ठूला नेताको अपत्यारिलो चुनावी खर्च – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

ठूला नेताको अपत्यारिलो चुनावी खर्च

चुनावमा पैसाको खोलो बगाएका नेताहरुले निर्वाचन आयोगमा भने निकै कम खर्च विवरण पेस गरेका छन् । जुन अपत्यारिलो छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यलाई २५ लाख र प्रदेशसभा सदस्यलाई १५ लाखसम्म खर्च गर्न मिल्ने सीमा तोकेको थियो ।

तर अयोगले तोकेको भन्दा शिर्ष नेताहरुले बुझाएको खर्च विवरण भने निकै कम देखिएको छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष बन्नलाई ४० देखि ५० लाखसम्म खर्च भएको र प्रतिनिधिसभा निर्वाचनमा करोडाँैको खेल भएको समाचार सार्वजानिक भएतापनि अहिले उनीहरुको खर्च विवरण देखेर चुनावभरसँगै हिँडेका र पैसाको चलखेल देखेका कार्यकर्तासमेत अचम्म परेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला ९ लाख ९४ हजार ५ सय ४२ खर्च भएको विवरण पेश गरेका छन् ।

जुन आयोगले तेकेको भन्दा ५० प्रतिशत भन्दा पनि कम खर्च हो ।
निर्वाचनको समयमा सर्वाधिक चासो र देशभरको केन्द्रविन्दु बनेको त्यस निर्वाचन क्षेत्रमा करोडाँै खर्च भएको समाचार सार्वजानिक भएको थियो । तर उनको खर्च विवरण भने निकै फरक देखिएको छ । जसले आमजनता आश्चर्यचकित भएका छन् ।
त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि अत्याधिक खर्च गर्ने नेताको सूचीमा परेका थिए । तर ओलीले २४ लाख १ हजार १ सय ६० रुपैयाँ र देउवाले २३ लाख ४ हजार पाँच सय रुपैयाँ खर्च विवरण आयोगमा पेश गरेका छन् भने एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले १४ लाख ९० हजार, कांग्रेसका नेता प्रकाशमान सिंहले १७ लाख ३० हजार ५ सय र विवेकशील साझा पार्टीबाट काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बनेका रवीन्द्र मिश्रले १३ लाख ८९ हजार २ सय १४ खर्च विवरण आयोगलाई बुझाएका छन् ।

विभिन्न गोष्ठी, कार्यकर्ता परिचालन, सवारीसाधनको प्रयोग, इन्धन र प्रचारप्रचार सामग्रीमा रकमको कुनै परवाह नगरी चुनाव लडेका नेताहरुले अहिले आयोगमा पेश गरेको खर्च विवरण हेर्दा सबैभन्दा कम कसले पेश गर्न सक्नेभनी प्रतिस्पर्धा गरेको जस्तो देखिन्छ । यसमा निर्वाचन आयोग पनि दोषी रहेको जानकारहरु बताउँछन् । आयोगले खर्चको सिलिङ तोक्ने तर त्यसको वास्तविकता बुझ्न अनुगमन गर्न नसक्दा नेताहरुले अत्याधिक खर्च गरेको भएपनि थोरै मात्र खर्च विवरण बुझाएको जानकारहरु बताउँछन् ।
निर्वाचन आयोगले आफ्नो जिम्मेवारी बहन गरी सत्यतथ्य पत्ता लगाउनु भन्दा पनि औपचारिकता पूरा गर्ने कर्मकाण्डीको रुपमा मात्र लिने गरेको विश्लेषण हुन थालेको छ ।

यसमा कोही पनि गम्भीर भएको देखिदैन । दल र उम्मेदवारहरुले जति खर्च विवरण पेश गरे त्यति नै निर्वाचन आयोगले बुझ्दै जाने हो भने निर्वाचन अपारदर्शी बन्दै जाने देखिन्छ । जुनरुपमा जसरी दलहरुले पेश गरेको खर्च विवरणमा दाबी गरिएको छ त्यति खर्चले प्रचार प्रसार सामाग्री मात्रैलाई पनि अपुग हुने आम–सर्वसाधारणको बुझाई छ ।

लाख भन्दा बढी रकम तिरेर निर्वाचनको समयमा विमान नै चार्टर गरेर हिँडेका कतिपय शिर्ष नेताहरुको खर्च विवरण सुनेर अहिले चोकचोकको चिया पसलमा चर्चाको विषय बनेको छ । निर्वाचनताका नेपालमा चुनाव अति महँंगो बन्दैगएको भनि भाषणबाजी गरेका नेताहरुले अहिले उनीहरुले नै बुझाएको खर्च विवरण हेर्दा विश्वमै सस्तो चुनाव नेपालमा मात्र भएको देखिन्छ ।

अरुबेला पाइला नटेक्ने तर चुनावका बेलामा हेलिकप्टर र प्लेन नै चार्टर गरेर दुर्गम जिल्ला पुगेका नेताहरुको चुनावी खर्च केही लाख मात्र भएको विवरण सुन्दै हाँस्यस्पद छ । कार्यकर्तालाई महिनौँ दिनसम्म मासु–भात र रक्सी खुवाएर परिचालन गरेका नेताहरुको चुनावी खर्च दश लाख पनि नपुगेको भन्दा जो कोहीले पत्याउन सक्दैनन् । आफ्नै खर्च विवरण अर्बमा देखाएको आयोगले नेताहरुको खर्च लाखमा मात्र सिमित भएको कसरी पत्याउन सकेको होला ?

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७४ माघ ८, ०८: ३९

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७४ माघ ८, ०८: ३९

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७४ माघ ८, ०८: ३९

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...