सभापति भएको २६ महिनापछि देउवाद्धारा पदाधिकारी चयन – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

सभापति भएको २६ महिनापछि देउवाद्धारा पदाधिकारी चयन

पौडेल र सिटौला समूहको असन्तुष्टि झन् बढ्यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचित भएको करिव २६ महिनापछि पदाधिकारी चयन गरेका छन् ।

पार्टीको १३ औं महाधिवेशनमा प्रतिष्पर्धी रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पराजित गरी सभापतिमा निर्वाचित भएका देउवाले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्री र डा. प्रकाशशरण महतलाई सहमहामन्त्री मनोनित गरेका हुन् । तीनै नेता देउवा समूहका रहेको र तीनैजना प्रतिनिधिसभा उम्मेदवार बनेर विजयी बन्न सकेका थिएनन् ।

पदाधिकारी मनोनयनका शनिबार विहान ११ बजे बोलाइएको बैठक साँझ ५ बजेपछि मात्र बसेको थियो । करिव १२ मिनेटसम्म चलेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पदाधिकारी मनोनयन प्रस्तावको विरोध गरेका थिए । बैठकमा पौडेल समूहका नेता तथा पूर्वउपसभापति प्रकाशमान सिंह र केन्द्रीय सदस्य महेश आचार्यले पदाधिकारी चयनको विरोध गरे पनि देउवा समूहले बहुमतका आधारमा पदाधिकारी मनोनयनको प्रस्ताव पास गरेको हो ।

विधान बमोजिम दुई महिना भित्र चयन गर्नुपर्ने पदाधिकारीको नाम २६ महिनापछि प्रस्ताव गरेर १२ मिनेटमै पारित गर्न सभापति देउवाले दबाब दिएपछि अन्य नेताहरु असन्तुष्ट बनेका छन् । पौडेल समूहले पार्टीको विधानमा दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्ने व्यवस्था रहेको भन्दै २ वर्षपछि गर्न नहुने तर्क गरेका थिए ।

केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले बाधा अड्काउ फुकाएर मात्र पदाधिकारी मनोनयन गर्नुपर्ने नेता प्रदीप पौडेलले बताए । उनले केन्द्रीय सदस्य निर्वाचित भएको दुई महिनाभित्र गर्नुपर्ने पदाधिकारी मनोनयन अहिले गर्नु विधान विपरीत हुने बताए । अहिले पदाधिकारी मनोनित गर्न डाकिएको बैठक अवैधानिक भएकाले आफूहरुले नमान्ने उनले बताए ।

विधान बमोजिम महाधिवेशन भएको दुई महिना भित्र पार्टीका सबै तह र निकायलाई पुर्णता दिनु पर्ने बैधानिक व्यवस्था भएपनि सभापति देउवााले सहमति जुट्न नसकेको भन्दै पदाधिकारी चयनमा ढिलाई गरेका थिए । देउवाले अझै पनि पार्टी विधान बमोजिम ४२ वटा बिभाग र अन्य एक दर्जन निकायलाई पूर्णता दिएका छैनन् ।

उपसभापतिमा चयन गरिएका निधि कांग्रेसका अहिंसावादी नेता तथा पार्टीका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिका छोरा हुन् । उनी यसअघि नेपाली कांग्रेस प्रजातान्त्रिकका महामन्त्री थिए । पार्टी एकीकरण हुँदा महामन्त्री भएका निधि २०६७ सालको पार्टीको १२ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवार भइ गणेशमान सिंहका छोरा प्रकाशमान सिंहसँग पराजित भएका थिए । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेको निधि एक बर्षअघिको प्रहरी महानिरिक्षक नियुक्तिको बिषयलाई लिएर सभापति देउवासँग विवादमा तानिएका थिए । १२ बर्षदेखि देउवालाइ साथ दिँदै आएका निधिले गत प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा मधेशकेन्द्रीत दलसँग तालमेल गर्ने जिम्मेवारी पाएर पनि काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।

महामन्त्रीमा चयन भएका खड्का पनि पूर्वगृहमन्त्री हुन् । निष्कलंक छवि बोकेका खड्का गत महाधिवेशनमा देउवा गुुटबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए भने उनलाई स्वर्गीय नेता खुमबहादुर खड्काको ठूलो सहयोग र सद्भाव थियो । महाधिवेशनमा असन्तुष्ट नेता कृष्णप्रसाद सिटौला गुटले पनि उनलाई सघाएको थियो ।

२०७२ सालमा संविधान जारी भएपछि एमालेलाई सरकारको नेतृत्व दिने मौखिक सहमति कायम नगरी आफै प्रधानमन्त्रीमा उम्मेदवारी दिन प्रतिष्पर्धा गरेका तत्कालिन सभपाति शुशील कोइराला, नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग खड्काले असहमति जनाएका थिए । सभापति कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि असहमति जनाउँदै खड्काले सहमहामन्त्री पदबाट राजिनामादिएका थिए ।

सहमहामन्त्रीमा नियुक्त डा. महत नेपाल बिद्यार्थी संघका पूर्वमहामन्त्री हुन् । पूर्वअर्थमन्त्री डा. रामशरण महतका भाई प्रकाशशरण महत पूर्व उर्जा तथा परराष्ट्र मन्त्री पनि हुन् । उपसभापतिमा फोरम लोकतान्त्रिक बिलय गरेर आएका विजयकुमार गच्छदार र नेपाली कांग्रेसका प्रजातान्त्रिकका पूर्वउपसभपाति गोपालमान श्रेष्ठको दाबी थियो । तर देउवाले मधेशीमूलका निधिलाई उपसभापतिमा चयन गरेर मधेशप्रतिको आफ्नो विश्वास र समर्पण देखाउन खोजको बताइन्छ ।

महामन्त्रीमा भने आफ्ना आधा दर्जन आकांक्षीलाई पछि पार्दै खड्काले सभापति देउवाको विश्वास जितेका छन् । महामन्त्रीमा पार्टी संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँड, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महतको दाबी थियो । सहमहामन्त्रीमा भने मानबहादुर विश्वकर्मा, वालकृष्ण खाँड, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की आदिले दाबी गरेका थिए ।

पौडेल समूहले सहमहामन्त्रीमा आफूले सिफारिस गरेको व्यक्तिलाई चयन गर्नुपर्ने भन्दै माग गर्दै आएको थियो । सो समूहले महेश आचार्य, दिलेन्द्र प्रसाद बडु र नविन्द्रराज जोशीमध्ये एकलाई सहमहामन्त्री बनाउनु पर्ने माग गरेको थियो । पौडेलसमूहको यस्तो मागप्रति उनकै समूहका भनिएका महामन्त्री डा.शशांक कोइराला सहमति थिएन । महामन्त्री कोइराला भने सहमहामन्त्रीमा डा. मिनेन्द्रप्रसाद रिजाल र डा. नारायण खड्कामध्ये एकलाई चयन गर्नुपर्ने पक्षमा थिए । तर उनले सभपातिले ल्याउने हरेक प्रस्तावलाई समर्थन गर्ने बताउँदै आएका थिए ।

सिटौलाको आक्रोस सभापतिमाथि
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पदाधिकारी मनोनयनप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । उनले चुनावमा पराजय व्यहोर्दा र देशभरिका कार्यकर्ताले पार्टीको भविश्यबारे चिन्ता गरिराखेका बेलामा पनि पार्टी सभापति देउवाको चेत नखुलेको आरोप लगाए ।

पदाधिकारी चयनबारे असन्तुष्टि जनाउँदै सिटौलाले नयाँ विकल्पसँग भने ‘सभापतिजीको किन चेत नखुलेको हो ? उहाँले किन पेलेर जान खोज्नुभएको हो ? म आश्चार्यचकित छु ।’ ‘सभापतिजीले पदाधिकारीहरुको प्रस्ताव विधानसम्मत एवं समझदारीका आधारमा गर्नुपथ्र्याे’, सिटौलाले भने, ‘दुई वर्षसम्म पदाधिकारी प्रस्ताव नगर्ने अनि छलफलसमेत हुन नदिई प्रस्ताव ल्याएकै दिन टुंगो लगाउने ? यसले पार्टीभित्रको एकतालाई खलल पार्छ र पार्टीलाई कमजोर बनाउँछ ।’

उनले हाल देशभरका कांग्रेस कार्यकर्ताहरु पार्टी एकता होस् समझदारी होस् भनेर चिन्तित भए पनि देउवामा त्यो चिन्ता नभएको टिप्पणी गरे । सुशील कोइरालाका पालामा केन्द्रीय कार्यसमितिमा संस्थापन पक्षको बहुमत रहे पनि उहाँले देउवा पक्षका नेतालाई सहमहामन्त्री बनाएर समझदारीमा अघि बढेको सिटौलाले बताए । ‘सुशीलदाको बहुमत थियो, तर उहाँले पेल्नुभएन ।

नाम प्रस्ताव गरेको केही महिनापछि सहमतिमा पदाधिकारी चयन गर्नुभएको थियो । तर, देउवाजीले अर्को पक्षलाई पेल्न खोजेको देखियो ।’ झापाबाट काठमाडौं आएपछि यसबारे नेताहरुसँग छलफल गर्ने सिटौलाले बताए । सभापतिले देउवाले यो निर्णय सच्याउनुपर्ने उनले सुझाव दिए ।

८५ सदस्यीय नेपाली कांग्रेस केन्द्रीय कार्य समितिमा ६४ सदस्यीय निर्वाचित केन्द्रीय सदस्यको बैठकबाट पदाधिकारीको नाम चयन गर्नुपर्ने वैधानिक व्यवस्था छ । ६४ मध्ये एक जना निर्वाचित केन्द्री सदस्य खुमबहादुर खड्काको निधन भइसकेको छ । वाँकी ६३ सदस्यमध्ये २९ जना पौडेल समूहमा खुलेका छन् भने ३४ जना देउवा पक्षमा छन् । देउवा समूहबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका कूलबहादुर खड्का र चन्द्र भण्डारीले सो समूह छोडिसकेका छन् भने सिटौला समूहका केन्द्रीय सदस्य प्रदीप पौडेल पनि देउवाको विपक्षमा रहेका छन् ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०७५ बैशाख २४, ०८: १०

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०७५ बैशाख २४, ०८: १०

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७५ बैशाख २४, ०८: १०

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...