प्रदेशको नामाकरणले केही सन्देश दिएकै छ । दुई तिहाइले नाम राखेको हो , यसमा तत्कालीन मुख्यमन्त्री हिम्मत कार्कीको मात्र दोष नहोला तर त्यसले किन पूर्वमा शान्तिपूर्ण आन्दोलनबाट कहिलकाहीँ हिँसात्मकसमेत आन्दोलन भयो भन्ने बारेमा सोच्ने काम पनि राजनीतिक दलहरुकै हो । पहिले दुईतिहाइको पक्षमा मत दिने पछि गएर त्यसबाट हात झिक्ने माओवादी नीतिले पनि अहिलेको समस्यामा कतै कुनै कारण पो हो कि भन्ने शंका देखिन्छ । तर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्तिकायम गर्नका लागि आह्वान गरेको देखिन्छ र नेपाली कांग्रेससहितका अन्य राष्ट्रिय दल तथा प्रादेशिक दलहरुले पनि शान्तिका लागि आह्वान गरेको देखिन्छ । हामीले तत्कालका लागि शान्तिपूर्ण अवस्था कायम गर्ने र भोलि पनि त्यस्ता समस्याहरु नआउन् भन्नेमा सजग हुनै पर्छ । यसलाई बुढी आमै मरिन् भन्दा पनि घरमा काल पस्यो भन्नेमा सोच्ने बेला भएको देखिन्छ ।
८. आजको प्रजातान्त्रिक, गणतान्त्रिक तथा धर्मनिरपेक्षताको बेलामा हामी कसले केको मासु खाने भन्नेमा रुमलिएका छौँ । कसैले के को मासु खान्छन् त कसैले कुनै पनि प्रकारको मासु खाँदैनन् । विवादको विषय भन्दा पनि प्रचलित नियम कानुन अनुसारको व्यवहार गर्नु हामी सबैका कर्तव्य हुनजान्छ । हजारौँ वर्षदेखि आफ्ना आफ्ना चलन , मान्यता, परम्परा र नियम मानेर आएका अनि मिलेर बसेका हामी नेपालीहरुमा कहाँबाट आयो यो खालको साम्प्रदायिकता, धार्मिक अन्धता र आपसमा मिल्ने भन्दा विभाजको रेखा कोरेर लड्ने मानसिकता ? हामीले शदियौँदेखि जे जानेका छौँ, सिकेका छौँ , त्यसैको अभ्यास गरौँ भन्ने अनुरोध जरुरी छ र आपसमा समन्वय, सहिष्णुता र सद्भावना जरुरी छ ।
९. र अन्त्यमा, हामी सबै विषयमा संक्रमणकालमा छौँ । हामीलाई मानवोचित व्यवहारको जरुरत छ आपसमा । आपसमा सम्मान, आदर, सहिष्णुता र सद्भावको जरुरत छ । कुनै पनि कुराको समाधान भनेको आपसमा बसेर छलफल र विचार विमर्शले दिन्छ । समस्याको सुरुवात एकैदिन र एकैरातमा भएको पक्कै होइन । समाधानका उपायहरु खोजौँ र तत्काल नै त्यसको समाधान निकालौँ तर आपसमा सद्भाव कायम गर्दै । धेरैवटा समस्याहरु एकैपटक देखिएका छन् , सबैको समाधान जरुरी छ , समस्याको जगमा पुगेर समाधान निकाल्नु जरुरी छ । हाम्रो सद्भावपूर्ण समन्वयात्मक समाजको अवस्थालाई सदैव कायम गर्नु पहिलो कर्तव्य हुनजान्छ । नयाँ विकल्प साप्ताहिकबाट
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...
काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तनमा जोड दिएका छन्। राजधानीमा शुक्रबार...