आगामी स्थानीय तह निर्वाचनमा माओवादीले २५० पालिका जित्छ: प्रचण्ड – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

आगामी स्थानीय तह निर्वाचनमा माओवादीले २५० पालिका जित्छ: प्रचण्ड

विराटनगर : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले कम्तीमा २५० पालिका जितेर पहिलो बन्ने दाबी गरेका छन् ।

मोरङको ग्रामथान गाउँपालिका–५ तेतेरियामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यसपटक ग्रामथानबासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनीतिक महत्वको विषय भएको बताए ।

‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौं । अब ग्रामथान थपिएपछि यो संख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ । यो हामीलाई उपनिर्वाचनले दिएको महत्वपूर्ण सन्देश हो,’ उनले भने ।

गत १६ मंसिरमा भएको स्थानीय तहको उपनिर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वटा जिताउनुका साथै अन्य वडामा पनि मत संख्या बढाएर पूर्वले विरोधीहरूलाई ठूलै जवाफ दिएको बताए ।

‘विरोधीहरूले अब माओवादी कमजोर भयो । एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई संख्या र लोकप्रिय मत दुबैमा पहिलो पार्टी बनाएको छ । यो एउटा पालिकाको मात्रै विजय होइन । यो देशैभरि विशेष सन्देश दिने रणनैतिक महत्वको जीत हो,’ उनले भने ।

उनले ग्रामथानबासीले माओवादीलाई ठूलो गुण लगाएको उल्लेख गर्दै यहाँका जनताका लागि आफ्नो निवास खुला रहने र जनताको समस्या समाधानका लागि प्रतिवद्ध भएर लाग्ने बताए । केन्द्रीय समिति बैठकको दस्तावेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको जानकारी पनि उनले गराए । उनले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताए ।

देशमा माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गरे ।

‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकतावद्ध राख्न सकेनौं । जनताको विश्वास कायम राख्न नसकेकै हौं,’ उनले भने, ‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं । हामी धेरै कुरा सम्झेर तपाइँहरूसमक्ष आएका छौं । तपाईँहरूलाई पनि २०६४ साल सम्झिदिन अपील गर्छु ।’

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८१ माघ ५, १८: २०

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८१ माघ ५, १८: २०

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८१ माघ ५, १८: २०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...