नेतृत्व लिन यी तीन नेताको यस्ताे छ रणनीति ! – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper
कांग्रेस १४ औं महाधिवेशन

नेतृत्व लिन यी तीन नेताको यस्ताे छ रणनीति !


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन कोभिड–१९ को महामारीले असर नगरे आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा पार्टीले आगामी दिनमा देश, जनता र पार्टी कार्यकर्ताको लागि कस्तो नीति ल्याउनुपर्छ भन्दा पनि कुन नेतृत्व ल्याउनु पर्छ भन्ने विषयमा बहस भइरहेको छ ।

महाधिवेशनले देशका समस्यालाई सम्बोधन गर्दै समुन्नतिका लागि कस्तो नीति भन्ने विषयमा कहीँ कतै पनि बहस, छलफल भएको छैन । तर महाधिवेशनले कुन गुट वा समूहबाट को सभापति, पदाधिकारी वा नेतृत्वमा पुग्ने भन्ने विषयमा जोड घटाउ र रस्साकस्सी तिब्र भएको छ ।

पार्टी नेतृत्वको लागि अघिल्लो महाधिवेशनमै प्रतिष्पर्धामा उत्रिएका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुन उम्मेदवारीको तयारीमा छन् । तीनै जना नेताहरु सभापतिको प्रतिष्पर्धामा उत्रने जति तयारी छ, त्यति नै उनीहरुको समूहमा नेतृत्व हस्तान्तरणको दबाब छ ।

तीन नेता देउवा, पौडेल र सिटौलाको भूमिका पछिल्लो १५ बर्षमा पार्टीको केन्द्रीय तहमा निर्णायक जस्तै छ । सात दशक उमेर काटेका यि नेताले पार्टी, देश र जनताका सामू देखिएका जटिल र गहन चुनौतिलाई मुकाविला गर्न कठिन हुने तर्क उनीहरुकै गुटभित्रबाट उठ्न थालेको छ ।

यी पुराना र अनुभवी नेताले भने उमेरकै कारण नेतृत्व पुस्तान्तरण सजिलै गर्ने पक्षमा छैनन् । तर यी नेतालाइ दोश्रो पुस्ताका नेताहरुले गतिलै दबाब दिएका छन् ।

देउवा, पौडेल र सिटौलालाई अभिभावक भएर बस्न र पार्टी नेतृत्व दोश्रो पुस्तामा हस्तान्तरणको लागि अन्य प्रभावशाली नेताहरुले दबाब दिइरहका छन् । यसरी दबाब दिने तीन नेताहरु आगामी महाधिवेशनमा नेतृत्वमा पुग्नका लागि अनेक रणनीति, योजना र अभियानमा क्रियाशिल छन् ।

आगामी महाधिवेशनमा पार्टी नेतृत्व लिन उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आ –आफ्नो रणनीति तय गरेका छन् ।

डा. शशांक, प्रकाशमान र विमलेन्द्रका अतिरिक्त केन्द्रीय सदस्य डा. शेखर कोइराला, पूर्वअर्थमन्त्री डा. रामशरण महत, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र युवा नेता गगन थापाले समेत नेतृत्वको दाबा गरिरहेका छन् ।

नेतृत्व लिएरै छाड्ने दाउमा देउवा, पौडेल, सिटौला, विमलेन्द्र, डा. शशांक, प्रकाशमान र डा. शेखर लागि परेका छन् । यी चारै नेताको प्रभाव र लोकप्रियता भूगोल, समुदाय र संगठन विशेषमा सुरक्षित पनि छ ।

चार नेतामध्य विमलेन्द्र, डा. शशांक र प्रकाशमानले भने आफ्नो गुट, समूह र समर्थकको परिचालन गर्दै कार्यकर्तालाइ आ–आफ्नो पक्षमा जनमत पार्न दबाब श्रृजना गरिरहेका छन् ।

कांग्रेसका संस्थापक तथा बैचारिक नेता वीपी कोइरालाका कनिष्ठ पुत्र डा. शशांकले पुरानो संस्थापन पक्षका अधिकांस नेतालाई साथमा लिएर महधिवेशनमा आफ्नो नेतृत्व स्थापित गर्न जनमतको लागि दबाब र आकर्षण श्रृजना गर्न थालेका छन् ।

डा. शशांकले आफू सभापतिको उम्मेदवार भए सबैलाई हराउने दाबी गरिसकेका छन् । उनले पुरानो संस्थापन पक्षका नेता पौडेल र आफ्ना दाजु डा. शेखरलाई समेत समर्थन गर्न आग्रह गरिसकेका छन् । उनले अर्का नेता प्रकाशमान सिंहसँग पनि मिलेर, छलफल गरी सहमतिमा नेतृत्व लिने विषयमा प्रस्ताव गरिसकेका छन् ।

शसांकको लोकप्रियता र प्रभावका कारण नेता पौडेल समेत दबाबमा परेका छन् । पुरानो संस्थापन पक्षका नेताहरु पूर्वबाट डा. मिनेन्द्रप्रसाद रिजाल र डा. नारायण खड्का, सूदुरपश्चिमबाट दिलेन्द्रप्रसाद बढु, प्रदेश पाँचबाट केन्द्रीय सदस्य दिपक गिरी, गण्डकी प्रदेशबाट दिलबहादुर घर्ती तथा पूर्वसांसद दिपक खड्काले डा. शशांकको सचिवालय र मोर्चा सम्हाल्न थालेका छन् ।

सभापतिका अर्का आकांक्षी डा. शेखरले भने आफूले कुनै समूह वा टिम नबनाए पनि देशभरका कार्यकर्ताको मन जितेको कारण सभापतिमा उठ्ने दाबी गरिरहेका छन् ।

डा. शशांकलाई सभापति देउवाले समेत आफूबिरुद्ध उम्मेदवारी दिनुभन्दा मिलेर समूह बनाएर चुनाव लड्न वा सर्वसम्मतमा नेतृत्व चयन गर्न दबाब दिइरहेका छन् । तर उनले देउवाको प्रस्तावको कुनै जवाफ दिएका छैनन् ।

अर्का नेता विमलेन्द्र निधीले पनि आफू नेपाल विद्यार्थी संघको पूर्व अध्यक्षदेखि लिएर विभिन्न कालखण्डमा सरकारमा बसेको, पार्टीको केन्द्रीय सदस्यदेखि महामन्त्री हुँदै उपसभापतिसम्म बनेको, तराई मधेशमा जनमत भएको दाबी गर्दै सभापतिमा जित्ने रणनीति तय गरेका छन् ।

उनले आफू प्रत्यक्ष रुपमा सभापति देउवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्न नसके पनि संस्थापन पक्षकै नेता र कार्यकर्तामार्फत नेतृत्व दोश्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने भन्दै प्रचार र दबाबको अभियानमा छन् ।

निधीले सभापति देउवालाई अर्का प्रत्यासी डा. शशांकले चुनौति दिएमा इमेज कमजोर हुने भन्दै आफूलाई दिएमा शशांकसँग प्रतिष्पर्धा गर्ने बताएका छन् ।

निधीले आफूलाई सभापतिको लागि देउवाले समर्थन गरे नेतृत्व लिन सहज हुने भन्दै पाका र अनुभवी नेतालाई अभिभावक बन्नुपर्ने भन्दै घुमाउरो पारामा नेतृत्व हस्तान्तरणको दबाब दिइरहेका छन् । उनले अर्का नेता प्रकाशमान र सिटौलासँग सहमति गरेर नेतृत्वमा पुग्न सक्ने दाबी गरेका छन् ।
लौहपुरुष गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरु बीपी गणेशमान र महेन्द्रनारायण निधिको बिरासतलाई निरन्तरता दिन विमलेन्द्र र डा. शशांकलाई दबाब दिएका छन् ।

सिंहले नेतृत्वको विषयमा शशांक र विमलेन्द्र दुवैको मिलेर र सहमतिबाटै जाऔं भन्ने प्रस्तावको विषयमा स्पष्ट जवाफ दिएका छैनन् । सिंहले नेता पौडेलले आफूलाई समर्थन गर्ने विश्वासका साथ अर्का नेता डा. शशांकलाई उम्मेद्वारीको घोषणा गर्न हतार नगर्न भनेका छन् ।

पार्टीको जिल्ला सभापति हुँदै केन्द्रीय सदस्य, महामन्त्री र उपसभापति समेत भएका सिंहको लोकप्रियता र प्रभावका कारण पुरानो संस्थापन पक्षका केन्द्रीय सदस्य र केही जिल्ला सभापतिहरुले नेतृत्वको दाबी नछोड्न निरन्तर दबाब दिइरहेका छन् ।

सिंहले पुराना नेताहरुको विरासतलाई निरन्तरता दिन सहज र मान्य हुने प्रस्ताव आएमा छलफल गर्न सकिने भन्दै सभापतिको दाबी गर्ने डा. शशांक र निधिसँग खुल्ला रहेको उनी निकट एक केन्द्रीय सदस्यले बताए ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०७७ भाद्र २२, ११: ४३

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
  • २०७७ भाद्र २२, ११: ४३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०७७ भाद्र २२, ११: ४३

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...