ओलीलाई घेराबन्दीमा पार्दै नेपाल – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

ओलीलाई घेराबन्दीमा पार्दै नेपाल

भ्रष्टाचारी र अपराधीले उन्मुक्ति पाएको आरोप

काठमाडौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू नभएको मौका छोपेर प्रदेश कमिटी नेतृत्वको निर्णय गरेको प्रति आक्रोस पोख्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले त्यस विरुद्ध नयाँ रणनीति तय गरेको छ । असोज ९ गते विदेश भ्रमणबाट फर्के लगत्तै नेपालले आफू निकट नेता र कार्यकर्तासँग भेट तीव्र बनाएका थिए ।

भेटमा नेता र कार्यकर्ताले यस विषयमा दह्रो खुट्टा टेक्न सुझाव दिएपछि हौसिएका नेपालले प्रतिनिधिसभाको विहीबारको बैठकमा बोल्दै सरकार असफल भएको, देश डुब्न लागेको र सरकारले भ्रष्टाचारी र अपराधीलाई काबाही गर्नुको सट्टामा अवसर दिएको र उन्मुक्ति दिएको आरोप लगाएका थिए ।

नेपालले आफूपक्षीय स्थायी समिति सदस्यसँग नयाँवानेश्वर स्थित एक होटलमा छलफल गरेका छन । ४५ सदस्यीय स्थायी समितिमा नेपालको पक्षमा करिब १५ जना छन् । नेता नेपालले प्रदेश नेतृत्व चयन सम्बन्धी केन्द्रीय सचिवालयको पछिल्लो निर्णय अस्वीकार गर्ने चेतावनी समेत दिएका छन् । पूर्वसमझदारी विपरीत स्थायी समितिलाई बाइपास गरेर प्रदेश संगठन कमिटीको नेतृत्व चयन गरिएको बताउँदै उनले निर्णय नमान्ने बताएका संकेत गरेका हुन् ।

नेपालसँगै अर्का नेकपाका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमणबाट निर्णय भएकै राति फर्किएकाले बैठकमा उपस्थित थिएनन् । उनले पनि उक्त निर्णयप्रति असहमति रहेको बताइसकेका छन् । प्रधानमन्त्री र अध्यक्षसँग कुराकानी गर्न नपाएको भन्दै श्रेष्ठले गुनासो गर्दै आएका छन् ।

नेपाल पक्षीय नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, जगन्नाथ खतिवडा र तुलबहादुर गुरुङले सार्वजनिक रूपमै निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाएका थिए । प्रदेश ४ र ५ मा मुख्यमन्त्रीहरू पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई इन्चार्जको समेत दोहोरो जिम्मेवारी दिएकामा नेपाल समूह बढी आक्रोशित छ ।

सचिवालयको यस्तो निर्णयप्रति पूर्वमाओवादी पृष्ठभूमिका स्थायी समिति सदस्यहरू देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, अग्नि सापकोटा, मणि थापालगायत नेता पनि असन्तुष्ट बनेका छन् । थप मापदण्ड बनेपछि मात्र प्रदेश, जिल्ला र जनसंगठनको एकीकरण टुंग्याउनुपर्ने अडानमा रहेका वरिष्ठ नेता झलनाथ खनाल, रामबहादुर थापा बादल, वामदेव गौतमलगायत नेता भने सचिवालयको पछिल्लो निर्णयमा सहमत छन् । स्रोतका अनुसार पछिल्लो बैठकमा खनालले नै छिटो नेतृत्व टुंग्याउँदा उपयुक्त हुने धारणा राखेपछि अध्यक्षद्वय ओली र प्रचण्डले केहीबेर छुट्टै गृहकार्य गरेर प्रस्तुत गरेको नामावलीलाई बैठकले अनुमोदन गरेको थियो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा अमेरिका भ्रमणमा गएको केही दिनपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिङ्गापुर गए । पार्र्टीका दुई अध्यक्ष विदेश भ्रमणमा रहेका बेला कसैलाई पनि पार्टीको कार्यभार सुम्पिएनन जसले गर्दा पार्टीका दोश्रो बरियताका नेताहरु ओली र प्रचण्डसाग रुष्ट बनेका छन् ।

यही मौकामा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री नेपालले शुक्रबार काठमाडौंको एक होटलमा स्थायी समिति सदस्यहरूको भेला बोलाएर ओली र प्रचण्डलाई चुनौति दिएका छन् । भेलाको उद्देश्य चियापान बताइएको थियो । दशैं, तिहार, छठ लगायतका पर्वहरूका सन्दर्भमा आयोजना गरिएको चियापान कार्यक्रममा नेकपाका विदेशमा रहेकाबाहेक सबै सदस्यहरूलाई बोलाइए पनि सबै उपस्थित थिएनन् ।

नेकपामा ४५ जना स्थायी समितिका सबै सदस्य रहेका छन् । आफू विदेशमा रहेका बेला पार्टीका दुई अध्यक्ष ओली र दाहालले आफ्नो ढंगले प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव सिफारिस गरेको भन्दै रूष्ट भएका नेता नेपालले दुई अध्यक्षले कार्यकारी भूमिकामा रहेका प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई प्रदेश इञ्चार्ज दिएर दोहोरो जिम्मेवारी दिएर पार्टी नीति विपरीत काम गरेको भन्दै चर्को बिरोध गरिरहेका छन् ।

पार्टीलाई विधि, पद्धति, प्रणाली, प्रकृयाबाट अगाडि नबढाइ जनतासँग गरेका बाचा तोड्ने गरी काम हुन थालेको भन्दै स्थायी समिति सदस्य घनश्याम भूषालले पार्टीलाई फाँसीबाद तर्फ लैजान खोजेको आरोप लगाउँदै आएका छन् । नेकपाका अर्का नेता जगन्नाथ खतिवडाले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद रोज्नु पर्ने माग राख्दै आएका छन् ।

नेकपा नेता गौतमले दुई अध्यक्ष देशबाहिर रहेका बेलामा वरिष्ठताका आधारमा यस्तो बैठक बोलाउनु स्वभाविक रहेको नेपाल पक्षधर नेता रघुजी पन्ताले दाबी गरेका छन् । दुवै अध्यक्ष देशमा नभएका बेला वरिष्ठ नेता नेपालले यसरी बैठकको आयोजना गर्नु सह्राहनीय रहेको अर्का नेता बामदेव गौतमले समेत बताएका थिए । नेता नेपालले सरकार र पार्र्टी दुवैलाई कसरी प्रभावकारी बनाउने ? पार्र्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने निष्कर्ष निकाल्न छिटो स्थायी कमिटीको बैठक बस्नुपर्ने कुरा राखेका थिए ।

सहभागीहरूले उक्त कुरामा समर्थन समेत जनाएका थिए । नेपालले स्थाीय समिति सदस्यसँग चियापानको उदेश्यमाथि प्रकाश पार्दा समेत विहिबारको प्रतिनिधिसभा बैठकमै बोलेका बिषयलाई जोडतोडका साथ उठाएका छन् । उनले गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायतका मन्त्रीहरूको नामै किटेर उनीहरूले काम नगरेर के गरिरहेका छन ? भनी प्रश्न गरेका थिए ।

चियापान कार्यक्रममा नेकपाका नेताहरू वामदेव गौतम,नारायणकाजी श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, भीम रावल, छविलाल विश्वकर्मा, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भीम आचार्य, देव गुरुङ, अग्नि सापकोटा, देवेन्द्र पौडेल, अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, गणेश शाह, रघुजी पन्त, गोकर्ण विष्ट, गिरीराजमणि पोखरेल, वर्षमान पुन लगायतका नेताहरू सहभागी थिए ।

चियापान कार्यक्रममा सबैलाई बोलाइएको भएपनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाईनका हार्डलाइनर मानिने केही नेताहरू भने सहभागी भएनन् । सहभागीताका लागि निम्ता सबैलाई पठाइएको थियो तर ओली लाइनका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल वरिष्ठ नेता नेपालको चीया खान पुगेनन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कार्यक्षेत्रमा भएका कारण आएनन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल अहिले विदेशमा छन् ।

प्रचण्डको हार्डलाइनर मानिने नेताहरू गृहमन्त्री रामबहादुर थापा, जनार्दन शर्मा, वनमन्त्री शक्ति बस्नेत कार्यक्रममा देखिएनन् । मन्त्री वर्षमान पुन पनि कार्यक्रमको अन्तिमतिर आएर लगत्तै फर्किएका थिए ।

कार्यक्रममा नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी भएनन् । नेता नेपालले आयोजना गरेको चियापानका सन्दर्भमा उनले अहिले आफ्नो गुट भनेको नेकपा रहेको र आवश्यक पर्दा आफ्नै गुट बनाउने प्रतिक्रिया दिएका थिए ।

उता प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला बरिष्ठ नेता माधवकुमार नेपालले संसदमा गरेको भाषणप्रति ओलीले अमेरिकाबाटै जवाफ दिएका छन् । आफू स्वदेशमा नभएका बेला नेता नेपालले बोलाएको स्थायी कमिटीको भेलाबारे चित्त दुखाउँदै प्रधानमन्त्रीले प्रदेश कमिटी गठनको निर्णयको बचाउ गरेका छन् । उनले केही मान्छेहरुमा अलिकति कुण्ठा रहेकोले उनीहरुले त्यो कुण्ठा पोख्नका लागि विभिन्न प्रकारका कुराहरु गरेको आरोप लगाएका छन् ।

कृत्रिम परिस्थिति निर्माण गर्न खोजिएको भन्दै ओलीले त्यसले खासै अर्थ केही नभएको दाबी गरे । उनले सचिवालयले गरेको निर्णय विल्कुल ठीक रहेको भन्दै दुईचार दिन संयुक्त राष्ट्र संघतिर आफू आउँदैमा देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ भनेर भनिरहनु नपर्ने भन्दै आफू फर्केर गइहाल्ने भएकोले ठूलो समस्याको रुपमा नलिन सुझाव दिएका छन् ।

माधव नेपालले देश डुब्न लाग्यो भनेर गरेको भाषणप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने ‘म नहुनेवित्तिकै अब कसैलाई अलिकति शुन्यता भो, छटपटी भो।’ उनले पार्टीमा फलानो गुटको फलानो प्रतिनिधि, फलानो गुटको फलानो प्रतिनिधि हैन, योग्यता, क्षमता र आवश्यकता अनुसार हुने दाबी गरेका थिए ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ आश्विन १५, ०८: ००

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ आश्विन १५, ०८: ००

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ आश्विन १५, ०८: ००

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...