विधान संशोधनले ल्याएको विवाद – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

विधान संशोधनले ल्याएको विवाद

देउवासँग टक्कर लिँदै तीन कोइराला

काठमाडौं । महाधिवेशनपछि पार्टीको सबैभन्दा शक्तिशाली बैधानिक निकाय महासमिति बैठकको निर्णय कार्यान्वयन गर्ने बिषयलाई लिएर कांग्रेसमा किचलो बढेको छ । महासमिति बैठकले पास गरेको पाँचमध्ये दुई वटा पारित प्रस्ताव कार्यान्वयन गर्न सभापति शेरबहादुर देउवाले सबैको भावना र सुझाव सुनेर निर्णय लिने भनेपछि महासमिति बैठकका निर्णय कार्यान्वयनमा ढिलाई भएको हो ।

निर्णय भएका बिषयलाई कार्यान्वयन गर्न ढिलाई गरपछि कार्यसमितिका सदस्यहरु आक्रोशित भएका छन् । महासमिति बैठकले पारित गरेको प्रस्तावलाई समेत कार्यान्वयन नगरी छलफल गराएपछि विवाद चुलियो । मंसिर २८ देखि काठमाडौंमा भएको महासमिति बैठक पुस ८ गते सम्पन्न भएको थियो । महासमितिले पारित गरेका प्रतिवेदन र प्रस्ताव तत्काल कार्यान्वयन हुने विधानमा उल्लेख भएपनि सभापति देउवाले महासमिति सदस्यले दिएका सुझावलाई समेटेर परिमार्जन सहित पारित गर्नुपर्ने भनेपछि विवाद बढ्दै गएको छ ।

महासमिति बैठक सकिएको एक महिनापछि माघ १० गतेबाट शुरु केन्द्रीय कार्य समिति बैठकमा महासमितिले पारित गरेकै प्रस्ताव कार्यान्वयनका बिषयमा केन्द्रीत थियो । तर, महासमितिका कुनै पनि निर्णय कार्यान्वयन नभएपछि सभापति देउवाइरका नेताहरु यतिवेला संस्थापन पक्षको बिरोधमा उत्रिएका छन् ।

महासमिति बैठकले गरेका निर्णयलाई समेत परिमार्जन गर्न केन्द्रीय कार्य समितिमा सभापति देउवाले छलफल चलाएर विधानलाई विबादमा तानेको उनीहरुको बुझाइ छ । विधान बमोजिम अहिलेसम्म पनि पार्टीका हरेक तहलाई पूर्णत दिन नसकेका देउवामाथि एक बर्षअघि सम्पन्न स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा पराजय भोग्नुको मुख्य दोष लागेको, निर्वाचनमा कहिले पार्टी नहारेको, हारे पनि आफ्नै कमजोरीले हारेको र अब भविश्यका निर्वाचन जित्नु पर्ने भन्दै फरक फरक अभिब्यक्ति दिँदै आएका देउवा पार्टी संगठन निर्माण र आफ्नो कमजोरी औल्याउनु भन्दा सत्तारुढ दल नेकपा र सरकारको विरोधमा लाग्न आग्रह गर्दै आएका छन् ।

देउवाले पार्टीको आन्तरिक राजनीतिमा प्रश्न उठाउनेलाई अनुशासनको डण्डा बर्साउने चेतावनी दिएर आफ्ना आलोचक र विरोधीलाई तर्साउन थालेको उनीहरुको आरोप छ । विधान बमोजिम कांग्रेसको महाधिवेशन गर्ने समयावधी एक बर्ष मात्र छ । तर, सभापति देउवा विधानमा रहेको विशेष परिस्थितिमा महाधिवेशनको समय एक बर्ष थप गर्न पाउने बैधानिक प्रावधानलाई अँगालेर कार्यकाल लम्व्याउने दाउमा रहेको उनीहरुको तर्क रहेको छ ।

सभापति देउवाको यस्तो चालबाजीलाई नजिकबाट नियालीरहेका कोइराला परिवारका सदस्यहरुले प्रतिवाद गर्न थालेका छन् । विगत तीन बर्षदेखि नै देउवाप्रति नरम व्यवहार गर्दै आएका महामन्त्री डा. शशांका कोइराला, समदुरीको सम्वन्ध राख्ने केन्द्रीय सदस्य सुजाता कोइराला र एक बर्षदेखि देउवाविरुद्ध लागेका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको जीपी फाउण्डेसनको प्लेटफर्म मार्फत सभापति देउवालाई चुनौति दिन थालेका छन् । कोइराला परिवारका तीनै सदस्य एक भएको सन्देश दिन सुजाता कोइरालाले गत भदौ २२ गते आफ्नै निवास मण्डिखाटारमा दिवा भोजको आयोजना गरेकी थिइन् ।

सुजाताले मंसिर २ गते विराटनगरमा जीपी फाउण्डेसनको केन्द्रीय कार्यालय उद्घाटन समारोह आयोजना गरेर पार्टीको आगामी महाधिवेशनमा तीनै कोइराला मिलेर पार्टीको नेतृत्व दिने सन्देश प्रवाह गरिन् । त्यसपछि हरेक प्रदेशमा स्थापना गरिएका जीपी फाउण्डेसनको कार्यालय उद्घाटनको नाममा तीनै कोइरालाले महाधिवेशमा आफूहरु एकजुट भएर लाग्ने सन्देश औपचारिक रुपमा दिँदै आएका छन् ।

बीरगंजमा गत माघ ४ गते जीपी फाउण्डेसनको कार्यक्रममा कोइराला परिवारका तीन सदस्य शशांक, शेखर र सुजाताले आफूहरु एक जुट भएको सन्देश मात्र दिएनन कि सभापति देउवामा पार्टी हाक्ने क्षमता, योग्यता र विवेक समेत नभएको आरोप लगाए । उनीहरुले देउवाकै कारण पार्टीमा गुटहरु मौलाउँदै गएको आरोप लगाएका थिए । कोइराला परिवारका तीन नेताले आफूमाथि लगातार औपचारिक रुपमा आलोचना गर्न थालेपछि देउवाले पनि बीरगंजमै कार्यक्रम गर्न लगाएर कोइरालाहरुको झाँको झारे । १५ बर्षअघि मुलुकमा संकटकाल लगाउन संसदमा प्रस्ताव लैजाने तयारी गर्दै जाँदा र ससद भंग गर्दाको झझल्को दिने गरी देउवाले कोइराला परिवारका तीन सदस्यले एकै तीरले प्रहार गरे । उनको आरोप थियो, हामी आन्दोलन गर्दै गर्दा उनीहरु कहाँ थिए ? देउवाको आक्रोसको पारो यति चढेको थियो कि उनले आफूहरु प्रहरीले यातना दिएर जेलमा रहँदा यी कोइरालाहरु कहाँ थिए ? देउवाले कोइराला थर भएकै आधारमा कांग्रेसमा राजनीति गर्न नपाईने भन्दै बिरासतको प्रभाव जमाउन खोज्ने कोइरालात्रयलाई चुनौति समेत दिए ।

देउवाको आक्रोस समन गर्न कोइराला परिवारका तीन सदस्यले कुनै प्रतिक्रिया नदिइ नयाँ स्वरुपमा प्रस्तुत भएका छन् । उनीहरुमध्ये अन्तरमुखी स्वभावका महामन्त्री डा. शशांक मात्र होइन, कडा र हक्की स्वभावकी सुजाता र कुटनीतिक शैलीमा प्रस्तुत हुने शेखरले समेत देउवाको सार्वजनिक अभिव्यक्तिप्रति कुनै प्रतिक्रिया दिएनन् । बरु शेखरले उल्टै देउवालाई पार्टीको आदरणीय सभापति भएको र उहाँले बोलेको कुरा सत्य हो वा होइन भन्ने थाहा नपाइ प्रतिक्रिया दिने आफूहरुको पारिवारिक संस्कार नै नभएको भन्दै घुमाउरो भाषामा सभापति देउवालाई सस्कार नभएको रुपमा चित्रित गर्न खोजे ।

देउवासँग कोइराला परिवारको सम्वन्ध
कोइराला परिवारका नेताहरुसाग सभापति देउवाको सम्वन्ध निकै उतारचढाउपूर्ण छ । २०२७ सालमा नेपाल विद्यार्थी संघको सभापतिमा इच्छा देखाउँदा देखाउँदै पार्टी सभापति बीपीले देउवालाई सभापतिको रुपमा अघि सारेका थिए । बीपीको निधनपछि सभापति कृष्णप्रसाद भट्टराईँग नजिक भएका देउवालाई उच शिक्षा अध्ययनको अवसर उनैले दिलाएका थिए ।

उच्च शिक्षा अध्ययनपछि २०४६ सालमा नेपाल फर्किएका देउवा तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइरालाकै समिपमा आएका थिए । गिरिजाप्रसाद कोइरालाको विश्वास जितेका देउवा २०४८ सालको आम निर्वाचनमा कोइराला नेतृत्वकै क्याविनेटमा गृह मन्त्री जस्तो प्रभावशाली मन्त्री बन्ने सौभाग्य पाए । ५० सालमा भएको उपनिर्वाचनमा किसुनजी काठमाडौं १ बाट उम्मेदवार हुँदा उनले सघाएनन बरु नसघाउने सरकारको लाईन भएको सूचना दिएर किसुनजीसँग पनि नजिक भए ।

२०५१ को मध्यावधी निर्वाचनमा कांग्रेसले बहुमत नल्याएपछि गिरिजाप्रसाद कोइराला आफै संसदीय दलको नेता त भए तर २०५२ मा सर्बसम्मतले देउवालाई संसदीय दलको नेता बताए । शेरबहादुरसँग गिरिजाप्रसादको किचन क्याविनेटका प्रभावशाली सदस्य सुशील कोइरालाको सम्वन्ध त्यति सुमधुर थिएन । तर गिरिजाप्रसादलाई खुमबहादुर र शेरबहादुरमध्ये एकलाई रोज्नु पदा शेरबहादुरलाई नै रोजेर प्रधानमन्त्री बनाए ।

देउवा प्रधानमन्त्री भएपछि कोइराला परिवारका सदस्यको खटन पटन प्रभावलाई देउवाले हस्तक्षेपको रुपमा बुझ्न थाले । अन्त्यमा देउवाको सरकार गिराउन कांग्रेसका दुइ सांसदको भूमिका हुनुमा गिरिजाप्रसाद दोषी भएको बुझ्ने देउवा कोइराला परिवारका सदस्यसँग टाढिन थालेका थिए । अन्ततः देउवाको प्रत्यक्ष रुपमा बिरोध नगरे पनि २०५४ सालमा गिरिजाप्रसाद कोइराला आफै प्रधानमन्त्री भए र ५५ सालमा आम निर्वाचनको घोषणा गरी भावी प्रधानमन्त्री किसुनजी भनेर प्रचार गरे ।

२०५६ सालको निर्वाचनमा कोइराला र भट्टराई दुवै नेतासँग समदूरीको सम्वन्धमा पुगेका देउवा एक बर्षपछि भने कोइराला परिवारप्रति कट्टर विरोधीको रुपमा प्रस्तुत भए । २०५६सालको अन्त्यमा गिरिजाप्रसाद कोइरालाले किसुनजीलाई हटाएरर प्रधानमन्त्री हुँदा देउवा पहिलो पटक बेखुसी भए । २०५८ साल साउनमा गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीबाट राजिनामा दिए पछि संसदीय दलको निर्वाचनमा तीन जना उम्मेवार बन्ने आकांक्षीको रुपमा देखा परे ।

गिरिजाप्रसादको भित्री आसय सुशील कोइराला नेतृत्वमा आए हुन्थ्यो भन्ने लागेको थियो । तर, सुशिलले सांसदलाई मनाउन र फकाउन सक्दैनन भन्ने बुझेका कोइरालाले देउवाको बिरुद्धमा मत हाल्न सिंहदरबार पनि आएनन् । देउवा र सुशीलबीच भएको संसदीय दलको नेताको निर्वाचनमा देउवाले सुशील कोइरालालाई करिव ३० मतको फरकमा पराजित गरे । गिरिजाप्रसादले सुशीलको सट्टामा खुमबहादुर खड्का र चक्रप्रसाद बास्तोलामध्ये एकलाई उम्मेदवार बनाउन चाहेका थिए ।

यसरी कोइरालाकै भ¥याङ चढेर राजनीतिमा प्रवेश गरेका देउवा कोइरालाहरुकै प्रतिष्पर्धीको रुपमा स्थापित भएका थिए । उनी प्रधानमन्त्री भएपछि संकटकाल लगाउने बिषयमा पार्टीले लिएको निर्णय र अडान विपरित जाँदा उनले २०५९ सालमा प्रतिनिधिसभा भंग गरेका थिए । सोही बर्षको असार ४ गते अलग पार्टी घोषणा गरेका देउवा २०५९ साल असोज १८ गते प्रधानमन्त्रीबाट हटाइएका थिए ।

शाही शासन आउनुअघि २०६१ सालमै प्रधानमन्त्रीमा नियुक्त भएका देउवा नेतृत्वको सरकारविरुद्ध समेत नेपाली कांग्रेसले सडकमा आन्दोलन गरेको थियो । जनआन्दोलन २०६२, ०६३ अघि भएको १२ बुँदे समझदारीका समेत हस्ताक्षर गर्न अनकनाएका देउवा आन्दोलन सफल भएपछि गिरिजाप्रसाद कोइरालालाई नेता मानेर कांग्रेसमा २०६४ साल भदौमा समाहित भएका थिए ।

पार्टी एक भएपछि गिरिजाप्रसादका सारथी बनेका देउवाले २०६६ सालमा सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउने सभापति गिरिजाप्रसादको प्रस्तावलाई पूर्ण समर्थन गरेका थिए । सो निर्णयबाट सुजाता खुसी भए पनि तत्कालिन कार्यवाहक सभापति शुशील कोइराला भने खुसी भएनन् । २०६७ सालको पार्टी महाधिवेशनमा सुशील कोइरालासँग पराजित देउवाले यसअघि संसदीय दलको निर्वाचन २०६५ सालमा रामचन्द्र पौडेलसँग पराजित भएका थिए । २०७० सालको आम निर्वाचनपछि भएको पार्टी संसदीय दलको निर्वाचनमा सुशील कोइरालासँग पराजित देउवासँग कोइराला परिवारका जुनियर सदस्यहरु शेखर, शशांक र सुजाताको सम्वन्ध खासै खराब थिएन ।

२०७२ सालमा भएको पार्टीको १३ औं महामधिवेशनमा महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित हुनु र देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका अर्जुननरसिंह केसी पराजित हुनुलाई कांग्रेस भित्र धेरैले संयोग मात्र मानेका छैनन् । सुजाता कोइराला र शेखर भने देउवाको बिषयमा मौन थिए । तर २०७४ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौट गर्ने संसदीय वोर्डमा डा. शेखर अटाउन नसकेपछि उनी देउवाबिरुद्ध कस्सिएर लागेका थिए ।

देउवा सोही बर्ष प्रधानमन्त्री हुँदा समेत शेखरले गृह वा परराष्ट् मन्त्रीको आशा गरेका थिए । तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने वेलामा आफूलाई अर्को पटक चान्स दिने आश्वासन दिएका देउवाले आफै प्रधानमन्त्री हुँदा समेत अवसर नदिएपछि शेखर देउवाप्रति रुष्ट बनेका थिए । संसदीय वोर्डमा आफू नगरेको चुनाव समेत हारेपछि शेखरको प्रहार सभापति देउवाप्रति रही रह्यो । तर, सांसद भएका शेखर र सुजातासहित मिनेन्द्र रिजाल र नारायण खड्काले समेत संसदीय दलको निर्वाचनमा प्रकाशमानको सट्टा देउवालाईनै सघाएको त्यतिबेला पनि चर्चा चलेको थियो ।

तर, कोइराला परिवारका सदस्य एकै ठाउँमा आउनुपर्ने दबाब परेपछि पहिले सुजाता र पछिल्लो तीन चार महिनादेखि महामन्त्री कोइराला पनि देउवाबिरुद्ध खुलेर लागेको अनुमान गरिँदैछ । एक सय किलो माथिका माला लगाएर कोइराला परिवारका तीन सदस्यले प्रचार गरेको सहन नसकी देउवाले फागुन ८ गते बीरगंजमै गएर कोइराला परिवारका सदस्यलाई चुनौति दिएको कांग्रेस भित्र चर्चा चुलिएको छ ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ फाल्गुन १३, १०: ११

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७५ फाल्गुन १३, १०: ११

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७५ फाल्गुन १३, १०: ११

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...