
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) र नैतिक शिक्षालाई समेटेर विद्यालय शिक्षालाई समयानुकूल बनाउनुपर्ने बताएका छन्। उनले श्री चक्रज्योति माध्यमिक विद्यालयलाई प्रदेश सरकारले प्राविधिक शिक्षाको नमुना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैंसेपाटीस्थित श्री चक्रज्योति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विद्यालयमा कक्षा ९ देखि १२ सम्म सञ्चालन भइरहेको प्राविधिक शिक्षालाई थप व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

उनले चालु आर्थिक वर्षमै विद्यालयमा सूचना प्रविधिसम्बन्धी प्रयोगशाला (आईसीटी ल्याब) लगायतका पूर्वाधारमा प्रदेश सरकारले लगानी गरिसकेको उल्लेख गर्दै आगामी आर्थिक वर्षका लागि १ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। आवश्यक परे थप पूर्वाधार निर्माणका लागि ठूलो बजेट व्यवस्थापन गर्न पनि प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो।
मुख्यमन्त्री बानियाँले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई जीवन उपयोगी र रोजगारीमुखी हुनुपर्नेमा जोड दिए। अहिलेको युग प्रविधि र एआईको भएको भन्दै उनले विद्यार्थीलाई आधुनिक प्रविधिसँग सक्षम बनाउनुका साथै त्यसको सही प्रयोग गर्न सिकाउनु आवश्यक रहेको बताए।

उनले एआईको दुरुपयोगबाट समाजमा भ्रम फैलाउने, व्यक्तिको प्रतिष्ठामा आँच पुर्याउने तथा सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह गर्ने गतिविधि बढ्दै गएको भन्दै विद्यार्थीलाई डिजिटल साक्षरतासँगै सत्य र असत्य छुट्याउन सक्ने क्षमता विकास गर्नुपर्ने धारणा राखे।
“प्रविधि मानवले निर्माण गरेको हो, त्यसैले त्यसलाई मानव हितमै प्रयोग गर्नुपर्छ,” उनले भने, “एआईको प्रयोग गरेर गलत सूचना फैलाउने र मानिसलाई भ्रममा पार्ने प्रवृत्तिबाट नयाँ पुस्ता सचेत हुनुपर्छ।”

मुख्यमन्त्री बानियाँले विद्यालय शिक्षामा नैतिक शिक्षाको महत्व झन् बढेको उल्लेख गर्दै विद्यालयमा दैनिक केही समय नैतिक शिक्षा अनिवार्य रूपमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए। आधुनिक प्रविधिको प्रयोगसँगै नेपाली समाजको संस्कार, संस्कृति, अनुशासन र पारिवारिक मूल्य पनि संरक्षण गर्नुपर्ने उनको भनाइ थियो।
“बिहान उठ्नेबित्तिकै मोबाइल हेर्ने संस्कृतिभन्दा पहिले अभिभावकलाई सम्मान गर्ने संस्कार विकास हुनुपर्छ,” उनले भने, “प्रविधिसँगै नैतिकता, अनुशासन र सामाजिक उत्तरदायित्व सिकाउने शिक्षा आजको आवश्यकता हो।”

कार्यक्रममा उनले विद्यालयलाई अनुशासित, गुणस्तरीय र आधुनिक प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले भौतिक पूर्वाधार, सूचना प्रविधि तथा अन्य आवश्यक क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री बानियाँले विद्यालय व्यवस्थापन तथा प्रदेश सरकारबीच सहकार्य गर्दै गरिब तथा सामान्य परिवारका विद्यार्थीले पनि गुणस्तरीय प्राविधिक शिक्षा सहज रूपमा प्राप्त गर्न सक्ने वातावरण निर्माण गरिने बताए।

उनले विद्यालयलाई बनेपामात्र नभई काभ्रेपलाञ्चोक र आसपासका जिल्लाका विद्यार्थीले रोज्ने उत्कृष्ट प्राविधिक शिक्षालयका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै शिक्षा प्रणालीलाई “मागी खाने होइन, गरिखाने” बनाउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रमको अन्त्यमा उनले विद्यालयको विकासमा प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता दोहोर्याउँदै शिक्षा क्षेत्रको सुधारमा सबै पक्ष एकताबद्ध भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए।

रोल्पा : थवाङ गाउँपालिका-५ कोट बारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक...
काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...
काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...