‘असक्षम’हरुले बनाए संगठन धुलिसात – Naya Bikalpa
August 5, 2026, Wednesday      Epaper
लोकतान्त्रिक कांग्रेसका अलोकतान्त्रिक भ्रातृसंस्थाः टीके नेतृत्व विघटनको माग

‘असक्षम’हरुले बनाए संगठन धुलिसात

काठमाडौं । नेपाली कांग्रेसका १३ भ्रातृसंस्थामध्ये पाँचवटाको मात्रै महाधिवेशन मार्फत निर्वाचित कार्य समिति चयन भएको छ । प्रमुख भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान संघ तोकिएको समयमा महाधिवेशन गर्न नसक्दा तदर्थको भरमा चल्दै आएका छन् । माउ पार्टी कांग्रेसले अधिवेशन गर्न ती संस्थालाई २०८१ चैत मसान्तसम्म दिएको समयसीमा गुज्रिसकेको छ । खासगरी नेतृत्वले अधिवेशन गराउन चासो नदेखाएपछि ती भ्रातृसंस्थाहरु यस्तो हालतमा पुगेका हुन् ।
वर्षौंदेखि महाधिवेशन हुन नसकेका भ्रातृसंस्थाको मुल पार्टी कांग्रेस त्यहि पार्टी हो जसलाई मुलुककै पुरानो लोकतान्त्रिक पार्टी समेत भनिन्छ । यतिमात्र होइन, उसले आफूलाई प्रजातन्त्रको पर्यायवाची दाबी गर्न पनि चुक्दैन । दाबी गर्दै आएको छ । तर व्यबहारमा हेर्दा भ्रातृसंस्थाको लथालिंग अवस्थाले उसको दाबी क्रमशः कमजोर हँुदै गएको त होइन भन्ने प्रश्न पनि संगै खडा भएको छ । जबकि कम्युनिष्ट पार्टीका भ्रातृसंस्थाले महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका छन् । पछिल्लो एक महिनाभित्रै एमालेको भ्रातृसंस्था युवा संघ र अनेरास्ववियूले महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका छन् । र त्यो पनि टीका लगाएर होइन, महाधिबेशन प्रतिनिधिहरु लाइनमा बसेर भोट हालेर नेतृत्व चयन गरेका हुन् ।

चुनाबदेखि डराउने कम्युनिष्ट पार्टीका भ्रातृसंस्थामा मतदानबाट नेतृत्व चयन गरिने अनि कांग्रेसमा किन भ्रातृसंस्थाहरुको महाधिवेशन हुन सकेको छैन त ? यसका पछाडिका कारणहरु के के छन् र त्यसलाई पार्टीभित्रबाट क कसले मलजल गराइरहेका छन् ? पहिलो कुरा, अहिलेसम्मका गतिविधि हेर्दा पार्टी नेतृत्व नै सकेसम्म महाधिबेशन टार्न चाहिरहेको देखिन्छ । किनभने महाधिवेशनबाट नेतृत्व चयन भएर आउँदा आफू अनुकुलको नेतृत्व आउने होइन कि भन्ने चिन्ता नेतृत्वमा देखिन्छ । त्यसो हुँदा पार्टी नेतृत्वमा बरु टीका लगाएर छान्दा नेतृत्वमा आउनेहरु सधैं आफूप्रति बफादार भइरहन्छन् भन्ने मानसिकताले काम गरेको प्रष्ट बुझ्न सकिन्छ । अर्कातिर, पार्टी नेतृत्वको चाकडी र चाप्लुसी गरेको भरमा भ्रातृसंस्थाको नेतृत्व हात पार्न सकिने भएपछि संगठन बिस्तार भन्दा पनि पार्टी नेतृत्वलाई कसरी खुसी बनाउन सकिन्छ भन्नेतिर भ्रातृसंस्थाका अगुवाहरुको चासो देखियो । यसो हुँदा संगठन बिस्तारको काम पुरै ओझेलमा पर्न गएको छ । जसले गर्दा सदस्यहरुमा कुनै किसिमको न उत्साह छ, न त नयाँ काम गर्नका लागि जोस र जाँगर नै छ ।

हुँदाहुँदा भ्रातृसंस्थाहरु कुन हालतमा पुगेका छन् भने माउ पार्टी कांग्रेसका बिभिन्न गुटका नेताहरुलाई खुसी बनाउने नाममा तिनको सिफारिसमा बिधि र पद्धतिलाई लत्याएर मनपरी ढंगबाट नियुक्त गरिएको छ । नेविसंघको केन्द्रीय समितिको आकार ८ सय भन्दा बढीको हुनु पछाडिको कारण पनि यहि हो । हिजोका दिनमा हुने केन्द्रीय समितिको आकार भन्दा ठूलो त अहिले पदाधिकारीको छ । मनपरी ढंगबाट लेटरप्याडमा नियुक्तिको सिफारिस गरेर जम्बो केन्द्रीय समिति गठन गर्नुमा पार्टी नेतृत्व र केन्द्रीय समितिले गर्ब महशुस गर्ने गरेका छन् । जसको परिणाम जम्बो केन्द्रीय समितिको बैठक एक पटक पनि बस्न नसक्ने अवस्था भएको छ । कतिसम्म भने केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुबीच परिचय गर्नुपर्ने अवस्था छ । तल्लो तहमा कुनै पनि भ्रातृसंस्थाका गतिविधि पुग्न सकेको छैन ।

भ्रातृसंस्थाहरु चलायमान हुन नसक्दा कांग्रेसको सिंगो पार्टी संगठन दिनप्रतिदिन कमजोर हुन पुगेको छ । यस्तोे बेलामा पार्टी नेतृत्वको ध्यान भ्रातृसंस्थाको महाधिवेशन समयमै गराएर संगठनलाई चलायमान बनाउनेमा केन्द्रित हुनुपर्ने थियो । तर उनीहरु यो विषयमा आँखा चिम्लेर बसेका छन् । त्यसको असर सिंगो कांग्रेसको संगठनमा देखिएको छ ।
त्यसकारण सिंगो पार्टी संगठनलाई चलायमान र बलियो बनाउनका लागि डेट एक्स्पायर भएका भ्रातृसंस्थाको म्याद थप्ने काम गर्नु हुदैन । कांग्रेसको आसन्न केन्द्रीय कार्य समितिको बैठकले त्यस्ता सबै भ्रातृसंस्थाको महाधिवेशन गर्नका लागि एउटा समयसीमा तोक्नुपर्छ । हुन त यसअघि बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि अधिकांश सदस्यहरुले यति लामो समयसम्म महाधिवेशन गर्न नसक्ने सबै भ्रातृसंस्थाको तदर्थ समिति बिघटन गर्नु पर्ने पक्षमा राय दिएका थिए । उनीहरुले यतिका वर्षसम्म पनि महाधिवेशन गर्न चासो नदेखाउनेलाई पुनः जिम्मेवारी सुम्पनु भनेको संस्थालाई थप कमजोर बनाउनु हो भन्ने धारणा व्यक्त गरेका थिए । हुन पनि महाधिवेशन गर्ने दायित्व बोकेर आएका अहिलेको नेतृत्व महाधिबेशन गर्नका लागि पूर्णतः अक्षम भइसकेको सन्दर्भमा पुनः महाधिवेशन गर्ने जिम्मेवारी दिनु भनेको फेरी पनि महाधिवेशन टार्ने मेसो मात्र हुनेछ ।

त्यसैले केन्द्रीय समितिले ढिलोमा कात्तिक मसान्तसम्मको समयसीमा दिएर हरेक भ्रातृसंस्थाको सानो आकारको तदर्थ समिति गठन गर्ने निर्णय गर्नुपर्छ । र त्यस्तो समितिको एकमात्र जिम्मेवारी समयमा महाधिबेशन गराउनु मात्र हुनेछ । त्यसबाहेक समितिलाई कुनै पनि जिम्मेवारी दिनु हुदैन । यसरी बढीमा तीन महिनाको समयसीमा तोकेर महाधिवेशन गर्ने जिम्मेवारी दिनुपर्छ । यसबाट मात्र भ्रातृ संगठनहरुले लय समात्न सक्छन्, होइन भने म्याद थप्दै जाँदा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन, पार्टीको महाधिवेशन लगायतका बहानामा फेरी पनि महाधिवेशन हुन सक्दैन । जसको परिणामा संगठनमा टीकेप्रथाले फेरी पनि निरन्तरता पाउने छ । कांग्रेस जस्तो आफूलाई लोकतन्त्रको पर्याय ठान्ने दलको नेतृत्व टीकेप्रथाबाट होइन, महाधिवेशनबाट नेतृत्व चयन हुनुपर्दछ । चाडकीर चाप्लुसीले गर्दा सिंगो पार्टीनै बद्नाम भइरहेको छ । टिकेको नेतृत्वले कुनै पनि पुर्नउत्थानवादी शक्तिलाई परास्त गर्न सक्दैन । (नयाँ विकल्प साप्ताहिकबाट साभार)

सम्बन्धित समाचार

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ साना बचतकर्ताले पाए बचत फिर्ता
समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ साना बचतकर्ताले पाए बचत फिर्ता
  • २०८२ असार १०, १५: ०८

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्न थालेको छ।...

आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
  • २०८२ असार १०, १५: ०८

काठमाडौं : इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष...

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याब नियुक्त, सरकारका अन्य निर्णय के-के ?
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याब नियुक्त, सरकारका अन्य निर्णय के-के ?
  • २०८२ असार १०, १५: ०८

काठमाडौं : सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्याबलाई नियुक्त...