तीन पुस्ताका शैक्षिक अभियन्ता ध्रुव माडसापलाई सम्झिँदा ! – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper
‘आयो टप्प टिपेर लग्यो टारेर टर्दैन त्यो– इन्द्रै बिन्ती गरुन् झुकेर पदमा, त्यो बिन्ती मान्दैन त्यो’

तीन पुस्ताका शैक्षिक अभियन्ता ध्रुव माडसापलाई सम्झिँदा !

तीन पुस्तालाई शिक्षा प्रदान गर्न सफल शैक्षिक अभियन्ता स्व. ध्रुव प्रसाद आचार्यको २०८० साल माघ १८ गते बेलुकी ५ बजेको समयमा देहान्त भएको हो । पिता टंक प्रसाद आचार्य (गोपाल पण्डित) र माता इन्द्र कुमारी आचार्यको कोखबाट २००१ सालमा जन्मिनु भएका ध्रुव माडसाप तीन छोरीहरुमध्ये कान्छा हुनुहुन्थ्यो, जेठी दिदी मिठु लामिछाने, माइली दिदी भगवती दवाडी, कान्छि शुभद्रा भट्टराई हुनुहुन्छ ।

जेठी र माइलीको निकै पहिले नै निधन भएको र कान्छि दिदी हाल अमेरिकामा हुनुहुन्छ । म माइली छोरी भगवती दवाडीका कान्छो छोरा ३२ वर्षदेखि पत्रकारितामा सक्रिय छु । मेरो शिक्षा, दिक्षा पनि मामाश्री ध्रुव प्रसाद आचार्यज्यूको प्रत्यक्ष निगरानीमा भएको हो । त्यसैले मैले मेरा गुरु र अभिभावकलाई जीवनभर सम्झिरहने छु । शैक्षिक अभियान्ता ध्रुव माडसापको बाल्यकालको पढाईदेखि उच्च शिक्षा सम्मको शिक्षा प्राप्त गर्न निकै कठिनाई बेहोर्नु परको कथा व्यथा सुनेको थिए । जति कठिनाई पर्दा पनि शिक्षा हासिल गरेर पश्चिम भेगमा शिक्षाको ज्योति फैलाउने एक शाहसी नाम हो ध्रुव माडसाप ! उहाँले आफ्नो अध्ययन अध्यापनसँगसँगै पश्चिम भेगमा शिक्षाका लागि स्कुल खोल्नेदेखि सबै विषय पढाउन सक्ने खुवीका धनी ध्रुव माडसापले २०२३ सालमा मंगलादय माविमा विज्ञान शिक्षकको रुपमा शिक्षा दिँदै आउनुभएको र निरन्तरको प्रयासपछि कालीमाटिमा जनप्रभात कलंकीमा सीताराम स्कुल र चेकपोस्टमा प्रभात मिडिल स्कुल खोल्नुभएको र प्रभात मिडिल स्कुललाई तत्काल हाई स्कुल बनाएर एसएलसी समेत सोही स्कुलबाट गरेका व्यक्तिहरु पछि त्यही स्कुलमा शिक्षक बन्नुभएको रहेछ । उतिबेला विद्यालयको स्थापना गर्ने कार्य निकै कठिन थियो रे । उतिबेला एसएलसी पास गर्ने व्यक्ति हातमा गन्न सक्ने सीमित हुन्थे रे । फेरि शिक्षा पेसा सम्हाल्ने व्यक्तिको पनि निकै कमी थियो रे । तर सानै उमेरदेखि पढाइ लेखाईमा निकै तिखा र जोसिलो ध्रुव माडसाप भने विएस्सी पास गरेका हुँदा मंगलोदय माविका विज्ञान शिक्षकको निकै चर्चा हुन्थ्यो रे । अंग्रेजी, म्याथ र साइन्स पढाउने शिक्षकहरुको निकै अभाव भएको हुँदा त्यतिबेलाका व्यक्तिहरुले शिक्षकहरुको निकै आदरभाव प्रकट गर्ने गरिन्थ्यो । ध्रुव माडसाप विज्ञान शिक्षक भएर पनि ठट्यौली स्वभावमा पढाउने हुँदा विद्यार्थी हर्षित हुन्थे रे । ध्रुव माडसाप पढाइमा तेजिलो भएको कारण विद्यालयमा जुनसुकै विषय पनि उहाँले खरर बढाउनु हुन्थ्यो रे ।

२ वर्षको अन्तरालमा मंगलोदय माविमा पञ्चायत कालको भूतहरुको सवार पछि उहाँ र अन्य प्रजातन्त्रवादीहरु भएर पुन चेक पोष्टमा प्रभात मिडिल स्कुल खोलेर हाई स्कुलको निर्माण गरी, भौतिक संरचनाका लागि चन्द्रगिरिको बााटो भएर मधेश र तराईबाट काठमाडौं ल्याइएका चौपाएहरुबाट कर उठाएर स्कुलको भौतिक संरचना निर्माण गर्ने स्कुल सञ्चालन खर्चको व्वस्थापन गरिएको थियो रे । ढुंगेअड्डादेखि कुनै बस सेवा नभएको हुँदा ध्रुब माडसाप साइकल चढेर विहान ६ बजे स्कुल पुगी नजिकैको पाटीमा खाना पकाएर अन्य शिक्षकलाई पनि खुवाउने र आफु पनि त्यही खाएर दिउँसोसम्म कक्षा संचालन गर्ने गर्नुहुन्थ्यो रे । हाईस्कुल भएको २ वर्षपछि लोकबहादुर लामाले उहाँलाई नै हेडमास्टरको जिम्मेवारी दिनुभएको थियो रे । हालसम्म सोही स्कुलमा १३०० विद्यार्थी र ठूलो भौतिक संरचनाका साथ चलिरहेको छ । यसरी ठूलो संख्यामा सरकारी सामुदायिक स्कुलमा खचाखच विद्यार्थी हुनु भनेको अहिले निकै ठूलो उपलब्धी मानिन्छ किनकी राम्रो पढाइ र भौतिक संरचना भनाइ यति ठूलो संख्यामा सरकार स्कुुलमा विद्यार्थी पाउन मुश्किल हुन्छ ।

यसरी शैक्षिक क्षेत्रमा त्याग र स्वभिमानी कमाएका ध्रुब माडसापले २०२९ सालमा लोक सेवा आयोगको शाखा अधिकृतमा पास गरेपछि हुलाक सेवा, विभाग हुँदै गृह मन्त्रालय अन्तर्गत नागरिकता वितरण टोली प्रमुखबाट अर्थमन्त्रालयमा सरुवा भएपछि त्रिभुवन विमान स्थलको भन्सार अधिकृत भए पश्चात तस्करहरुबाट लुकाई छिपाई ल्याइएको सुन भटाभट निस्कन थाल्यो राजश्व वृद्धि हुन थाल्यो, लुगा धुने सावन नुहाउने सावनभित्र लुकाएर ल्याइएका सुन बाहिरिएपछि सुनचरी नामले प्रख्यात हुनुभयो । यस्तो उत्कृष्ट काम गरेको भन्दै तत्कालीन राजा वीरेन्द्रबाट सुन समाए वापत नगद पुरस्कार तथा गोरखा दक्षिणबाहु पदक प्रदान गरियो । भन्सार अधिकृत हुँदा अन्यलाई अनेक आरोप लाग्ने गरेका भएपनि उहाँ माथि त्यस्तो आरोप त परै जाओस् फेरि सोही ठाउँमा दोस्रो कार्यकालको लागि पोष्टिङ भयो । दोस्रो कार्यकालको केही समयपछि सोही ठाउँमा बस्न अनइच्छुक जाहेर गर्नुभए पश्चात शिक्षा मन्त्रालयमै सरुवा हुनुभयो पछि त्यहीबाट सेवा निवृत्ति हुनुभयो, सेवा निवृत्ति हुने वित्तिकै फेरि आफ्नै घरमा सुन्दरवन स्कुल अफ साइन्स नाम राखेर स्कुल खोलेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आउनुभयो । २५ वर्षसम्म निरन्तर गुणस्तरीय शिक्षा प्रदान गरिरहँदा धेरै आफुले पढाएका विद्यार्थीका छोराछोरी र नातिनातिनाहरुलाई समेत शिक्षा दिन सफल हुनुभएकोले उहाँलाई तीन पुस्ताका शैक्षिक अभियन्ता भनेर संवोधन गर्ने गरिन्छ ।

मेरो पनि झण्डैझण्डै तीनै पुस्तालाई शिक्षा उहाँले नै प्रदान गर्नुभएको हो । सुन्दरवन स्कुल अफ साइन्स स्कुललाई हाल धेरै ठूलाठृुला शैक्षिक क्षेत्रका व्यक्ति र संस्थाले सजिलै चिन्ने गर्दछन् । यहाँ नाम चलेका सेन्ट जेभियर्स +२ र उच्च शिक्षाको काठमाडौं युनिभर्सिटीमा पनि सुन्दरवन स्कुलका विद्यार्थीहरुले सजिलै उच्च शिक्षा हासिल गरिरहेका छन् । यो उहाँकै शिक्षाप्रतिको प्रेमको प्रतिक हो ।

यहाँबाट पास आउट भएकाहरु यतिबेला देश विदेशमा डाक्टर इन्जिनियर भएर जनताका सेवामा समर्पित छन् । गुणस्तरीय शिक्षा प्रदान गरेर तीन पुस्ताको सम्भmनामा बास गर्न सफल ध्रुब माडसाप यो संसारबाट बिदा लिएको आज एक वर्ष बितेको छ । उहाँको निधनले पश्चिम भेगको शिक्षाको ज्योतिमा बादल मडारिरहेको अनुभूति भइरहेता पनि उहाँले गर्नुभएको दुःख र मिहिनतलाई शक्तिको रुपमा लिएर घरपरिवारले पश्चिम भेगको शिक्षाको दीपलाई निभ्न नदिन घरपरिवारको जेठी बुहारी डा. श्रद्धा कोइरालाले नेतृत्व सम्मालेर निरन्तरता दिइरहेकी छिन् । समाजका यस्ता हस्तिहरुले समाजलाई मात्र हैन आफ्नो परिवार, इष्टमित्र, दिदीभाइ, भान्जाभान्जी तथा नातागोतामा पनि अमुल्य छाप छाडेर गएका हुन्छन् । त्यो मेरा लागि अत्यन्तै महत्वपूर्ण क्षणहरु बनेका छन् । विरामी परेपछि यहाँदेखि भेलोरसम्मको औषधि मुलो खोजी गर्दा र अस्पताल भर्ना हुँदा मलाई बोलावट गरेर केही कुरा भनेर जानुभएको छ । त्यो आजभोलि झलझली सम्झेर रातभरि निदाउन सक्दिनँ ।

कहिले काहीँ त छाति गरुँगो भएर आउँछ । गहभरी आँसु भरिन्छ, जिब्रो लरबरिन्छ, हातहरु काम्न थाल्छन् । ति क्षणहरु सम्झँदा रात छर्लङ्गै बित्छ । सम्झन्छु संकट मोचनका धनी धुब माडसापले मोवाइलका घण्टी बजाउँनुहुथ्यो र सोध्नुहुन्थ्यो, बाबु तिमी कता छौ ? धेरै दिन भयो नि फुर्सद छैन र ? अब कस्ले भनिदेला ? टाढा टाढा बस्ने भान्जाभान्जीहरु बाटोकै मामाघर ओर्लेर खाजा, खाँदै जानेबेलामा, बाटो खर्च छैन भनेर खल्तीमा खुसुक्क बाटो खर्च अब कसले हालीदेला ? मामा (धु्रब माडसाप) हजुरको स्वर्गबास भएको आज १ वर्ष भइरहँदा मुस्किलले वर्षभरिमा ५÷६ पटक पुगे होला किन किन खुट्टा अगाडि सर्दैन त्यही बाटो गाडी लिएर थानकोट जाँदापनि छिर्न जाँगर चल्दैन । अझैपनि हजुरले यो संसार छाडेर गएको विश्वास भइरहेको छैन । तर पनि विश्वास नगरेर विकल्प पनि त छैन नी हैन र ध्रुव माडसाप ।

सम्बन्धित समाचार

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०८१ माघ ७, १२: ३०

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
  • २०८१ माघ ७, १२: ३०

काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...

रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
  • २०८१ माघ ७, १२: ३०

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।...