
काठमाडौं : जेनजी विद्रोह भएको एक वर्ष पूरा भएको अवसरमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गरी सिफारिस कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेद्वारा जारी प्रेस विज्ञप्तिमा एक वर्षअघि भ्रष्टाचार, कुशासन र निराशाविरुद्ध जेन–जी युवाहरू सडकमा उत्रिएको उल्लेख गर्दै उनीहरूले केवल सरकार परिवर्तन होइन, सुशासन, पारदर्शिता र रोजगारीसहितको नयाँ राजनीतिक संस्कार खोजेको जनाइएको छ।
विज्ञप्तिमा २३ भदौमा भएको शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन घुसपैठ गराइएको तथा त्यस क्रममा अत्यधिक बल प्रयोग भएको आरोप लगाइएको छ। साथै, २४ भदौमा भएको आगजनी, तोडफोड र विध्वंसका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गरिएको छ।
राष्ट्रिय मानव अधिकार आयोग ले यी घटनामाथि अनुसन्धान गरी दोषीमाथि कारबाहीको सिफारिस गरिसकेको भए पनि प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक नभएकोप्रति कांग्रेसले आपत्ति जनाएको छ। विज्ञप्तिमा प्रतिवेदन सार्वजनिक गरी निष्पक्ष अनुसन्धान र कानुनी कारबाही अघि बढाउन सरकारलाई दबाब दिइएको छ।
कांग्रेसले राज्यशक्तिको दुरुपयोग गर्ने वा आन्दोलनको नाममा हिंसा गर्ने जोसुकैलाई पनि उन्मुक्ति दिन नहुने स्पष्ट गर्दै राजनीतिक संरक्षणका आधारमा दोषी जोगाउने प्रयास अस्वीकार्य हुने चेतावनी दिएको छ।
यसैबीच, प्रधानमन्त्रीसँग कांग्रेसले जेनजीले खोजेको परिवर्तन कार्यान्वयन भएको छ वा छैन भन्ने प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शिता र युवाका लागि रोजगारी सिर्जनाबारे स्पष्ट जवाफ मागेको छ।
विज्ञप्तिमा जेन–जी आन्दोलनलाई सत्तामा पुग्ने माध्यमका रूपमा प्रयोग नगर्न र त्यसले उठाएका मुद्दालाई शासन प्रणालीमै रूपान्तरण गर्नुपर्नेमा जोड दिइएको छ। साथै, घाइतेहरूको उपचार, पुनःस्थापना र दीर्घकालीन सहयोग सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...