
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई पाइलट भनिएका अध्यक्षद्वय प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकार नेतृत्वको विषयलाई लिएर एक बर्ष नपुग्दै बिबाद बाहिरिएको छ ।
तत्कालिन नेकपा एमालेका अध्यक्ष ओली र तत्कालिन नेकपा माओवादीका अध्यक्ष दाहालबीच पार्टी एकताको घोषणासँगै भएको प्र्रदेश र संघीय निर्वाचनको मुखमा भएको सहमति कार्यान्वयनको बिषयलाई लिएर किचलो शुरु भएको छ ।
दुई नेताबीच समान हैसियत र समान अवधीसम्म पार्टी र सरकारको नेतृत्व लिने सहमति भएको थियो । त्यो सहमतिमा तत्कालिन माओवादीको तर्फबाट जनार्दन शर्मा र तत्कालिन नेकपा एमालेको तर्फबाट तत्कालिन उपमहासचिव विष्णु पौडेलले हस्ताक्षर गरेका थिए । लिखित सहमति यसअघिनै सार्वजनिक भइसकेको थियो । तर त्यही विषयलाई लिएर प्रचण्डले बुधबार एक टेलिभिजनमा दिएको अन्तर्वार्तापछि सरकारको नेतृत्व लिने बिषयमा दुवै अध्यक्षबीच रहेको मनमुटाव वाहिर आएको हो ।
प्रचण्डले पाँच वर्ष सरकार सहज ढङ्गले चलोस भनेर आफू र ओलीबीच भएको सहमति नौलो कुरा नभएको जनाउँदै दुबैबीच सहमति भएमा आफू सत्ताको नेतृत्वमा नगइ पार्टी नेतृत्वमा जान पनि तयार भएको बताएका छन् ।
उनले समान अवधिका आधारमा सरकारको नेतृत्व लिने भनेपछि पाँच बर्षको आधा समय साडे दुई बर्षपछि आफूले सरकारको नेतृत्व लिने संकेत गरेका थिए । सरकारलाई अस्थिर बनाउने गरी नेतृत्व परिवर्तन गर्ने आफ्नो चाहना नभए पनि समझदारी अनुसारनै ओली र आफूले सहमति कार्यान्वयन गर्ने बताए ।
तर आफू भारतमा भएको बेला सत्ता नेतृत्व आलोपालो भन्ने अर्का अध्यक्षको भिडियो अन्तर्वार्ता सार्वजनिक भएको भन्दै प्रधानमन्त्री ओली निकै रुष्ट बनेका छन् । भारतबाट शुक्रबार आएका ओलीले दाहाललाई शनिबारसम्म पनि भेट गरेका छैनन् ।
उनले आफू जुन बेला विदेश गयो, त्यसबेला कुनै न कुनै यस्ता खालका कुरा आउने गरेको भन्दै स्थिरता भनेको बहुमतको सरकारमा र नेताहरुको बीचमा सहमति र सहकार्यमा निर्भर हुने बताए । उनले दुई अध्यक्षबीच एक बर्षअघि सार्वजनिक भएको सहमतिलाई अहिले बेलुन बनाएर फुक्न आवश्यक नभएको भन्दै दाहाललाई अहिले नयाँ विषय जस्तो उछालेर ठूलो समस्या आइपरो जस्तो गरेर जनतामा, कार्यकर्तामा आशंका सन्देश हुने गरि चर्चा किन गर्नुप¥यो भनी प्रश्न गरेका छन् ।
दाहालले महाधिवेशनसम्म जाँदा देशको परिस्थिति अनुसार आफूलाई पार्टीको जिम्मेवारी सुम्पिएर ओलीजी सत्तामै रहन चाहेमा सहमति गर्न सकिने खुलाएका थिए । दाहालले एकताको बेलामा गरेको समझदारी अनुसार कार्यान्वयन नभए वा बेइमान गरिएमा जे पनि हुन सक्ने चेतावनी दिएका थिए ।
प्रचण्डको अन्तर्वार्ता दिएको भिडियो विहीबार सार्वजनिक हुँदा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली भारतका प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा भाग लिन अतिथिको रुपमा नयाँ दिल्ली गएका थिए ।
२०७४ साल फागुन ३ गतेदेखि पाँच बर्षसम्मको लागि नेकपा नेतृत्वले सरकारको नेतृत्व गर्नेछ । यसका लागि ओलीले समान अवधि भन्नाले दुई बर्ष ६ महिना अर्थात २०७७ साल साउन ३ गतेसम्म सरकारको नेतृत्व गर्नेछन् । तर दुई अध्यक्षबीच भएको सहमतिको कार्यान्वयन गर्ने समय १४ महिना वाँकि छँदै किन अहिले उछालियो भन्ने बिषयले धेरैलाई शंकाको सुविधा दिएको छ ।
प्रचण्डले समान अवधिको आधारमा सत्ताको नेतृत्व गर्ने समय आउनुअघि त्यस विषयको उठान घुमाउरो पाराले महाधिवेशनमा उठाउन खोजेको जस्तो देखिन्छ । पार्टी औपचारिक रुपमा एकता भएको एक बर्ष वितेपनि महाधिवेशन गर्ने बिषयमा दुवै अध्यक्षबीच सहमति र छलफलको अत्तोपत्तो छैन् । सहमतिमा आलोपालो भन्ने शब्दले नकारात्मक अर्थ र सन्देश जान सक्ने भयले समान अवधि भन्ने शब्द प्रयोग गरिएको छ ।
दाहालले देशमा सुशासन र विकासले गति लियो र जनतामा सन्तुष्टि आयो भने आफूले प्रधानमन्त्री बन्न नचाहने र आफूलाई पार्टीको नेतृत्व दिए मान्य हुने बताएका छन् । उनले आफूलाई प्रधानमन्त्री पद नै चाहिन्छ भनेर अड्डी नलिएको शब्द प्रयोग गरे पनि ‘सुशासन कायम भइ विकासले गति लिने र जनता सन्तुष्ट भए’ भन्ने वाक्यांश वा सर्तले ओलीलाई चेतावनी समेत दिएको छ ।
ओली नेतृत्वको सरकारको अहिलेको स्थिति हेर्दा शान्ति सुरक्षाको अभाव, भ्रष्टाचारमा बृद्धि र बिकास बजेट ५० प्रतिशत पनि खर्च नभएको अवस्थामा यिनै आरोप लगाएर अब १४ महिनापछि वा त्यो भन्दा केही अगावै सत्ताको नेतृत्व गर्न चाहेको देखिन्छ ।
दाहालले ओलीसँग सहमति भएमा एउटाले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व ग¥यो भने सन्तुलन मिल्छ भनेर प्रष्ट्याउन खोज्दै प्रधानमन्त्री पद आफूलाई नदिए पार्टीको एकल नेतृत्व आफूलाई दिनुपर्ने पक्षमा लविङ गरेको स्पष्ट हुन्छ ।
दाहालले समय आएपछि ओलीले सत्ता हस्तान्तरण गर्न अप्ठेरो नमान्ने स्पष्टै भनेका छन् । उनले सरकारले राम्रो काम गर्न नसक्दा पनि ओलीलाई सरकारमै बस्न मन भएमा आफूलाई पार्टीको नेतृत्व दिनैपर्ने पक्षमा अडिग रहेको जस्तो देखिन्छ । उनले सहमतिभन्दा विपरीत कुराहरू गर्न थालियो भने चीजहरू अर्काे ढङ्गले जान्छ भने ओलीलाई राम्रैसँग चेतावनी दिएका छन् ।
ओलीले कसैलाई खुसी लाग्छ भने आफू चार–पाँच दिनपछि सरकारबाट हट्नेसम्म भनेका छन् । तर उनको यो भनाई अडान वा सम्भावना होइन । उनले कसैले चाहँदैमा दुई महिना वा दुई हप्ता सम्म सरकारमा बस्ने होइन भनी प्रष्ट्याएका छन् । आफू सरकारमा दुई वर्ष वा तीन वर्ष जति बसे पनि नेकपाको बहुमतको सरकारको विषय भएको तर्क अघि सारेका छन् । ओलीले सरकार अस्थिर र समस्याग्रस्त छ भनेर सन्देश दिन खोजिएको भन्दै दाहालको यस्तो गतिविधिलाई गलत भनी टिप्पणी गरेका छन् ।
देशको विकास कसरी हुनसक्छ, स्थिरता कसरी हुन्छ भन्ने तर्फ चासो नलिएर हरेक कुराको विरोध गर्नेपर्ने, नकारात्मक खोज्नुपर्ने, नराम्रो उचाल्नुपर्ने, देशलाई माया गर्ने र देशमा केही राम्रो होस् भनेर सोच्नै नहुने ? भनेर प्रश्न गर्दै अर्का अध्यक्ष दाहाललाई कटाक्ष गरेका छन् ।
उनले यस्तो घटनालाई आफूले आश्चर्यको रुपमा लिएको भन्दै दाहालप्रति चरम असन्तुष्टी व्यक्त गरेका छन् । ओलीले पार्टी एकता हुँदा दुई पार्टीका बीचमा केही सहमति भएर नै एकता भएको भन्दै त्यसलाई खलबल्याउने गरि केही चर्चा गर्नुपर्ने आवश्यकता नरहेको भन्दै अर्का अध्यक्ष दाहाललाई जवाफ फर्काएका छन् ।
प्रधानमन्त्री ओली छिमेकी भारत गएका बेला प्रधानमन्त्री ओलीले पार्टीेका अर्का पाईलट भनिएका अध्यक्षको चुनौतीपूर्ण अभिव्यक्तिको पनि राम्रैसँग झटारो हानेका छन् । ओलीले मदन आश्रित स्मृति दिवसमा जनताको बहुदलीय जनवादलाई समायानुकूल ढङ्गले सिर्जनात्मक प्रयोग गर्ने भनाई राखेपछि उप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले देशव्यापी छलफलमा जाने नै बताएका थिए । ओली र पोखरेलको यस्तै अभिव्यक्तिबाट आफूलाई विचार र सिद्धान्तको आधारमा पुरानो एमालेले लतारेर लग्न खोजेको प्रचण्डको आशंका छ ।
ओलीले गृहमन्त्री रामबहादुर थापासँगै पूर्वमाओवादी नेतालाई आफूतिर तान्न खोजेको पनि प्रचण्डलाई परेको अर्को आशंका हो । तत्कालिन नेकपा एमालेबाट आएका महासचिव विष्णु पौडेल र सचिवालय सदस्य बामदेव गौतमले दाहाललाई साथ दिएसँगै चिडिएका ओलीले पनि पूर्वमाओवादीबाट आएका अर्का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादललाई आफू निकट बनाएका छन् । बामदेवले त अब सरकारको नेतृत्व प्रचण्डले लिनुपर्छ भन्दै हिँडिरहेका छन् ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...