
बाग्लुङ-नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो ।
प्रशासनले सक्रिय सङ्क्रमित बढी भएर समुदायमा फैलिएको केही वडामा बन्दाबन्दी गर्ने, तिहारका अवसरमा खेलिने देउसीभैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काममा बाहेक घरबाहिर नआउन आग्रह गरेको छ ।
कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा सोमबार मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ भने देउसीभैलो खेल्दा भिडभाड हुने भएकाले जिल्लाभर देउसीभैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।
“सोमबार बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यक बाहेकका सेवा, बजार र यातायात बन्द गर्ने र जिल्लाभर देउसीभैलो खेल्न नपाउने निर्णय गरेको छ”, प्रजिअ न्यौपानले भने, “समुदायमा कोरोना फैलिएको क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा भिडभाड बढी हुन सक्ने भन्दै देउसीभैलो खेल्न रोक लगाइएको हो ।”
यस्तै बागलुङ बजार क्षेत्रका बैंक तथा वित्तीय संस्था पनि एक साता बन्द हुने भएका छन् । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घको आग्रहमा बागलुङ बजार क्षेत्रमा बन्दाबन्दी र अन्य स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बन्दाबन्दीको समयमा अत्यावश्यक सेवा भने सञ्चालनमा रहने छन् । प्रशासनले राष्ट्रिय राजमार्ग भने बागलुङ बजारमा यात्रु झार्न र चढ्न नपाइने गरी सञ्चालन गरिने जनाएको छ । बागलुङ बजारका केही व्यवसायी, राजनीतिकर्मी, कर्मचारी, जनप्रतिनिधि र पत्रकारमा कोरोना सङ्क्रमण देखिएपछि बाध्य भएर बन्दाबन्दी गर्न लागिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...