ठूला दहलहरुमा उम्मेदवार छनौटपछि पार्टी भित्र बबाल – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

ठूला दहलहरुमा उम्मेदवार छनौटपछि पार्टी भित्र बबाल

राष्ट्रियसभाको गरिमा जोगाउन दलहरु चुके

काठमाडौं । नेपालको संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक संघीय व्यवस्थापिका संसदको व्यवस्था गरेको छ । जसअनुसार प्रतिनिधिसभा सम्पन्न भईसकेको छ भने राष्ट्रियसभा यही माघ २४ गते हुन गईरहेको छ ।

राष्ट्रियसभाका लागि दलहरुले उम्मेदवार छनोट गरेर उम्मेदवारको मनोनयन दर्ता समेत भईसकेको छ । तर राष्ट्रियसभामा चयन भएका उम्मेदवारहरु त्यसका लागि योग्य छन् वा छैनन् भन्ने यो छुट्टै विषय हो ।

किनकी नेपालको संविधानको धारा ८६ मा राष्ट्रियसभामा कतिजना सदस्य रहन्छन् भन्ने कुरा मात्र उल्लेख गरेको छ र कस्ता व्यक्तिहरुलाई राष्ट्रियसभामा लगिनेछ भन्ने स्पष्ट लेखिएको छैन ।

धारा ८७ मा राष्ट्रियसभाका सदस्यहरुको योग्यतामा नेपाली नागरिक भएको, ३५ वर्ष पुगेको, नैतिक पतन देखिने फौजदारी अपराधमा सजायँ नपाएको, संघीय कानूनले अयोग्य नठहरिएको र लाभको पदमा नरहेको हुनुपर्ने भनिएको छ । सामान्यत बाहेक यस्तै व्यक्ति हुनुपर्छ भनेर संविधानमा विशेष मापदण्ड नबनाएको कारण दलहरुले उम्मेदवार चयनमा गुणात्मकता भन्दा पनि भागबण्डालाई जोड दिएको पाईन्छ ।

यसबाट दलहरुले राष्ट्रियसभाको गरिमालाई बढाउनुभन्दा पनि कर्मकाण्डी पुरा गरेर आफ्नो स्वार्थ लादिएको देखिएको छ । यो एक स्थायी सदन हो । ५९ जना सदस्य रहने राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाका सदस्यहरूको पदावधि ६ वर्षको भए ता पनि पहिलो राष्ट्रियसभाका लागि निर्वाचित सबै सदस्यले ६ वर्ष निरन्तर सदस्य बन्न पाउने छैनन् । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि दुई वर्षमा समाप्त हुने छ ।

दलहरुले राष्ट्रियसभाको उम्मेदवार चयन गर्दा दबाब, प्रभाव र भागबण्डको आधारमा गरेको भन्दै तिव्र विरोध भईरहेको छ । यस विषयलाई लिएर एमाले भित्रको आन्तरिक कलह सतहमा आएको छ भने पार्टी नेतृत्वले आफन्त, आसेपासे, पैसावाला र चुनाव हारेकाहरुलाई राष्ट्रियसभाको उम्मेदवार बनाएको भन्दै एमालेका प्रभावशाली नेताहरुवीच भनाभनको अवस्था सृजना भएको छ । कार्यकर्ता देखि केन्द्रिय नेतासम्म विशेष गरी कोमल वलीको विषयलाई लिएर एमालेभित्र असन्तुष्ट बढेको हो ।

चुनावअघि एमाले प्रवेश गरेकी लोक गायिका कोमल वलीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने विषयमा एमाले उपमहासचि विष्णु पौडेल र सचिव योगेश भट्टराईबीच भनाभन भएको छ  । उपमहासचिव घनश्याम भुसाल र योगेश भट्राईले कोमल ओलीलाई उमेदवार बनाएको विषयमा नोट अफ डिसेन्ट लेखेका थिए । उनीहरुले नोट अफ डिसेन्ट लेखेसँगै पौडेल जंगिन पुगेका थिए ।

पौडेल जंगिँदा भुसालले कुनै प्रतिक्रिया नजनाएपनि भट्टराईले भने जवाफ फर्काएपछि भनाभन भएको हो । राष्ट्रियसभा जस्तो गरिमामय ठाँउमा येग्यता भन्दा पनि भागबण्डमा उम्मेदवार बनाएको विषयले एमालेभित्र राजनीतिमा तनाब सृजना भएको छ । चर्चित र प्रभावशाली नेता भएर पनि ठाकुर गैरेले टिकट नपाएको भन्दै कार्यकर्ताले पार्टी भित्र बबाल मच्चाएका छन् ।

तर, वलीलाई राष्ट्रियसभाको उम्मेदवार बनाएसँगै एमाले अध्यक्ष केपी ओलीको पार्टी भित्र व्यापक आलोचना शुरु भएको छ । त्यस्तै, माओवादी केन्द्रमा पनि टिकटको विषयलाई लिएर अन्तरविरोध भईरहेको छ । दश वर्षे जनयुद्ध लडेर आएका माओवादीले जनयुद्धमा सहिद भएकाहरुको भावनलाई समेट्न नसकेको भन्दै कार्यकर्ता आक्रोसित र निराश भएका छन् ।

संकटकालमा दुई छोराको मृत्यु भएकी झापाकी चन्द्रकुमारी बस्नेतलाई पार्टीले राष्ट्रियसभाका लागि सिफारिस गरेको थियो । तर अन्तिम समयमा आएर उनको नाम नेतापत्नीका कारण काटिएको छ । मोरङका पूर्वसभासद समेत रहेका शावित्रीकुमार काफ्लेले शहीदकी आमाको नाम हटाएर आफ्नी श्रीमतीलाई राष्ट्रियसभाको उम्मदेवार बनाएका हुन् । काफ्लेले प्रचण्डलाई प्रभाव र दबावमा पारेर आफ्नी श्रीमतीलाई राष्ट्रियसभाका उम्मेदवार बनाउन सफल भएका छन् ।

यता राष्ट्रियसभा उम्मेदवार चयन लगतै ट्वीट गर्दे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली राजनीति यतिबेला धन्दावालहरुको पकडमा पुगेको प्रतिक्रिया दिएका छन् । नेता श्रेष्ठले राजनीतिलाई व्यवसाय ठान्ने धन्दावालहरुको पकड बलियो बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

यसैगरी नेपाली कांग्रेसभित्र पनि गुटउपगुट र नेताका खल्तिबाट राष्ट्रियसभामा उम्मेदवार चयन गरेपछि कार्यकर्तामा निराशा छाएको छ । स्थानीय निर्वाचन देखि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्म टिकट वितरण गर्दा कांग्रेस यतिखेर नराम्ररी पछारिएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा टिकट वितरणमा व्यापक भागबण्ड, डनवाद, धनवाद र आफन्तवादले प्रश्राय पाएको भन्दै कार्यकर्ताले केन्द्रिय नेतृत्वको व्यापक आलोचना गरिरहेका छन् । उनीहरुले महासमितिको बैठक बोलाउन माग समेत गरेका छन् ।

त्यति हुँदाहुदै पनि कांग्रेसको संसदीय बोर्ड विधान विपरित २५ जना रहेको समिति बनाएर टिकट वितरण गर्दा कार्यकर्ता व्यापक आक्रोशित भएका थिए । कार्यकर्ताबीच व्यापक असन्तुष्टिका कारण दर्जनौ निर्वाचन क्षेत्रहरुमा झिनो मतले निर्वाचन हारेको तथ्य सार्वजनिक भईरहँदा पनि कांग्रेस भित्र अझै चेत नखुलेको नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभा दलहरुको प्रतिनिधित्व गर्ने थलो हो । तर राष्ट्रियसभामा दलहरुको मात्र प्रतिनिधित्व हुन नहुने प्रवुद्ध व्यक्तिहरुको भनाई छ । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका, समाजका विषयमा अध्ययन गरेका लब्धप्रतिष्ठित व्यक्तिहरुको आवश्यकता हुन्छ राष्ट्रियसभामा ।

राष्ट्रियसभा बुढापाका नेता र आसेपासे कार्यकर्तालाई थुपार्ने ठाँउ नभई राष्ट्रकै अनुहार दिनुपर्ने ठाँउ भएकाले यसमा समाजलाई बुझेका र बौद्धिक व्यक्तित्वहरुको प्रतिनिधित्व आवश्यक पर्ने स्थान भएको बुद्धिजीविहरु बताउँछन् । तर राजनीतिक दलहरुले उम्मेदवार चयन गर्न विभिन्न मापदण्ड बनाएपनि उनीहरुले संविधानको भावनाविपरीत काम गरेको र यसले राष्ट्रियसभाको गरिमा उचो राख्न नसक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

दलहरुले आवश्यक र मापदण्ड अनुसार उम्मेदवार चयन गर्नु भन्दा पनि अघिल्लो निर्वाचनमा उम्मेदवार हुन छुटेका नेता–कार्यकर्ताहरुको व्यवस्थापन गर्ने रुपमा उम्मेदवार चयन गरेका छन् । देशलाई संकट परेका बेला निकास दिने काम गर्न सक्ने हैसियत राख्ने राष्ट्रियसभामा गुट र उपगुटको भागबण्डाको आधारमा उम्मेदवार चयन गर्नुले कालान्तरमा दीर्घकालिन असर पर्ने देखिन्छ ।

देशलाई अप्ठ्यारो परेका बेला चाहिने सभा भएकाले यसको गठनमा दलीय स्वार्थ पटकै हुनु हुदैन । मुलुकलाई संकट परेका बेला छलफल र बहस गरी निकास दिन सक्ने समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका ख्यातिप्राप्त व्यक्ति, विधि र कानुन जानेका प्रबुद्ध व्यक्तिको थलोको रुपमा विकास गर्नुपर्ने राष्ट्रियसभालाई दलहरुले प्रतिनिधिसभामा टिकट नपाएका र चुनाव हारेका कार्यकर्तालाई ‘सेटल’ गर्ने रूपमा प्रयोग गरेर राष्ट्रिय बेइजती कमाएका छन् ।

प्रतिनिधिसभाले पारित गरेका विधेयकमाथि पनि राष्ट्रियसभाले अध्ययन गरी पुन प्रतिनिधिसभालाई सुझाव दिन सक्ने छ । त्यसकारण व्यक्तिगत स्वार्थ र प्रवाभमा नपरी दलहरूले उम्मेदवार चयन गर्नु पर्नेथ्यो तर यसमा दलहरु चुकेको विश्लेषण हुन थालेको छ । जसरी दलहरुले भाग मिलाउने थलोको रुपमा राष्ट्रियसभालाई लिएका छन् यसले नेपाली राजनीतिलाई झनझन धमिलो बनाएका छन् ।

राष्ट्रियसभामा राष्ट्रिय रुपमै चिनिएका, सामाजिक, राजनीतिक, आर्थिक लगायत विविध विषयमा निखारीएका प्रवुद्ध व्यक्तिहरुको आवश्यक हुने भएपनि दलहरुको परिवारमोह र प्रभावमा परेर गरेका उम्मेदवार चयनले राष्ट्रियरुपमै चर्चा पाएको छ । राष्ट्रियसभा भनेको स्थायी संसद हो र यो संसदीय व्यवस्थाको गहना हो । राष्ट्रियसभाको सबैभन्दा ठूलो सौन्दर्य भनेको राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका र ख्याती कमाएका प्रवुद्ध प्रतिभा भएकाहरु बस्ने ठाउ हो । यसले प्रतिनिधिसभामा छुटेका वर्ग र समुदायहरुलाई राष्ट्र निर्माणमा समेट्ने लक्ष्य लिएको हुन्छ ।

तर राजनीतिक दलहरुले कोटालाई गणितीय रुपमा पूरा त गरेका छन् तर त्यसमा पनि प्रतिभावान र ख्यातिप्राप्त व्यक्तिहरुलाई खासै समेटिएको पाईदैन । संसदीय मूल्य मान्यता अनुसारको राष्ट्रियसभा बनाउनु भन्दा पनि कतिपय नेताहरुले श्रीमतीहरुलाई जागिर खुवाउने अड्डाका रुपमा प्रयोग गर्न खोजेका छन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७४ माघ १५, ०९: १९

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७४ माघ १५, ०९: १९

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७४ माघ १५, ०९: १९

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...