‘गुट जोगाउने भेला’को सान्दर्भिकता समाप्त – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper
देउवा–खड्का–कोइराला समूहमा टाउकोमात्र थुप्रियो, कार्यकर्ता सबैले गरे सदस्यता अद्यावधिक, इतरपक्ष भित्र्याउन तेस्रेपटक समय थप

‘गुट जोगाउने भेला’को सान्दर्भिकता समाप्त

काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित भइरहेको शक्ति संघर्षले नयाँ मोड लिएको छ । विशेष महाधिवेशनमार्फत गगन थापा सभापतिमा चयन भएपछि पुरानो संस्थापन पक्ष ९शेरबहादुर देउवा समूह० ले पार्टीभित्र आफ्नो पकड बलियो बनाइ राख्न र संस्थापनमाथि आफू अनुकुलको निर्णय गर्न दबाब दिनकै लागि महाराजगञ्ज चुनदेवीमा कम्पाण्डसहितको घर भाडामा लिएको छ ।

१५औं महाधिवेशनको तयारीका लागि भेटघाट गर्न सजिलो होस् भनेर घर भाडामा लिएर कार्यालय संचालनमा ल्याइएको हो । आज सोमबारदेखि औपचारिक रुपमा कार्यालय शुभारम्भ गरेर त्यहिबाट सो समूहका नेताहरुले भेटघाट गर्ने बताएका छन् । यसअघि सो समूहले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गरेर आफ्नो समूहका सदस्यहरुलाई बिलचित नभई अघि बढ्न निर्देशन दिएको थियो ।

त्यस अघि र पछिका दिनमा पनि सो समूहले आन्तरिक बैठक र गुटगत भेलाहरूलाई तीव्रता दिदैं आएको छ । यसरी भेला गरेर सो समूहले शक्ति संचय गरेको दाबी गरेता पनि बदलिँदो राजनीतिक परिस्थिति, आम कार्यकर्ताको चाहना र पार्टी रूपान्तरणका लागि भइरहेको दबाबका कारण देउवा समूहका यस्ता परम्परागत भेलाहरू बिस्तारै अर्थहीन हुँदै गएका छन् । ती भेलाको औचित्य सकिदै गरेको राजनीतिक वृत्तमा विश्लेषण हुन थालेको छ ।

ती भेलाहरुमा पार्टीभित्र नीति, विचार र आगामी कार्यदिशाका बारेमा सार्थक बहस भएको पाइदैन । जसमा आफ्नो गुटको अस्तित्व कसरी कायमै राख्ने भन्नेमा त्यस्ता भेला केन्द्रित हुने गरेका छन् । संकुचित घेरामा मात्रै सीमित भएका सो समूहका नेताहरुले कार्यकर्तामा उत्साह भर्ने वा पार्टीलाई नयाँ ऊर्जा दिनेबारे कुनै ठोस योजना अघि सारेको पनि पाइएको छैन । यसो हुँदा ती भेलाहरू संस्थापन पक्षको बढ्दो प्रभाबबाट त्रसित भएर केवल आफ्नो समूहको अस्तित्व रक्षाका लागि चालिएका कदममा सीमित हुन पुगेका छन् ।
एक दशकसम्म लगातार पार्टीका हरेक संरचनामा एकछत्र राज गरेको देउवा समूह भदौं २३ र २४ गतेको जेन जी बिद्रोहपछि आन्तरिक रूपमा पनि कमजोर बनेको छ । पार्टीका सबै भ्रातृ संगठनमा आफ्नै हालीमुहाली गरेको सो समूहका नेताहरु अहिले आएर आफ्नो हात रित्तो भएपछि बल्ल ब्यूझिएका छन् । हिजो देउवा समूहका नाममा अनेक अवसर पाएका नेताहरु पनि पछिल्लो समय बिस्तारै देउवाको साथ छाडेर गगन समूहमा जोडिइसकेका छन् ।

कोशी प्रदेशका भीष्मराज आंदम्बेदेखि रामहरि खतिवडासम्म, मधेश प्रदेशका दिनेश यादव, अजय चौरसियादेखि रमेश रिजालसम्मले देउवा समूह छाडिसकेका छन् । यसैगरी, बागमती प्रदेशमा उदय शम्सेर राणादेखि उमेश श्रेष्ठसम्म, गण्डकीमा चिनकाजी श्रेष्ठदेखि अर्जुन जोशीसम्म, लुम्बिनीमा पुष्पा भुसालदेखि चन्द्र भण्डारी सम्मले देउवाको साथ छाडेका छन् । सुदरपश्चिममा सुशीला मिश्र भट्टदेखि जीवन रानासम्मले देउवा समूह छाडेर संस्थापनमा जिम्मेवारी लिइसकेका छन् ।

देशभरका नेता तथा कार्यकर्ताहरुको समर्थन र सहभागितामा सम्पन्न विशेष महाधिवेशनपछि सभापतिका हैसियतमा गगन थापाले पुरानो संस्थापनलाई मिलाएर अघि बढ्नका लागि औपचारिक तथा अनौपचारिक रुपमा पहल गरेका छन् । तर त्यसलाई पुरानो संस्थापन पक्षले सभापति थापाको कमजोरीका रुपमा बुझेको छ भने त्यो सो समूहका लागि नै दुर्भाग्यपूण हुने छ । हदैसम्म लचक हुँदा पनि संस्थापन इतर पक्ष एकताको पक्षमा देखिदैन भने अन्तिम बिकल्प भनेको भीरबाट लड्न खोजेको गाईलाई राम राम मात्र भन्न सकिन्छ, काँध थाप्न सकिदैन भन्ने नेपाली उखान जस्तै हुन्छ ।

इतिहासका कुरा गरेर र विगतको विरासतको आधारमा मात्रै कांग्रेसलाई जनतामाझ टिकाइराख्न सकिदैन । त्यसकारण समयको माग र कार्यकर्ताको चाहना तथा भावना अनुसार पार्टीमा आमूल सुधार गर्नु नेतृत्वको आजको प्रमुख दायित्व हुन आउँछ । देशभरका युवाहरु पनि यसैको पक्षमा छन् ।

आजको यो संवेदनशील घडीमा देउवा समूहले आफ्नो कमजोरी लुकाउन र आन्तरिक शक्ति प्रदर्शनका लागि गरिने छलफल र गुटगत भेलाहरुको अर्थ र औचित्य छैन । समयको मागलाई बुझ्न नसकी पुरानै ढर्रामा गरिने गुटगत भेलाको कार्यकर्ता तहमा पनि गतिलो सन्देश गएको छैन । यस्ता गतिविधिले देउवा समूहलाई झन् कमजोर र दिशाहीन बनाउने पक्का छ । (नयाँ विकल्प साप्ताहिकबाट)

 

 

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार २३, १६: ३४

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार २३, १६: ३४

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार २३, १६: ३४

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...