ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई कुलमान घिसिङको आग्रह – Naya Bikalpa
September 30, 2026, Wednesday      Epaper

ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई कुलमान घिसिङको आग्रह

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण भएको मानवीय र भौतिक क्षतिले नेपालको ऊर्जा सुरक्षा तथा विकास यात्रामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले प्राकृतिक विपद्का कारण विद्युत्, सडकलगायत अत्यावश्यक पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन् । विशेषगरी त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचना र सडक पूर्वाधारमा भएको क्षतिप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

उनका अनुसार त्रिशूली नदी बेसिनको भौगोलिक तथा भौगर्भिक अवस्था र पछिल्ला विपद्ले जलविद्युत् आयोजनाको भविष्य तथा लगानी सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ । यसले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबलमा समेत प्रतिकूल असर पर्न सक्ने उनले बताएका छन् ।

घिसिङले विपद्का कारण थातथलो र सम्पत्ति गुमाएका नागरिकको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सरकारको उपस्थिति अझ प्रभावकारी र देखिने गरी हुनुपर्नेमा जोड दिएका छन् । जाडो नजिकिँदै गएकाले विस्थापित नागरिकलाई असुरक्षित र कष्टपूर्ण अवस्थामा राख्न नहुने उनको भनाइ छ ।

उनले विस्थापित नागरिकका लागि तत्काल सुरक्षित आवास, राहत र पुनस्र्थापनाको ठोस व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । ‘जाडो नजिकिँदै गर्दा विस्थापित नागरिकलाई सुरक्षित आवास, राहत र पुनस्र्थापनाको ठोस व्यवस्था गर्न किन ढिलाइ गरिँदैछ ?’ भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण मात्र पर्याप्त नहुने भन्दै घिसिङले प्रभावित आयोजनालाई पुनः सञ्चालनमा ल्याउने, लगानीकर्ताको विश्वास कायम राख्ने तथा भविष्यमा यस्ता विपद्बाट पूर्वाधारलाई सुरक्षित बनाउने दीर्घकालीन रणनीति आवश्यक रहेको बताएका छन् ।

त्रिशूली र कालीगण्डकी करिडोरका प्रसारण लाइनमा भएको क्षतिले विद्युत् उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमा दबाब सिर्जना गरेको उनले उल्लेख गरेका छन् । आगामी हिउँदमा विद्युत्को माग व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भन्दै तत्काल पुनस्र्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान र निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

लोडसेडिङ नहुने घोषणा मात्र पर्याप्त नहुने भन्दै घिसिङले विद्युत् आपूर्ति नियमित राख्न अहिलेबाटै आवश्यक पूर्वतयारी, वैकल्पिक प्रसारण व्यवस्था र आपूर्ति व्यवस्थापनका ठोस काम सुरु गर्नुपर्ने बताएका छन् ।

‘लोडसेडिङ हुँदैन भन्ने घोषणा मात्र पर्याप्त हुँदैन। लोडसेडिङ नहोस् भन्न आजैदेखि आवश्यक पूर्वतयारी, वैकल्पिक प्रसारण व्यवस्था र आपूर्ति व्यवस्थापनको ठोस काम सुरु गर्नुपर्छ,’ उनले भनेका छन् ।

संकटको समयमा स–साना विषयमा अल्झिनुभन्दा देशको ऊर्जा सुरक्षा, प्रभावित नागरिकको जीवन तथा क्षतिग्रस्त पूर्वाधारको पुनस्र्थापनालाई प्राथमिकतामा राख्नुपर्ने घिसिङले बताएका छन् ।

उनले सरकारसमक्ष चारवटा प्रमुख मागसमेत अघि सारेका छन् । विस्थापित नागरिकलाई तत्काल सुरक्षित आवास र राहतको व्यवस्था, क्षतिग्रस्त विद्युत् तथा सडक पूर्वाधारको शीघ्र पुनस्र्थापना, त्रिशूली र कालीगण्डकी करिडोरको विद्युत् प्रसारण प्रणालीको प्राथमिकताका साथ पुनर्निर्माण तथा स्वदेशी–विदेशी लगानीकर्ताको विश्वास कायम राख्न स्पष्ट कार्ययोजना र आवश्यक सहजीकरण तत्काल अघि बढाउनुपर्ने उनको माग छ।

सम्बन्धित समाचार

१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन
१७ जना सहसचिवको सरुवा तथा कामकाजको व्यवस्थापन
  • २०८३ आश्विन १४, १५: ४६

काठमाडौं : सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, बोर्ड तथा...

नेपाली जनसम्पर्क समिति क्यानडाद्वारा चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण
नेपाली जनसम्पर्क समिति क्यानडाद्वारा चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण
  • २०८३ आश्विन १४, १५: ४६

काठमाडौं : नेपाली जनसम्पर्क समिति क्यानडाले चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय...

कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने
कांग्रेस महाधिवेशन : ४९ जिल्लामा क्षेत्रीय अधिवेशन असोज १४ गते र २३ जिल्लामा १५ गते सम्पन्न हुने
  • २०८३ आश्विन १४, १५: ४६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली...