ओली र प्रचण्डलाई झुकाए गौतम,रावल र भुषालले – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

ओली र प्रचण्डलाई झुकाए गौतम,रावल र भुषालले

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिका सदस्यहरुको आफूप्रति लक्षित गर्दै राखिएको धारणाको जवाफ मात्र दिएनन् राजनीतिक प्रतिवेदन पारित गर्न निर्देशन पनि दिए । तर, उनको निर्देशन विपरित उनी र अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकमा पेश गरेको प्रतिवेदन पास नभइ अड्किन पुगेको छ ।

ओलीले स्थायी समितिका सदस्यहरुको सुझावलाई ‘तरकारीमा नुन टाठो नभएको तथा बेसार नपुगेको’ रुपमा अर्थ लगाउँदै राजनीतिक प्रतिवेदन पारित गर्न सुझावको शब्द प्रयोग गर्दै निर्देशन दिएका थिए । उनले ‘प्रतिवेदन भनेको यस्तै त हुन्छ । यसअघि पनि यस्तै त हुन्थ्यो, भन्दै पारितका लागि आग्रह गरे ।

तर सचिवालय सदस्य तथा हाल ओलीका कट्टर विरोधी बामदेव गौतमसँगै भीम रावल र घनश्याम भुषालले डटेर विरोध गरेपछि ओलीको डेग चलेको थिएनन् । विहीबार उनको सुझाव कार्यान्वनय नभए पछि शुक्रबार बिहान भने ओली र प्रचण्ड फरक ढंगले प्रस्तुत भएका थिए । ओलीले बैठकमा स्थायी समितिका सदस्यहरुले बोलेका सबै कुरा टिपेको बताए ।

‘सबैको धारणा समेटिने गरी परिमार्जन गर्छौँ, हामीले सबैको कुरा टिपेका छौँ’, ओलीले बैठकमा भनेको कुरा उधृत गर्दै स्रोतले भन्यो ‘प्रतिवेदन सचिवालयमा पेश गरेर ल्याउँछौँ । हामी सुझाव समेटेर परिमार्जन गरेर सचिवालयमा पठाउँछौँ ।’ ओली बैठकमा लचिलो ढंगले प्रस्तुत हुँदै सचिवालयलाई जिम्मेवार बनाउने ढंगले प्रस्तुत भएका छन् । बैठकमा प्रचण्ड पनि लचिलो देखिएका थिए ।

उनले ‘म त गल्ती देखियो भने आत्म आलोचना गर्ने मान्छे हुँ । गल्ती भयो भने यहाँनेर गल्ती भयो है भन्ने मान्छे हुँ ।’ स्थायी समितिका एक सदस्यका अनुसार प्रचण्डको भनाईको एउटा अर्थ –‘फकाएरै काम लिन सकिन्छ भन्ने थियो । अर्काे अर्थमा भने उनले घुमाउरो भाषामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई आत्म आलोचना गर्न सुझाएका थिए ।

बिहिबार आक्रोशित बनेका नेकपाका स्थायी समिति सदस्यहरु पनि बिहिबार बैठकमा ढिलाई भएकै कारण धेरै आलोचना गर्नु परेको निष्कर्षमा पुगे । विधानमा परिवर्तन र लामो समयसम्म बैठक नभएका कारण अध्यक्षको कार्यशैलीमा धेरै प्रश्न उठेको उनीहरुको भनाई थियो । तर अध्यक्षद्वयले सबैलाई समेटेर कार्यदल बनाउने घोषणा गरेपछि पनि चुप लगाउन भूमिका खेलेको थियो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ८ सदस्यीय कार्यदलमा नेकपाका सबै पक्षका नेता समेटिएका छन् ।

बिहिबार कमि कमजोरीमा आत्म आलोचना नगरेको टिप्पणी खेपेका अध्यक्षद्वय लचिलो रुपमा प्रस्तुत भएपछि शुक्रबार नेकपा बैठकले अध्यक्षद्वयको प्रतिवेदन परिमार्जन सहित पारित गर्ने निर्णय लियो । प्रतिवेदन परिमार्जन गर्ने सर्तमा सर्वसम्मत समेत भयो । ‘प्रचण्डसँग मिलेपछि जसरी पनि पार्टी चलिहाल्छ भन्ने ओलीको बुझाई सायद कम भयो होला’ ती सदस्यले भने, ‘प्रचण्डलाई पनि ओलीको साविकको एमालेमा सबैथोक चल्छ भन्ने भ्रम परेको भए टुट्यो होला ।’

अध्यक्षद्वयलाई स्थायी समिति बैठकले कुनै पनि निर्णय लाद्न सकिन्न भन्ने स्पष्ट सन्देश दिएको बताइन्छ । बैठकले प्रचण्डलाई स्वीकार्यताका लागि अझै धेरै घुलमिल हुनुपर्ने स्पष्ट सन्देश दिएको ती सदस्यले बताए ।

त्यसो त नेकपाको स्थायी समितिले गठन गरेको कार्यदललाई बृहत अधिकार प्रदान गरिएको छ । सचिवालयका अधिकारको रिभ्यु गर्ने, पार्टीको संगठनात्मक प्रस्ताव तयार गर्ने, पोलिटब्युरो गठन र केन्द्रीय समिति सदस्यको कार्य विभाजनदेखि जिल्ला समितिको गठन र प्रदेश कमिटीमा भएका असङ्गती मिलाउने गरि प्रस्ताव ल्याउन कार्यदललाई अधिकार दिइएको छ । त्यस्तै कार्यदललाई विभिन्न विभागमा रहने सदस्यको नाम प्रस्ताव गर्न समेत अधिकार दिइएको छ ।

‘स्थायी समिति सदस्यहरुलाई पनि कार्यदलमा राखिएपछि सचिवालयले थोरै भएपनि तल्लो कमिटीलाई विश्वास गरेको देखिएको छ’ ती सदस्यले भने, ‘अलिकति आन्तरिक लोकतन्त्र बढ्यो ।’ त्यसो त यो पटकको नेकपाको स्थायी समिति बैठकमा फरक मत राखेर वामदेव गौतमले आफू थप सक्रिय बन्ने स्पष्ट सन्देश समेत दिएका छन । बिहिबार फरक मत राख्ने बताएका नगौतम शुक्रबार खासै बोलेनन् ।

नेकपाको यो बैठकमा सबैभन्दा कडा रुपमा भने भीम रावल प्रस्तुत भएका थिए । उनले युनिफिकेशन चर्च आयोजक रहेको एसिया प्यासिफिक समिटको विषयमा पार्टीले गल्ती गरेको स्वीकार गर्नैपर्ने दबाब श्रृजना गरेका थिए ।

अध्यक्षद्वयले शुक्रबार पनि समिटबारे गल्ती स्वीकार नगरेपछि उनले फरक मत लेख्ने अडान नै राखे । भीम रावल मात्र नभइ नेकपाका स्थायी समितिका झण्डै १५ सदस्य धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको सहभागिता गल्ती भएको बैठकमा बताएका थिए। उनीहरुले रावललाई समर्थन गरेका थिए ।

जसका कारण नेकपाका अध्यक्षद्वय रावलको धारणा प्रतिवेदनमा राख्न तयार भए । ‘पार्टीले आगामी दिनमा यस्तो गल्ती गर्दैन भन्ने जनतालाई आश्वस्त पार्नुपर्छ भनेर रावलले धारणा राखेका थिए । उनले नोट अफ डिसेन्ट नै लेख्छु भनेका थिए । तर प्रचण्डले रावललाई तपाँइको धारणा लेखेर दिनुस त्यही स्पिरिटमा प्रतिवेदनमा राखौँला भनेपछि मात्र उनी मत्थर भएका थिए । रावलले नेताहरुहरुलाई ‘कबुल’ गराएर मात्र छाडेको नेकपा स्रोतले बतायो ।

सम्बन्धित समाचार

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७५ पुष १६, ०७: ५४

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७५ पुष १६, ०७: ५४

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ पुष १६, ०७: ५४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...