काठमाडौं : नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा वक्ताहरूले नेपालले आईटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् ।
कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी नेपाल स्टार्टअप र एसएमई सम्मेलनको दोस्रो दिनको पहिलो सत्र ‘उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी’ शीर्षकमा भएको छलफलका वक्ताहरूले आईटीमा थोरै लगानी गर्न सके राम्रो परिणाम हात पार्न सकिने बताए । इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आईटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको बताए । आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्न सके वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयका डिन प्रा.डा. महानन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यावसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताए । प्राविधिक पक्षमा सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयले निरन्तर आफ्नो तर्फबाट काम गरिरहेको उनको भनाइ छ । ‘सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोड्ने भन्ने विषय समेटिएको छैन । हरेक संकायमा प्राविधिक र व्यावसायिक सिप सिकाउने गरी पाठ्यक्रम निमार्ण गर्ने र त्यसलाई व्यावहारिक रूपमा लागू गर्न आवश्यक छ,’ उनले भने ।
सिनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समय अनुसार सपना देख्ने, लगानी गर्ने र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डिङसहितको प्रचार गर्न आवश्यक भएको बताए । देशको भूगोलअनुसार उत्पादित सामग्रीको राज्यले प्रवर्द्धन गर्न सके समग्र आर्थिक रुपान्तरण गर्न सहज हुने उनको भनाइ छ ।
योङ इन्नोभेसनका संस्थापक विभूषण विष्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याए अहिलेको तुलनामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यहीअनुसार सेवा निर्यात गर्न सकिने बताए । ‘उद्यमशीलता एक माइन्डसेट हो । उद्यमी र सर्वसाधारण मानिसबीच के भिन्नता छ भने सामान्य मानिसले समस्या देखिरहेको हुन्छ भने उद्यमीले अवसर देखिरहेको हुन्छ । त्यो समस्या समाधान गर्ने प्रयास गरिरहेको हुन्छ,’ उनले भने, ‘शिक्षामा उद्यमशीलतालाई जोड्न आवश्यक छ र उद्यमशीलता पढेको व्यक्तिले मात्रै स्टार्टअप गर्नुपर्छ भन्ने हुँदैन ।’
काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । सुरक्षा उपकरण...
काठमाडौं : ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका २ नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् । दलालको प्रलोभनमा...
काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...