ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको सुशासनमाथि प्रश्न उठाउँदै तत्काल सुधारका कदम चाल्न माग गरेको छ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा जारी केन्द्रीय कार्यसमितिको बैठकले ग्यास आपूर्तिदेखि कृषि र बजार व्यवस्थापनसम्मका विषयमा सरकारको आलोचना गर्दै विभिन्न माग अघि सारेको हो।

कांग्रेसले करिब चार महिनाअघि मध्यपूर्वमा भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भएपछि नेपालमा ग्यासको अभाव हुन नदिन सिलिन्डरमा ७.१ किलो ग्यास भरेर बजार व्यवस्थापन गरिएको स्मरण गराएको छ।

तर अहिले पर्याप्त अध्ययन, स्टकको अवस्था, आयात क्षमता र बजारको आवश्यकताको मूल्यांकन नगरी सरकारले पुनः १४.२ किलो ग्यास भर्न निर्देशन दिएको कांग्रेसको आरोप छ। यस्तो निर्णयले बजारमा ग्यासको अभाव झनै बढेको भन्दै कांग्रेसले सरकारको निर्णयलाई ‘तदर्थवादी’ र ‘लोकरिझ्याइँमा आधारित’ भनेको छ।

कांग्रेसले ग्यासको आयात तत्काल दोब्बर बढाएर पर्याप्त भण्डारण सुनिश्चित गर्न, आपूर्ति सञ्जाल व्यवस्थित बनाउन र बजारमा खाना पकाउने ग्यासको सहज तथा निरन्तर उपलब्धता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

May be an image of one or more people and text

विद्युत् खपतमा लगाइएको अतिरिक्त कर हटाउन माग

कांग्रेसले ग्यासको विकल्पका रूपमा विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले विद्युत् खपतमा विभिन्न शीर्षकमा कर थपेर स्वच्छ ऊर्जाको प्रयोगलाई निरुत्साहित गरेको आरोप लगाएको छ।

विद्युत्को आन्तरिक खपत बढाउने नीति लिनुपर्ने भन्दै कांग्रेसले विद्युत् खपतमा लगाइएका अतिरिक्त कर हटाउन र इन्डक्सन चुलो लगायत विद्युतीय उपकरणमा उपभोक्तालाई पुनः सहुलियत दिन माग गरेको छ।

त्यसका साथै ग्यासलाई क्रमशः विस्थापन गर्ने स्पष्ट र दीर्घकालीन ऊर्जा नीति तत्काल लागू गर्न पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ।

May be an image of one or more people, dais and text

किसानको समस्याप्रति सरकारको ध्यानाकर्षण

कांग्रेसले रासायनिक मलको अभाव र कृषि उत्पादनको बजार व्यवस्थापनप्रति पनि सरकारको ध्यानाकर्षण गराएको छ।

मुख्य बाली लगाउने सिजनमै किसानले अनुदानको मल सहज रूपमा पाउन नसकेको र कालोबजारी तथा बिचौलियाको समस्या बढेको कांग्रेसको दाबी छ। मलको खोजीमा सीमावर्ती भारतीय बजारसम्म पुग्नुपर्ने अवस्था रहेको भन्दै उसले किसानले चर्को मूल्यमा मल खरिद गर्नुपरेको जनाएको छ।

कांग्रेसले किसानलाई समयमा नै अनुदानको रासायनिक मल उपलब्ध गराउन, कालोबजारी र बिचौलियाको अन्त्य गर्न तथा साना र मझौला किसानका उत्पादनले उचित बजार र समर्थित मूल्य पाउने व्यवस्था गर्न माग गरेको छ।

सीमावर्ती क्षेत्रमा किसानले भोग्दै आएको समस्याको दीर्घकालीन समाधान गर्न पनि सरकारसँग आग्रह गरिएको छ।

May be an image of dais and text

महँगी नियन्त्रणमा सरकार असफल

कांग्रेसले ग्यासको अभाव, विद्युत्मा कर वृद्धि र कमजोर आपूर्ति व्यवस्थापनका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढेको आरोप लगाएको छ।

सरकारले सुशासन, मूल्य नियन्त्रण र नागरिकका समस्या समाधान गर्ने भन्दै दिएका प्रतिबद्धता व्यवहारमा असफल भएको कांग्रेसको निष्कर्ष छ। उसले बजारमा अनियन्त्रित मूल्यवृद्धि रोक्न, आपूर्ति व्यवस्थालाई प्रभावकारी र पारदर्शी बनाउन तथा बजार अनुगमनलाई तीव्र पार्न माग गरेको छ।

आम नागरिक, किसान, मजदुर तथा विपन्न वर्गको जीविकोपार्जन सहज बनाउने गरी ठोस राहतका कार्यक्रम ल्याउनसमेत कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार २२ जना केन्द्रीय सदस्यले विभिन्न विषयमा धारणा राखेका छन्। बैठकमा राजीव कोइराला, भरतकुमार शाह, दिलकुमारी राई, शम्भुलाल श्रेष्ठ, रेशमबहादुर बानियाँ, जीतनारायण श्रेष्ठ, रमेश धमला, डा. केदारनरसिंह केसीलगायतले धारणा राखेका थिए।

त्यस्तै तीर्थजंग शाही, बजरंग नेपाली, उमा दाहाल, पवित्राकुमारी अर्याल, केशवराज शर्मा आचार्य, धर्मबहादुर दर्जी नेपाली, सूर्यबहादुर विक, दिनेश सुनार, उमा शिवाकोटी, बाला अधिकारी, सम्झना खत्री, रामरूपप्रसाद कुर्मी, नरेन्द्रप्रसाद भट्ट तथा केन्द्रीय सदस्य एवं मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले पनि बैठकमा धारणा व्यक्त गरेका छन्।

बैठकमा छलफल जारी रहेकाले केन्द्रीय कार्यसमितिको अर्को बैठक मंगलबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ।

May be an image of text

May be an image of map and text

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ श्रावण २५, १९: २७

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ श्रावण २५, १९: २७

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ श्रावण २५, १९: २७

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...