जनताका अत्यावश्यक समस्याको समाधान तत्काल सरकारले गरोस् – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

जनताका अत्यावश्यक समस्याको समाधान तत्काल सरकारले गरोस्

१. नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेपछि नेपालीहरुका केही अपेक्षा देखिन्छन् । नयाँ सरकार आएपछि स्वतः केही अपेक्षा हुनु स्वाभाविकै हो । नयाँ सरकार गठनको औचित्य साबित गर्न पनि नयाँ नयाँ कामहरु गर्नैपर्छ । तर जनताहरु ठुला ठुला कुराहरुमा भन्दा दैनिकरुपमा भोग्नु परेका समस्याहरुको समाधान मिहिन तरिकाले होस् भन्ने चाहन्छन् ।
२. तर नयाँ सरकार बनेपछि पक्ष या विपक्षमा जता पनि दैनिक जीवन गुजारा गर्ने कुराहरुको आवश्यकता भन्दा अन्य कामहरुको बढी चर्चा देखिन्छ , अझ अमूर्तरुपमा तेर्सिएको संविधान संशोधनको कुरामा चर्को बहस हुन थालेको देखिन्छ । लोकमा एउटा लोककथा चर्चित थियो पहिले । दुई जना दाजुभाइ सधैँ जसो तल बिसीबाट ढोड, पराल , मकै , धान केही लिएर आउँथे धन्सारको घरबाट । घरमा जे आवश्यक छ त्यही लिएर आउने क्रममा एकदिन साँझ मकै छोडाएर बोरामा लिएर आउँदै थिए र उकालाको चौतारीमा थकाइ मार्न बसे । अनि भाइले भन्यो—दाजु, मकै , धान , पराल बोक्दा बोक्दा हैरान भइयो । बरु अर्को साल उखु लगाउँ । सखर , खुँदो बनाएर बेचौँ । पैसा पनि आउने, बोकेर हैरान पनि नहुने । दाजुले पनि थकाइको सुरमा भन्यो—ठिक भनिस् भाइ, अर्को साल सबै ५० मुरी खेतमा उखुमात्र लाउने । पैसाले धान किने भैगयो, मकै किने भैगयो । पराल, ढोड पनि किन्ने । बोक्नु त पर्दैन सधैँ ।
३. उखु लगाउने कुरा हुँदाहुँदै भाइले भन्यो, दाजु उखु खान हुने भएपछि त म दिनको दुई लाँक्रा उखु खान्छु है । अनि दाजुले पनि भन्यो, मलाई पनि वैद्यले दिनको तीन लाँक्रा उखु खान भनेको छ, म पनि दिनैपिच्छे तीन लाँक्रा उखु खान्छु है । यत्तिकैमा दाजुभाइको झगडा बढ्दै गयो कसले कति लाँक्रा उखु खाने भन्नेमा । गर्दागर्दै दुवै जना कुटाकुट गर्न थाले । अरु पनि बिसीबाट भारी बोकेर आउँदै थिए र उनीहरुको विवादमा , झगडामा छुट्याउन थाले र कुटाकुटको कारण सोध्न थाले । दाजुले भाइलाई र भाइले दाजुलाई उखु एक्लै खान खोजेको, आफूले मिहिनेत गर्दा उसले बढी खान खोजेको भनेर आरोप प्रत्यारोप गर्न थाले । अनि गाउँलेले सोधे—अनि उखुबारी कहाँ छ र कसले आज कति खाएर झगडा गर्न थालेको ? अनि भाइले भन्यो—हाम्रो सल्लाह के भने अर्को साल खेतमा उखुमात्र लाउने भन्ने हो, त्यसैमा कसले कति लाँक्रा उखु खाने भन्नेमा हाम्रो विवाद बढ्दै गएर कुटाकुट भएको हो । अनि गाउँले हाँस्न थाले र अर्को साल उखु लाउनै बाँकी छ, बाटा काट्ने सल्लाहमा उखु लाउने कुरासम्म भएको हो अनि किन कुटाकुट त ? दाजुभाइ लाजले निहुरमुन्टी भए र एकअर्कासँग माफी माग्दै फेरि आफ्ना भारी बोक्दै उकालो लागे ।
४. कथा यही हो । संविधान संशोधन एउटै विषयमा मात्र पनि हुनसक्छ जस्तो कि यसभन्दा पहिले पनि दुईदुईओटा संशोधन भएकै हो । अहिले निर्वाचन प्रणालीका बारेमा चर्को बहस हुन थालेको छ । संसदमा राष्ट्रिय दल हुन नसकेका दलहरुको पनि वर्चस्व यसरी बढेको छ कि सरकार छिनछिनमा बदल्ने उनीहरुको ध्यानलाई संविधानले रोक्न पनि सक्दैन । संसदमा तेस्रो ठुलो दलले कसो कसो सत्ता हातमा पार्छ र काँध फेरेको फेर्दै अरुलाई धम्की दिन्छ । संसदमा मात्र सरकार परिवर्तनको मुद्दामात्र आउँछ जस्तो कि नयाँ सरकार बनेको दुई वर्ष पनि पुगेको छैन,सरकारले पाँचपटक विश्वासको मत माग्न पर्ने हुने रहेछ । प्रदेश सरकारको अवस्था झन अस्थिर भएको छ । प्रदेश सभा र प्रदेश सरकार यदि आफ्नो निर्णय गर्न सक्षम हुँदैनन् र स्वायत्त सरकारको रुपमा, संसदको रुपमा गणना हुँदैनन् भने अब पनि ती संघीय संरचनाको गहना मानेर राख्नु जरुरी छ त ? या छ या छैन । यसको निक्र्यौल गर्ने त नेपालको संविधानले संघीय संसदको दुई तिहाइ मतलाई दिएको देखिन्छ ।
५. संविधान संशोधन लहडमा पनि गर्नु हुँदैन अनि परेका समस्याहरुको समाधान गर्न पनि संशोधन नै गर्नु हुँदैन भनेर हलो अड्काउँदै गोरु चुट्ने काम पनि गर्नु हुँदैन । संसद नै त्यस्तो थलो हो जहाँ जनताका आवश्यकता पूरा गर्नका लागि बहस हुन्छ, समाधान गरिनु पर्छ । त्यसो त अहिलेको समस्या भनेको जनताको दैनिक समस्याको हल गर्नु हो ।
६. दैनिक अत्यावश्यक कुराहरुको आपूर्ति हुन सकेको छैन । नेपालमा नै उत्पादन हुन सक्ने खाद्यान्न पनि, तरकारी पनि फलफूल पनि अर्बौँ रुपैयाँको आयात भइरहेको छ र विप्रेषणबाट प्राप्त विदेशी मुद्रा खर्च भइरहेको छ । उत्पादकत्व नबढेर नै त हो विदेशबाट अर्बौँको खाद्यान्न, लत्ता कपडा , मसला, फलफूल मगाउनु परेको ? विद्युतीय सामान पनि अर्बौँको मगाउँछौँ जुन जनसंख्याभन्दा अत्यधिक धेरै देखिन्छ । आदि आदि । तर यसो भनेर सरकारको काममा बाधा पनि पार्नु हुँदैन , अनि सरकार पनि जनताको आवश्यकताभन्दा बाहिर गएर आफ्ना अभीष्टता पूरा गर्न पनि लाग्नु हुँदैन । सरकारको सुरुवाती कामहरुमा नै पुनरावलोकन जरुरी भएको छ भन्ने नागरिक समाजको मूल्यांकन देखिन्छ ।
७. र अन्त्यमा, मुलुक बाढी , पैरोबाट आक्रान्त छ , विपद प्रतिकारको खासै व्यवस्था देखिँदैन । भूकम्पको राहतको समेत खासै व्यवस्था बेलैमा भएको पाइँदैन । यसपटक मौसमविद्हरुले गर्मी पनि अत्यधिक हुने , वर्षा पनि अत्यधिक हुने भएकाले विपद प्रतिकारको योजना बनाउन सरकारलाई र बाढीसँग , पानी जन्य रोगसँग लड्ने काम गर्न सतर्क हुन भनिएको थियो । नेपालमा धेरै वर्षपछि हैजाको महामारी होला जस्तो देखियो । डेँगु विस्तारित छ । अरु सरुवा रोगहरुको पनि बिगबिगी बढेको छ । त्यसले सरकार पहिले त्यसको निराकरणमा लागोस् । सहज अवस्थामा संघीय संसदमा संवैधानिक समस्याहरुको निराकरण गरोस् । सर्वप्रथम जनताको बाँच्ने हकको संरक्षण गरोस् । सरकार परिवर्तनको औचित्य साबित गरोस् भन्ने पर्यवेक्षकहरु चाहन्छन् । -नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

प्रजातन्त्रमा निर्वाचनमार्फत् नै पूरा गर्नैपर्ने जनताको अपेक्षा
प्रजातन्त्रमा निर्वाचनमार्फत् नै पूरा गर्नैपर्ने जनताको अपेक्षा
  • २०८१ श्रावण २१, १६: २१

१. निर्वाचनको अर्थ नै धेरै योग्य आकांक्षीहरुमध्ये कसैलाई छान्ने हो । प्रत्यक्ष रुपमा छानिने योग्य व्यक्तिलाई छान्न आधुनिक समयमा भोटिङ्...

हल्लाले गर्न सक्ने क्षति कम गर्न पनि  सर्वोच्च अदालतको तत्काल निर्णय आवश्यक
हल्लाले गर्न सक्ने क्षति कम गर्न पनि सर्वोच्च अदालतको तत्काल निर्णय आवश्यक
  • २०८१ श्रावण २१, १६: २१

१.फेरि हल्ला सुरु भयो सूचना प्रविधिको आन्तरिक कुसूचनाका हल्लाले मुलुकहरुको अवस्था नाजुक हुन थालेको बेलामा नेपाल पनि सूचना प्रविधिको हल्लाका...

गगनका प्रमुख सारथि मध्ये विशेष महाधिवेशनका कमाण्डर मनोजमणिले पाए सवैतिरवाट प्रशंसा !
गगनका प्रमुख सारथि मध्ये विशेष महाधिवेशनका कमाण्डर मनोजमणिले पाए सवैतिरवाट प्रशंसा !
  • २०८१ श्रावण २१, १६: २१

–दामाेदर प्रसाद दवाडी नेपाली काङ्गेस भित्र युवापिडिका माझ चर्चित अनुहार मध्ये मनोजमणि आचार्यको नाम काङ्गेसको ११ अैा महाअधिवेसन देखि चर्चामानै...