देउवा, ओली र दाहालको बहिर्गमन – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper
जेनजी आन्दोलनपछि मुलुक शान्तिको राजनीतिक निकास

देउवा, ओली र दाहालको बहिर्गमन

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी प्रदर्शनपछि नेपाली राजनीतिमा जबर्जस्त रुपमा एउटा मुद्धा स्थापित हुन पुगेको छ । त्यो भनेको पुराना पुस्ताका नेताहरुलाई सम्मानपूर्वक बिदाई गर्ने हो । पुराना पुस्ताका पनि खासगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सक्रिय राजनीतिबाट स्वेच्छिक रुपमा अबकाश लिन आग्रह गर्ने र त्यस्तो आग्रह नमानेमा बिधिसम्मत रुपमा अवकाश दिलाउने । यो कुरा किन पनि जबर्जस्त रुपमा आम रुपमा उठेको हो भने पछिल्लो तीन दुई दशक यता नेपाली राजनीतिमा देउवा, ओली र दाहाल निर्विकल्प नेताका रुपमा रहदै आए । सत्ताको साँचो यिनै तीन नेताका वरिपरी घुमिरह्यो । प्रधानमन्त्रीका रुपमा देउवा, ओली अनि दाहाल । दाहालपछि पुनः ओली अनि देउवा । अर्थात् प्रधानमन्त्री पद म्यूजिकल चेयर जस्तो भयो । नेपाली राजनीतिमा यी तीन जना नेता बाहेक प्रधानमन्त्रीका लागि अरु कोही पनि योग्य छैन जस्तो भाष्य निर्माण गरियो ।

जबकि यी तीन जना नेताले पालैपालो सरकारको नेतृत्व संहालेका बेला पनि नेपाली समाजले क्या गज्जबको काम भयो अथवा क्या गज्जबको नीति बनायो भनेर प्रशंसा गर्न लायक कुनै काम भएका छैनन् । बरु त्यस बिपरित तीनै जनाको सरकारका पालामा अनेक काण्डहरु भएका छन् । जसले गर्दा सिंगो नेपाली समाजले बिश्वसामु शीर निहुराउने काम गराएको छ । उदाहरणका लागि भुटानी शरणार्थी प्रकरणलाई हेर्न सकिन्छ । अकुत पैसा असुल्ने नाममा नक्कली भुटानी शरणार्थी खडा गरिएको घटना त्यति पुरानो भइसकेको छैन । ललिता निवासको जग्गा प्रकरण होस् या छापामारका नाममा भएको लुट प्रकरण होस् । यिनै तीन जना पूर्व प्रधानमन्त्री प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न छन् । कहिंकतै रोजगारीको कुनै अवसर आउँदा आसेपासे बाहेक अरु योग्य र क्षमतावानलाई ढोका बन्द गर्ने काम यिनीहरुले नै गरेका हुन् । यसो हुँदा पढालेखा युवापुस्तामा निराशा छाएको छ । देशमा व्याप्त यो किसिमको राजनीतिक अवस्थाबाट दिक्क हुँदै आएका युवाहरु अध्ययन वा रोजगारीका नाममा बिदेश पलायन हुने क्रम बढ्दो छ । जसले गर्दा युवापुस्तामा यस्तो भाष्य निर्माण हुदैछ कि नेपालमा बसेर केही पनि हुदैन, सुरक्षित भविश्यका लागि मुलुक बाहिर जानैपर्छ ।

यो किसिमको उकुसमुकुको वातावरणबाट छट्पटिएर बसेको नेपाली समाजलाई उन्मुक्ति दिनका लागि जेनजीका नाममा भएको आन्दोलनको मुख्य एजेण्डा थियो, भ्रष्टाचारको अत्य र सुशासनको प्रत्याभूति अनि पुराना पुस्तालाई राजनीतिबाट अवकाश । यो आन्दोलनका क्रममा राजनीतिक दलका कार्यालयमात्र होइन, नेताका घरमासमेत तोडफोड, लुटपाट र आगजनीका घटना भए । कांग्रेस सभापति देउवामाथि त आफ्नै निवास बुढानीलकण्ठमा निर्घात कुटपिट नै भयो । उपचारका लागि अस्पताल भर्ना भएर करिब एक महिनापछि कांग्रेसको भग्नाबशेष कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा उपस्थित भएर सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
देउवा जस्तै माओवादी केन्द्रका अध्यक्ष दाहालमाथि पनि नेतृत्व हस्तान्तरणका लागि पार्टीभित्रैबाट दबाब बढेको भएता पनि दाहालले तत्काल नेतृत्व हस्तान्तरण नगर्ने संकेत गरेका छन् । जबकि युद्धकालदेखि अहिलेसम्म पनि माओवादीमा दाहाल निर्बिकल्प अध्यक्ष रहेका छन् । दाहालले बिशेष अधिवेशन गर्ने प्रस्ताव गरेको भए पनि त्यतिबेलासम्म आफैं संयोजक हुने प्रस्ताव पारित गराएका छन् । यसबाट पनि प्रष्ट हुन्छ उनी सहजै पार्टीको नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छैनन् ।

जेन जी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष ओलीले कात्तिक पहिलो साता सम्पादकहरुसंगको भेटमा एमालेभित्र आफ्नो अपरिहार्यताको दाबी गर्ने कोसिस गरे । ‘अहिले उपयुक्त क्याप्टेन केपी शर्मा ओली नै हो भन्ने एमालेभित्रको माग छ,’ ओलीले थपे, ‘एमालेको नेतृत्व तपाईं सम्पादकहरूले छान्ने हो भने त पोहोर–परारै अर्कै नेतालाई अध्यक्ष बनाइसक्नुहुन्थ्यो ।’ देउवा उपचारका लागि विदेश जानुपर्ने भएकाले नेतृत्व छाडेको उल्लेख गर्दै आफू स्वस्थ नै रहेको र अझै पाँच फिट अग्ला पोथ्रा नाघ्न सक्ने दाबी गरे । अमेरिका, चीन, रुस, भारत लगायतका मुलुकमा आफूभन्दा बढी उमेरका नेताहरू सरकारको नेतृत्वमा रहेको सुनाएर ओलीले आफू पनि नेतृत्वका लागि ‘ठीकठाक’ रहेको बताएनन् मात्र, आफू विश्वका ती नेताहरूको हाराहारीकै व्यक्तित्व रहेको सन्देश पनि दिन खोजे ।

‘अमेरिकामा ८० हाराहारीको (राष्ट्रपति डोनल्ड ट्रम्प), बंगलादेशमा ८६ हाराहारी (अन्तरिम सरकार प्रमुख मुहम्मद युनुस), भारतमा ७६ (प्रधानमन्त्री नरेन्द्र मोदी) छन्,’ ओलीले थपे, ‘चीनमा (राष्ट्रपति सी चिनफिङ) म भन्दा डेढ वर्ष कम उमेरका छन्, रुसजस्तो देशमा पनि मभन्दा सात महिना कान्छो व्यक्ति राष्ट्रपति छन् । चीनमा तेस्रो कार्यकालका लागि राष्ट्रपति छन् र राष्ट्रपति छँदै उनी (चिनफिङ) पनि मेरो अहिलेकै उमेरमा पुगेको तपाईंहरूले देख्न पाउनुहुन्छ ।’ ओलीको दाबी थियो, ‘मसँग काम गरेको अनुभव छ, काम गर्न सक्ने योग्यता र क्षमता पनि देख्छु । तर, म अध्यक्ष भएकोमा सम्पादकहरूको पो टाउको दुखेको देख्दैछु ।’ यसबाट पनि प्रष्ट हुन्छ कि पार्टीभित्रैबाट राजीनामा गर्ने चर्को दबाब भए पनि त्यसलाई अस्वीकार गर्दै ओलीले महाधिवेशन फेस गर्ने संकेत गरेका छन् । यद्यपि राजनीति वृत्तमा बिसौं वर्षदेखि एकछत्र राज गरेका तीन ठूला दलका तीन शीर्ष नेताको बहिर्गनमले मात्रै मुलुकमा शान्ति स्थापना कायम हुने र युवामा ठूला दलको बर्चश्व रहँदै जाने देखिन्छ । अन्यथा तीन नेताका कारण पार्टीपार्टीभित्र र बाहिर समेत राजनीतिप्रति झन् वितृष्णा बढ्दै जाने देखिन्छ । (नयाँ विकल्प साप्ताहिकबाट)

सम्बन्धित समाचार

इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
इतिहासको समीक्षा गर्दै नयाँ संकल्पका साथ अघि बढ्न प्रचण्डको आह्वान
  • २०८२ कार्तिक १०, १६: २६

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै इतिहासबाट...

नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
  • २०८२ कार्तिक १०, १६: २६

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मोरक्को अधिराज्यका नेपालका गैरआवासीय राजदूत मोहम्मद मलिकीबीच द्विपक्षीय सम्बन्ध तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका...

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग
  • २०८२ कार्तिक १०, १६: २६

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन...