
भरतपुर । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आसपास बस्दै आएका स्थानीयलाई रंगाशाला वरिपरी लगाईको तारबार डोजर लगाएर भत्काएको भन्दै तल्लोस्तरको गालीगलौज र अपमान गरेको भन्दै माफी माग्न माग गरेका छन् ।
राष्ट्रिय कलाकारको पहिचान बनाएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले रंगशाला निर्माणस्थल आसपासमा बनाएको जस्तापाताको बार स्थानीयले भत्काइदिएपछि त्यसको विरोधमा स्थानीयलाई ‘अपराधी’, ‘देशद्रोही’, ‘नागरिकता खोस्नुपर्ने’, ‘जुत्ताको माला लगाउनु पर्ने’ जस्ता अत्यन्तै तल्लोस्तरका अभिव्यक्ति दिएको भन्दै स्थानीय पाँच वटा क्लवका अध्यक्षहरुले आपत्ति जनाउँदै माफी माग्नुपर्ने माग गरेका हुन् ।
अपमान हुँदा पनि चुपचाप बसेका पीडित गाउँलेहरूले आफैले भत्काएको बार पुनः बनाइ दिनुका साथै जनश्रमदान गरेर बार उठाइ दिएका पनि छन् । स्थानीय टोल विकास संस्थाहरूले ‘धुर्मुस–सुन्तली फाउण्डेशन’लाई सुरक्षा दिने प्रतिवद्धता जनाउँदै रंगशाला निर्माण कार्य शुरू गर्न आग्रह समेत गरेका छन् । तर, स्थानीयहरूले आपत्तिजनक र अपमानित हुने गरेर ‘धुर्मुस’ र ‘सुन्तली’ले दिएका अभिव्यक्तिमा माफी माग्नुपर्ने अडान पनि राखेका छन् ।
उनीहरुले स्थानीय युवा तथा नेकपाका नेता प्रकाश कँडेलसहित पक्राउ परेका सबैलाई विनासर्त रिहाइको माग गरेका छन् । पाँच वटा टोल विकास संस्थाहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पक्राउ परेका प्रकाश कँडेलसहितका स्थानीयलाई विनासर्त रिहाइ गर्न माग गरेका हुन् । उनीहरुले पक्राउ परेकालाई नछाडिए आन्दोलनको सामना गर्न प्रहरी, स्थानीय प्रशासन र महानगरपालिकालाई चेतावनी समेत दिएका छन् ।
स्थानीय ५०–६० घरलाई उठिबास लगाउने गरेर ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ ले डीपीआर तयार पार्न लागेपछि स्थानीयले आफूहरूको घरजग्गा सुरक्षाको माग गर्दै दुई दिन अगाडि रंगशाला बनाउने स्थानमा लगाइएको जस्तापाताको बार भत्काइदिएका थिए । आबेगमा आएर रंगशाला निर्माणस्थलका स्थानीयविरुद्ध मिडियाबाजी गरेका ‘धुर्मुस’ र ‘सुन्तली’ ले माफी माग्नुपर्ने अवाज स्थानीयले उठाएका छन् ।
स्थानीय प्रकृति टोल सुधार समिति सदस्य आस्था गुरुङ, राधाकृष्ण टोल विकास संस्थाकी कोषाध्यक्ष कल्पना भट्टराई, पालुवा टोल सुधार समितिका अध्यक्ष मीनबहादुर बस्नेत, शान्तिदीप एकता टोल संस्थाका सचिव बाबुराम भट्टराई, रामपुर टोल विकास संस्थाकी सचिव रीता वास्ताकोटी लगायतले स्थानीयलाई विकास विरोधी र कमिसनखोरी भनेर आरोप लगाएको भन्दै निराधार आरोप फिर्ता लिन माग गरेका छन् ।
उनीहरुले गरिव र निमुखा जनतामाथि राज्यसत्ताको चरम दुरुपयोग गर्दै धरपकड गर्ने, चरित्र हत्या गर्ने, र जनतालाई दुख दिने कार्य तुरुन्त रोक्न माग गरेका छन् । पीडितहरुले आफ्नो माग पुरा नगरे वडा कार्यालयमा धर्ना दिदै चरणबद्धरुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
रामपुर कृषि क्यापस जाने बाटोको पूर्वपट्टी प्रस्तावित रंगशाला छ भने पश्चिमतर्फ स्थानीयवासीको घर जग्गा पर्छ । कृषि क्याम्पस जाने बाटो हाल ९ मिटरको छ । तर, सडक विभागले सो बाटोको चौडाइ ३६ मिटर बनाउने भनी मापदण्ड निर्धारण गरेको छ । सडक मापदण्ड अनुसार करिव १३÷१३ मिटर छोड्नुपर्छ ।
धुर्मुसले रंगशालाको लागि ४० विघा जमिन आवश्यक पर्ने तर आफूहरुसँग २० विघा जग्गा मात्र रहेकोले डीपीआर अनुसार कति छोड्न सकिन्छ त्यति मात्र छोड्ने नत्र नछोड्ने भन्दै स्थानीयलाई धम्क्याएका थिए । यसरी करिव २६ मिटर सडकको लागि आफूहरुको मात्र जग्गा सडक विभागले अधिग्रहण गर्ने देखिएपछि स्थानीयले फाउण्डेसनलाई आग्रह गरेका थिए ।
तर, धुर्मस सुन्तलीले प्रधानमन्त्रीसँग आफूहरुको प्रत्यक्ष संलग्नता रहेको भन्दै धम्क्याएका थिए । यसरी धुर्मुसले रंगशाला निर्माण गर्ने नाममा आफूहरुको घर जग्गा नै उठीवास लगाउने देखेपछि स्थानीयहरु बाध्य भएर बाटोलाई नछोडी लगाइएको तारबारलाई भत्काउन बाध्य भएका थिए ।
राज्य सत्ताकै आड भरोसामा फाउण्डेसनको नाममा धुर्मुस र सुन्तलीले चितवनका प्रत्येक स्कुलमा गएर एक विद्यार्थी बराबर एक सय रुपैयाँ उठाई रहेका छन् । अन्य कुनै निमुखा सर्बसाधरण व्यक्तिले यदी प्रत्येक विद्यार्थीबाट त के उद्योगीसँग रकम माग गरेको भए प्रहरीको चिसो छिँडीमा पुगीसक्थे । तर राज्य सत्ताको आडमा स्वदेश र विदेशमा बस्ने नेपालीको कोमल मन र भावनालाई भड्काएर धुर्मुस र सुन्तलीले रकम संकलन गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक (एसपी) दानबहादुर मल्लले राजनीतिक प्रभाव र दवावमा परेर प्रकाश कँडेलसहितका व्यक्तिहरूविरुद्ध अदालतमा मुद्धा दर्ता गराएको स्थानीयको आरोप छ । कुनै बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’को अंगरक्षक रहिसकेका एसपी मल्लले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको दवावमा प्रकाश कँडेलसहितका आफ्नै मतदाताहरूविरुद्ध मुद्धा दर्ता गराउन दवाव दिएको स्थानीय पीडितहरूको गुनासो छ ।
रंगशाला जाने सडक विस्तारको विषयलाई लिएर धुर्मुस सुन्तली फाउण्डेसन र स्थानीयवीच विवाद थियो । यो विवाद मिलाउन स्थानीयहरूले पटक पटक लिखित र मौखिक रुपमा ‘धुर्मुस’ र ‘सुन्तली’का साथै मेयर रेणु दाहाललाई पनि आग्रह गर्दै आएका थिए ।
आफूहरूको मागको सुनुवाई कतैबाट नभएपछि बाध्य भएर दवाव दिन बार भत्काएको प्रतिक्रिया सामाजिक अगुवा रामचन्द्र बस्ताकोटीले दिएका छन् । सामाजिक अभियन्ता रीता बस्ताकोटीले आफूहरूको मागको सुनुवाई नभएपछि बाध्य भएर बार भत्काएको बताइन् । उनले आफूहरूको उठिबास लगाउन खोजेपछि बाध्य भएर बार भत्काएको स्वीकार गरिन ।
रामपुर कृषि क्याम्पससँग कुरा गरेर बाटो निकाल्ने सहमति भइसकेको अवस्थामा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को रंगशाला निर्माणको कुराले बिथोलेर विवाद ल्याइदिएको स्थानीयहरूले बताएका छन । रंगशाला र स्थानीयका बीच सडक विस्तारलाई लिएर विवाद छ भन्ने कुराको जानकारी मेयर रेणु दाहाल र वडाध्यक्षलाई थियो ।
तर, समयमा समस्या समाधानमा उनीहरूले चासो नदेखाउँदा गाउँलेमाथि यस्तो आरोप लगाइएको स्थानीयको भनाई छ । रंगशाला भत्काउन प्रमुख भूमिका खेल्ने भनिएका प्रकाश कँडेलका पारिवारका सदस्यले भने ‘अहिलेको शासनमा कसैलाई सुध्रिने मौका नदिई निरीह बनाएर ओरालो लागेको हरिणलाई खेदेझैं खेदेर उसको राजनीतिक र सामाजिक जीवन सिध्याउने हो भने बर्गसंघर्षका कुरा गर्दै आवाजहीनहरूको हितमा काम गर्ने आदर्श बोकेको पार्टी भन्दै बन्दुक बोकाएर यहाँसम्म ल्याएको औचित्य के रह्यो ?’ भनी प्रश्न गरेका छन् ।
कँडेल माओवादी केन्द्रका यस्ता कार्यकर्ता हुन जसले भरतपुर महानगरपालिकामा दुई बर्षअघि भएको स्थानीय तहको निर्वाचनमा मेयरमा उम्मेदवार बनेकी रेणु दाहालले चुनाव हार्ने अवस्था आउँदा चुनाव जित्नु पर्छ भन्दै मतपत्र च्यातेका थिए । तर सोही पार्टीका नेताले अहिलेको घटना महाभारत मच्चाएको भन्दै सार्वजनिक मुद्दा चलाउन सर्वदलीय बैठकको निर्णय गराइएको थियो ।
निर्माण गर्न लागिएको रंगशालाअघि खुल्ने बाटोमा प्रकाश कँडेलको घर जग्गा केही पर्दैन । तर आफूहरुको घर जग्गा उठीबास लाग्ने भयो भनेर प्रकाशसँग सहयोग माग्न जानेहरु भने केही जोगिएका छन् । पीडितहरूका तर्फबाट गरिएको विद्रोहलाई राज्यले त्रुटि देखेको भन्दै सुक्ष्म अध्ययन, अनुसन्धान र मूल्यांकन गरेर कार्वाही अगाडि बढाएमा न्याय खोज्न बाध्य हुने स्थानीयले चेतावनी दिएका छन् ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...