समुदाय–प्रहरी समझदारी कार्यक्रम कोशेढुंगा ः गृहमन्त्री थापा – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

समुदाय–प्रहरी समझदारी कार्यक्रम कोशेढुंगा ः गृहमन्त्री थापा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले समाजमा व्यप्त अपराध, हत्या, हिंसा र बलात्कारका घटनालाई न्युनिकरण गर्ने उदेश्यले आइतबारबाट ७७ वटै जिल्लामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरुआत गरेको छ । कार्यक्रमको आइतबार भृकुटीमण्डपमा गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गर्दै लागू औषधको कारोबार र मदिरा अपराधको आधार भएकोले जरैबाट निर्मुल पार्ने उदेश्य सरकारले लिएको बताए ।

गृहमन्त्री बादलले अपराधको मुख्य स्रोत मदिरा र लागूऔषध रहेको भन्दै मदिराकै कारण विद्यालय तहका बालबालिका बढी पीडित भएको वताए । उनले गृहमन्त्री थापाले दीगो शान्ति स्थापनाका लागि पनि आइतबारदेखि शुरु समुदाय–प्रहरी साझेदारी कार्यक्रम कोशेढुंगा सावित हुने दाबी गरे ।

गृहसचिव प्रेमकुमार राइले विकास र समृद्धिको पहिलो आधार नै शान्ति सुरक्षा रहेकोले प्रहरी र समुदायको सहकार्यबाट नै लक्ष्य हासिल गर्न प्रहरीले समाजमा हुने अपराध न्यूनीकरण गर्न ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ ल्याएको बताए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी र नागरिकबीच सहकार्य र समन्वयको आवश्यकता औंल्याए। लक्ष्य हासिल गर्नका लागि जनशक्तिभन्दा पनि इच्छाशक्ति मुख्य विषय भएको बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अभियानको अवधारणा प्रस्तुत गरे । उनले अभियानको उद्देश्य अपराध रोकथाम, सामाजिक विकृति विसंगतीविरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने र समग्र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी र स्थानीय तहबीचमा सम्बद्ध सरोकारवालालाई समेत समेटी संस्थागत साझेदारी निर्माण गर्ने रहेको बताए ।

नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा सञ्चालित ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममा ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा दिइएको छ । अभियानमा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा आइतबारबाट केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन भएको हो ।

अभियानमा सात सय ५३ वटा स्थानीय तहका ६ हजार ७ सय ५३ वटा वार्डमा नेपाल प्रहरीको दुई हजार ६ सय युनिटका दुई हजार पाँच सय २३ जना तालिम र प्रशिक्षण प्राप्त प्रहरीहरु संलग्न छन् । महानिरिक्षक खनालका अनुसार ७७ वटा जिल्लाकम विस्तारित नेपाल प्रहरीका ७५ हजार जवान र अधिकृत, ३६ हजार विद्यालयका चार लाख शिक्षक ४० लाख अभिभावक ७५ लाख विद्यार्थी र १० हजार सामाजिक संघ संस्था यो अभियानमा संलग्न छन् ।

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरी उक्त अवधारणालाई अगाडि सारेको दाबी गरिएको छ । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माण गरिने प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।
अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने अवधारणामा उल्लेख छ । यसअघिका ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको प्रहरी सेवा’ लगायत कार्यक्रम ल्याएपनि प्रभावकारी रुपमा त्यसको सञ्चालन हुन सकेको थिएन ।

अहिलेको नयाँ अभियानलाई भने दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गर्ने योजना रहेको प्रहरी प्रवक्ता सुवेदीको भनाइ छ । विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास नेपाल प्रहरीले लिएको छ ।

अभियान सफल बनाउन टोलटोलमा प्रहरी, नागरिकमैत्री प्रहरी सेवा, समुदाय र विद्यालय सचेतना कार्यक्रम सँगसँगै लाने योजना रहेको छ । स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागू गरिने योजना प्रहरीले अगाडि सारेको छ । कार्यक्रम शुरु गर्न एक करोड ९२ लाख तथा एक वर्षको कार्यक्रम सञ्चालन गर्न  १७ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

यस्तै दीर्घकालीन योजनानुसार ४३ करोड बजेट लाग्ने अनुमान प्रहरीको छ । यस्तै प्रहरीले अभियान सञ्चालन गर्न प्रहरी प्रधान कार्यालयले राष्ट्रिय संयोजन र व्यवस्थापनको काम गर्नेछ । जिल्लामा समुदाय–प्रहरी जिल््ला समिति निर्माण हुनेछ । यस्तै समुदाय–प्रहरीपालिका समिति, समुदाय–प्रहरी वडा समिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति निर्माण हुनेछ ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्व रहने र स्थानीय तहका प्रमुख तथा प्रहरी कार्यालयले तोकेको प्रहरी अधिकृत सहसंयोजक रहने छन् । उक्त संयन्त्रमा विभिन्न सामाजिक सङ्घसंस्था रहनेछन् ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७५ कार्तिक १४, ११: ३४

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७५ कार्तिक १४, ११: ३४

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७५ कार्तिक १४, ११: ३४

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...