भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ५३३ रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन् । बाढीपछि हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको उनले जानकारी दिइन् ।

तीमध्ये ९८ जनाको सनाखत गरी शव आफन्तलाई बुझाइएको प्रवक्ता महतले जानकारी दिइन् । अझै पाँच हजार ३२६ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । प्रवक्ता महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा बढी रसुवाबाट दुई हजार ८६० र नुवाकोटबाट एक हजार ९८१ जना छन् । बाँकी नेपाली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका उनले बताइन् ।

बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म छ हजार ८२७ जनाले प्राथमिक उपचार सेवा लिएका छन् । प्राधिकरणका अनुसार विभिन्न १० अस्पतालमा ३२७ जनाको उपचार गरिएकामा २४२ जना उपचारपछि डिस्चार्ज भएका छन् । नेपाली सेनाबाट तीन हजार ४०४ जना र सशस्त्र प्रहरीबाट तीन हजार ९६ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्नुका साथै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा सक्रिय छन् ।

प्राधिकरणका अनुसार सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई समन्वयात्मक रूपमा अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८३ भाद्र २३, २०: २४

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८३ भाद्र २३, २०: २४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ भाद्र २३, २०: २४

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...