कांग्रेसले भन्यो- अर्थतन्त्रमा संकट गहिरिँदै, सरकारप्रति निजी क्षेत्रको अविश्वास बढ्यो – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

कांग्रेसले भन्यो- अर्थतन्त्रमा संकट गहिरिँदै, सरकारप्रति निजी क्षेत्रको अविश्वास बढ्यो

काठमाडौं : नेपाली कांग्रेसले वर्तमान सरकारको गलत दृष्टिकोण र नीतिका कारण निजी क्षेत्र पूर्ण रूपमा हतोत्साहित र त्रसित बनेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा साउन २४ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकले अर्थतन्त्र सुधारका लागि ठोस मागहरू प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा केन्द्रित विशेष अभियानको समेत घोषणा गरेको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ८१.५५ प्रतिशत, पूँजी निर्माणमा ७६.९ प्रतिशत र रोजगारीमा करिब ८६ प्रतिशत योगदान दिने निजी क्षेत्रलाई सरकारले नियन्त्रण र शंकाको नजरले हेरेको कांग्रेसको ठहर छ । नयाँ कम्पनी कानुनको मस्यौदामा व्यवसायीलाई थुनामा राख्ने कडा प्रावधानहरू ९ वटाबाट बढाएर ३१ वटा पुर्‍याउन लागिएको भन्दै कांग्रेसले सरकारको ‘पहिले थुन्ने, पछि सुन्ने’ नियन्त्रणमुखी रवैयाको कडा आलोचना गरेको छ [३]। हालै विराटनगरमा एक प्रतिष्ठित व्यवसायीमाथि गरिएको अकल्पनीय व्यवहारले सरकारको पूर्वाग्रह उजागर गरेको उल्लेख गर्दै कांग्रेसले कर्पोरेट तथा व्यावसायिक कानुनहरूको तत्काल वि-अपराधीकरण गर्न जोडदार माग गरेको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा खर्बौं रुपैयाँ लगानीयोग्य रकम (तरलता) थुप्रिए पनि र अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झर्दा पनि सरकारमाथिको अविश्वासका कारण कर्जाको माग नबढेको कांग्रेसको निष्कर्ष छ । राष्ट्र बैंकले ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेकोमा वास्तविक वृद्धि केवल ५ देखि ५.८ प्रतिशतमा सीमित हुनु सरकारको असफलताको प्रमाण भएको बैठकले औंल्याएको छ ।

यसैगरी, पछिल्लो समय प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ११ प्रतिशतले घटेको, पूँजीगत खर्च पछिल्लो ५ वर्षकै न्यून (४६.७९ प्रतिशत) मा सीमित रहेको र वाणिज्य बैंकहरूको औसत खराब कर्जा ५.६० प्रतिशत पुगेको तथ्य विज्ञप्तिमा समेटिएको छ । रुग्ण बनेको निर्माण क्षेत्रमा ८० देखि ९० प्रतिशत काम सकिएका आयोजनाहरूको ठेक्का पूर्वाग्रहपूर्ण ढंगले रद्द गरिएको भन्दै कांग्रेसले व्यवसायीहरूको भुक्तानी तत्काल गर्न माग गरेको छ ।

राजस्व चुहावट नियन्त्रणको नाममा सीमा क्षेत्रका साना व्यापारी र सर्वसाधारणलाई अनावश्यक सास्ती दिइएको तर सीमा क्षेत्रमै फस्टाइरहेको अवैध तस्करी रोक्न सरकार पूर्ण असफल भएको कांग्रेसको दाबी छ । यसले गर्दा स्वदेशी जुत्ता, डेरी र कपडा जस्ता उत्पादनमूलक उद्योगहरू संकटग्रस्त बनेको र पूँजी पलायनको जोखिम बढेको भन्दै कांग्रेसले स्वदेशी उद्योगहरूलाई नीतिगत राहत प्याकेज दिन माग गरेको छ ।

बैठककै अवसरमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै कांग्रेस सभापति गगनकुमार थापाले युवाहरूलाई सक्षम र आत्मनिर्भर उद्यमी बनाउन ‘बिआइयु’ अर्थात् ब्युल्ड इन्कुबेट एन्ड अपलिफ्ट अभियान घोषणा गरेका छन् । युवाहरूको क्षमतालाई सीप र अवसरसँग जोड्दै उनीहरूलाई दिगो उद्यमी बनाउने लक्ष्य यस अभियानले राखेको छ ।

ललितपुर जिल्लामा सुरु गरिने यो अभियानलाई क्रमशः हिमाल, पहाड र तराई-मधेसका जिल्लाहरूमा ‘बिरुवा’ (पाइलट प्रोजेक्ट) का रूपमा र पछि देशैभर ‘रुख’ का रूपमा दिगो हुने गरी विस्तार गरिने जनाइएको छ ।

पार्टीका प्रवक्ता देवराज चालीसेका अनुसार आजको बैठकमा महामन्त्री गुरुराज घिमिरे र बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँसहित २८ जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका छन् । छलफल नसकिएकाले केन्द्रीय कार्यसमितिको अर्को बैठक भोलि बिहान १२:३० बजे पुनः बस्नेछ ।

May be an image of text

May be an image of text

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ श्रावण २७, १९: २४

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ श्रावण २७, १९: २४

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ श्रावण २७, १९: २४

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...