सेती नदीको बाढीले आठ गाउँ उच्च जोखिममा – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

सेती नदीको बाढीले आठ गाउँ उच्च जोखिममा

नयाँ विकल्प

डोटी- सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठ गाउँ उच्च जोखिममा पर्दै आएका छन्। नदी नियन्त्रणका लागि तारजालीको प्रयोग गरिए पनि कटान रोकिएको छैन।

कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारीदाङका बस्ती उच्च जोखिममा पर्दै आएका छन्। ती क्षेत्रमा बसोबास गर्ने नागरिक वर्षात्को समयमा घरमा राम्रोसँग सुत्नसमेत नसक्ने अवस्थामा रहेको स्थानीयवासीको गुनासो छ।

जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय दिपायल राजपुरले नदी नियन्त्रणका लागि वर्षेनी लाखौँ रकमका तारजाली लगाउने गरेको भए पनि समस्या समाधान हुन नसकेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका दीलबहादुर भण्डारीले बताए।

उनले भने, “नदी नियन्त्रणका लागि जलउत्पन्न कार्यालयले लाखौँका तारजाली त हाल्छ, नदीको बाढीले असार–साउन महिनामै बगाउँछ, अनि जमिन फेरि कटान हुन सुरु गर्छ, हाम्रा पीडा उस्तै।”

सेतीको बाढीले वर्षेनी आफ्नो धार परिर्वतन गर्दै बस्ती भएर बग्न थालेका कारण यहाँ वर्षेनी जोखिम बढ्दै गएको छ। पानीको बहाव पनि निकै बढ्ने भएकाले कतिबेला बाढीले बगाउने हो भन्ने चिन्ताले पिरोल्ने गरेको दिपायल सिलगढी–१ सिरखोलीसैनका स्थानीयवासी लक्ष्मण साउदले बताए।

जिल्लाको शिखर नगरपालिका–१० बनलेग र ११ बारपाटामा वर्षेनी वर्षाको समयमा बाढीपहिरोले निकै दुःख दिने गरेको स्थानीवासी बताउँछन्। सेतीमा पानीको बहाव बढेसँगै रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ।

शिखर नगरपालिका–२ कालागाढका रामबहादुर कर्कीले दिपायल, बानीडुग्रीसैन, सिरखोलीसैन, कालागाढ, रामपुर, गेरुपानी, घोलतडा नारिदाङलगायतका बस्तीमा जमिन नदीले कटान गर्न थालेको भए पनि सम्बन्धित निकायले रोकथामका लागि ठोस पहल नगर्दा समस्या हुन थालेको गुनासो गरे।

उनले भने, “नदीले धार परिवर्तन गरेर दैनिक खेतबारी बगाउँदै आएको छ, रोकथामका लागि ठोस पहल भएको छैन।”

यस वर्षको भारी वर्षात्कै कारण जिल्लाका ग्रामीण क्षेत्रका एक दर्जन बढी सडक अवरुद्ध भएका छन्। जिल्लाका विभिन्न २२ ठाउँलाई प्रकोपको हिसाबले उच्च जोखिममा राखेर प्रतिसमुदायमा १२ जनालाई उद्धारकर्ताको तालिम र आवश्यक सामग्री दिई आधारभूत खोज तथा उद्धार सामग्री केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका महासचिव देवबहादुर बोहराले जानकारी दिए।

जिल्लाको कति प्रतिशत भूभाग पहिराको उच्च जोखिममा छ भन्ने यकिन तथ्याङ्क भने कुनै पनि निकायसँग छैन।

जिल्लामा विसं २०७२ साउन २३ गते ठूलो पानी पर्दा खसेको पहिरोका कारण सायल गाउँपालिका–४ बावनसेनमा एकै परिवारका पाँचसहित छ जनाको ज्यान गएको थियो भने सयौँ रोपनी खेतीयोग्य जमिन, पशुचौपाया बाढीले बगाएको थियो।

यस वर्ष बाढीपहिराका कारण साउनसम्म पाँच जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
  • २०७८ श्रावण २६, १०: १८

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान...

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण २६, १०: १८

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ श्रावण २६, १०: १८

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...