विवाहपञ्चमी पर्व मनाइँदै – Naya Bikalpa
January 24, 2025, Friday

विवाहपञ्चमी पर्व मनाइँदै

जनकपुरधाम : जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव धुमधामसाथ मनाइँदै छ। मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष जनकपुरमा भव्यताका साथ मनाइन्छ ।

मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको मुख्य दिन आज हो। त्रेता युगमा प्राचीन मिथिलाको राजधानी जनकपुरमा जसरी राम र सीताको विवाह भएको मान्याता छ त्यसरी नै अहिले पनि राम–जानकीको डोलालाई स्वयम्बर गराएर वैदिक परम्पराअनुसार विवाह गर्ने गरिएको छ ।

आज दिउँसो बाजागाजा र झाकीसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्कन्छ । यी डोलाहरू जनकपुरको ऐतिहासिक रंगभूमि मैदान, बाह्रविघामा पुगेर मिलन भएपछि डोलाफेर गरी स्वयम्बर गरिन्छ ।

राम मन्दिरका महन्थ रामगिरी भगवान रामका पिता राजा दशरथको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव राजा जनकको भूमिकामा छोरी पक्षको प्रतिनिधित्व गर्छन् ।

स्वयम्बरपश्चात दुवै डोलाले नगर परिक्रमा गर्दै जानकी मन्दिरमा प्रवेश गर्छन् । साँझदेखि वैदिक परम्पराअनुसार राम र जानकीको विवाह विधि सुरु हुन्छ। मैथिली परम्पराअनुसार रातभर विशेष विवाह विधि सम्पन्न गरिन्छ ।

राम र जानकीको डोला अवलोकन गर्न र स्वयम्बर तथा विवाह समारोह हेर्न जनकपुरधाममा श्रद्धालुहरूको ठूलो भीड लागेको छ । यसपटक अयोध्याबाट आएका साधुसन्तहरूको जन्तीले महोत्सवलाई थप रौनक बनाएको छ। श्रद्धालुहरूको आगमन जारी छ ।

सप्ताहव्यापी महोत्सवअन्तर्गत हिजो पाँचौँ दिन जानकीको मटकोर सम्पन्न भएको थियो। यसअघि महोत्सवका पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ ।

आज रामसीताको विवाहपछि भोलि रामकलेवा कार्यक्रमसँगै महोत्सव विधिवत रूपमा समापन हुनेछ। रामकलेवामा जन्तीलाई मिथिलाको ५६ व्यञ्ज भोजन खुवाएर दक्षिणा दिएर बिदा गरिन्छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ मंसिर २१, ०७: ४१

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ मंसिर २१, ०७: ४१

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ मंसिर २१, ०७: ४१

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...