प्रेस काउन्सिल नेपालको ४९औं वार्षिकोत्सव – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

प्रेस काउन्सिल नेपालको ४९औं वार्षिकोत्सव

काठमाडौं । प्रेस काउन्सिल नेपालको ४९औं वार्षिकोत्सव तथा वरिष्ठ पत्रकार सम्मान एवं पुरस्कार वितरण समारोहको यही असोज ६ गते शनिबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित बार्षिकोत्सवको कार्यक्रमको समुद्घाटन गर्नुहुदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा पत्रकार तथा सञ्चार संस्थाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो । यसरी पुरस्कृत हुनेमा १९ जना पत्रकार तथा विशिष्ट योगदान भएका पुराना वरिष्ठ पत्रकार ४ जनालाई सम्मानित गरिएको छ ।

प्रेस काउन्सिलका पूर्व अध्यक्षको नाममा स्थापित भएको एक लाख पाँच हजार राशीको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार र सोही वरावर राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट क्रमशः वरिष्ठ पत्रकार युवराज घिमिरे (काठमाडौं) र राजबहादुर गुरुङ् (कास्की) पुरस्कृत भएका छन् ।

त्यसैगरी प्रेस काउन्सिल आचारसंहिता पुरस्कार, भाषागत पत्रकारिता पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कारबाट हाम्रो रेडियो दोलखा, डोटेली भाषाको गुगुल्डी मासिक र कल्पतरु द्वैमासिकलाई प्रदान गरिएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल स्तम्भ लेखन पुरस्कार, सशक्त सञ्चारकर्मी पुरस्कार, सशक्त लेखन पत्रकारिता पुरस्कारबाट क्रमशः बृजकुमार यादब धनुषा, डा.अमर गिरी दाङ, पुण्य पौडेल तनहुँ, मिमबहादुर रावल कालिकोटलाई प्रदान गरिएको छ ।

बिधागत पत्रकारिता पुरस्कार अन्तर्गत पदमसागर कक्षपति र अविन श्रेष्ठ, युवा सशक्तिकरणतर्फ सागर पण्डित, उज्जल पहाडी, चन्द्र बानियाँ, समावेशी पत्रकारितातर्फ रिता मोक्तान, गोपाल परियार, सुरेश यादव महिला सशक्तिकरणतर्फ नानीमैयाँ बिष्ट र कृष्णमाया उपाध्याय पुरस्कृत भएका छन् ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले सञ्चार जगतलाई मर्यादित बनाउने, नियमन गर्ने एकमात्र अधिकार सम्पन्न आधिकारिक निकाय प्रेस काउन्सिलले पछिल्ला दिनहरूमा आफ्नो कार्यक्षेत्र तथा कार्यक्षमता दुबैमा उल्लेख्य विस्तार गर्दै विश्व प्रेस काउन्सिलमा नेपालको उपस्थितिको साथै दक्षिण एशियाली प्रेस काउन्सिल गठनमा अग्रणी भूमिका निभाएकोमा खुशी व्यक्त गर्नुभयो ।

स्वतन्त्रता निरपेक्ष नहुने भन्दै मूल्य, मान्यता र आचारसंहिताभित्र रहेर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा नेपाली सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । न्युज ब्रेकको नाममा सत्यतथ्य परीक्षण नगरी सम्प्रेषण गर्ने, प्रायोजित समाचार, कपोलकल्पित श्रोतका नाममा व्यक्तिलाई खुइल्याउने, मानमर्दन गर्ने प्रवृत्तिले पत्रकारिता जगत्को स्वच्छता र निष्पक्षतामाथि प्रश्नचिन्ह खडा गरेको उहाँको धारणा थियो ।

सूचनामा यति शक्ति हुन्छ कि, यसले मर्दै गरेको मान्छेको ज्यान बचाउन सक्छ भने कहिलेकाँही गलत सूचना सम्पे्रषण भएमा निर्दोष व्यक्तिलाई मृत्युको मुखमा पु¥याउन पनि सक्छ । पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै पत्रकारिता पेशालाई मर्यादित, अनुशासित र जवाफदेही बनाउने प्रक्रियामा प्रेस काउन्सिल नेपालले २६ वर्ष पुरानो ऐनको सहारामा जे जतिकार्य गर्दैछ, त्यो निकै प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विभिन्न आन्दोलनबाट आएका दलहरुबाट प्रेस स्वतन्त्रता हनन् गर्छन भन्ने भ्रममा नपर्न आग्रह गर्दै मिडिया काउन्सिल बनाउँदैछौं, पत्रकारिता क्षेत्र नियमनमा बस्नैपर्ने र पूर्ण प्रेस स्वतन्त्रता विश्वमाकतै नभएको धारणा राख्दै मन्त्री बाँस्कोटाले सम्मानित तथा पुरस्कृत सबैलाई बधाई दिए ।

प्रेस काउन्सिल सदस्य इश्वरीप्रसाद ओझाले सञ्चालन गर्नुभएको कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडियाले गल्ती सच्याउने तत्परता देखाउनु महानकर्म हुने भन्दै प्रेस काउन्सिल प्रेस स्वतन्त्रताको संरक्षणको अग्रसर रहँदै आएको पत्रकारहरुको अभिभावक संस्थाको भूमिकामा सदैव रहने धारणा ब्यक्त गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा योगदान भएका महत्वपूर्ण व्यक्तिहरुलाई प्रेस काउन्सिल नेपालले सम्मान गरेको हुँदा काउन्सिललाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा नेपाल सरकारका विभिन्न निकायमा रहेका उच्च पदस्थ व्यक्ति, न्याय क्षेत्रका वरिष्ठ वकिल, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७५ आश्विन ८, १०: ३०

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७५ आश्विन ८, १०: ३०

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७५ आश्विन ८, १०: ३०

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...