बरियतालाई उछालेर ओलीलाई संकटमा पार्दै नेपाल – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

बरियतालाई उछालेर ओलीलाई संकटमा पार्दै नेपाल

प्रचण्डलाई प्रधानमन्त्री र बामदेवलाई उपाध्यक्षको ‘अफर’ पछि विभाग गठन

काठमाडौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच एकता भएर १४ महिनाअघि गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्कूल विभाग कसले पाउने भन्ने विवाद अन्तत शुक्रबारबाट टुंगिएको छ । पूर्वएमाले महासचिव इश्वर पोखरेल र पूर्वमाओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ दुवैले स्कूल विभाग प्रमुखमा दाबी गरेपछि तीन महिनादेखि विभाग गठनको प्रक्रिया नै अनिर्णित भएको थियो ।

सिंगापुरमा एक साता लामो स्वास्थ्य परिक्षणपछि नेपाल फर्किएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको नेतृत्व र सरकार दुवैको नेतृत्व सम्हाल्न बम्पर अफर गरेपछि बिबादको गाँठो फुकेको हो । प्रचण्डले स्कूल विभागको नेतृत्व आफ्नो समूहले पाउने सम्भावना रहेकै बेला पार्टी नेतृत्व र प्रधानमन्त्री पद प्राप्त गर्ने आश्वासनमा साटेको भनेर पूर्वमाओवादी रुष्ट समेत बनेका छन् ।

अध्यक्ष ओलीले पार्टीको नेतृत्व प्रचण्डलाई दिने आश्वासनसँगै पार्टी उपाध्यक्षमा बामदेव गौतमलाई ल्याउन प्रस्ताव समेत गरेका छन् । गौतमलाई उपाध्यक्षमा गरिएको प्रस्तावलाई प्रचण्डले समेत ग्रिन सिग्नल दिएपछि स्थायी समितिको आगामी बैठकबाट अनुमोदन गर्ने निर्णय समेत भएको छ ।

बामदेव गौतमले आफूलाई वर्दियामा हराउन, हुम्ला र काठमाडौं ७ वाट नेकपाको तर्फबाट विजयी सांसदहरु छक्कबहादुर लामा र रावबीर मानन्धरले राजिनामा दिएर क्षेत्र खाली गराइदिने प्रस्ताव र विकास प्राधिकरणको प्रमुख बनाउने जस्ता प्रस्तावलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अश्वीकार र असहयोग गरेको भन्दै असन्तुष्ट थिए । गौतमले ओलीविरुद्ध ९ सदस्यीय सचिवालयमा समेत अल्पमतमा पार्ने गरी भूमिका खेलेपछि ओली तिलमिलाएका थिए ।

ओलीबिरुद्ध बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलाई उभ्याउन सफल भएका गौतमले रामबहादुर थापा बादललाई समेत न्युट्रल बनाउन भूमिका खेलेका थिए । थापा भने पछि ओलीको निकट हुन पुृगे ।

ओली पक्षमा देखिएका महासचिव बिष्णु पौडेल बालुवाटार जग्गा विक्री प्रकरणमा मुछिएपछि र इश्वर पोखरेलले जनताको बहुदलिय जनवादको पक्षमा सार्वजनिक रुपमा अभिव्यक्ति दिन थालेपछि बिबादमा तानिएका थिए । यसरी ओलीको पक्षमा उभिने दुवै नेता बिबादमा तानिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत आफूविरुद्ध लाग्लान भन्ने त्रासमा रहेका ओलीले अन्तत बामदेवलाई च्यापेरै छाडेका छन् ।

उनले पूर्वमाओवादीबाट आफूलाई पूर्ण समर्थन हुने सम्भावना नदेखेपछि पछिल्लो एक महिना यता बामदेवको पक्षमा खुलेर लागेका छन् । पार्टीको संगठन विभाग जस्तो शक्तिशाली विभागको नेतृत्व गौतमलाई दिएसँगै धेरैले ओली र गौतमको साँठगाँठको आशंका गरेका थिए ।

ओलीले आफूसँग महाधिवेशनमा प्रतिष्पर्धा गरेका माधव नेपाललाई वरिष्ठता क्रमा चौथो स्थानमा पुर्याएका छन् । यसअघि नेपाल भने ओली र दाहालपछि तेश्रो वरियतामा थिए । नेपाललाई चौथो र खनाललाई तेश्रो वरियतामा राखेसँगै खनाल आफूलाई न्याय मिलेको भन्दै खुसी भएका छन् ।

उता नेपाल भने एकीकृत पार्टी निर्माणसँगै नेकपाको विधानमा उल्लेख भएको एक पद एक व्यक्तिको व्यवस्था लागू गर्नु पर्ने आवाज उठाउने भएका छन् । यसअघि गत पुसमा पनि सचिवालय सदस्य बामदेव गौतमले बिधान कार्यान्वयन गर्न भन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्ठ्यारो पारेका छन् ।

विधानको एक व्यक्ति एक पदको व्यवस्थालाई कार्यान्वयन गर्ने हो भने ओलीले तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद मात्र रोज्नु पर्ने छ । अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको एकल समहमतिको आधारमा बिधान विपरित प्रधानमन्त्री र अध्यक्ष दुवै पद एक्लै सम्हाल्दै आएका ओलीलाई बिधान कार्यान्वयन गर्न भन्दै नेपालले दबाब दिने रणनीति अख्तियार गरेपछि ओली सकसमा परेका छन् ।

उनी पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद आफैसँग राख्न चाहन्छन् । तर वरिष्ठ नेता नेपालले सार्वजनिक रुपमा विधान कार्यान्वनको लागि ध्यानाकर्षण र दबाब दिए भने के गर्ने भन्ने अन्योलमा परेका छन् । ९ सदस्यीय सचिवालयमा आफ्नो कार्यशैलीप्रति असन्तुष्ट बनेका रामबहादुर थापा बादललाई गृहमन्त्रीबाट हटाउन ओलीले पहिलो प्रयास गरेका थिए । उनले गृहमन्त्रीबाट थापालाई हटाउन प्रचण्डको साथ पनि लिएका थिए ।

पछि उनै थापा प्रचण्डभन्दा ओलीका भक्त हुन पुगेका छन् । त्यस्तै अर्का सचिवालय सदस्य वामदेव गौतम पनि वाउँठिएपछि ओलीले किसानको अध्यक्ष र संगठन विभागको प्रमुख बनाएका थिए । त्यसले पनि नपुगेर गौतम फकाउन ओलीले उपाध्यक्षको अफर पनि गरेका छन् ।

बरियतामै आफूलाई अन्याय गरेको भन्दै असयोग गर्दै आएका खनाललाई पनि बरियतामा तेश्रोमा ल्याएर खुसी बनाएका ओलीले अब नेपाललाई मनाउन कुन अस्त्रको प्रयोग गर्ने हुन यसै भन्न सकिन्न ।

गौतमलाई खुसी बनाएका ओलीले पार्टीको स्कुल विभाग प्रमुखमा इश्वर पोखरेल चयन गरेर आफ्ना दुई उत्तराधिकारी गौतम र पोखरेल नै हुन भनेर संकेत गरेका छन् । लामो समयदेखि बिवादित संगठनिक एकतालाई टुंग्याउदै नेकपा सचिवालय बैठकले पोखरेललाई स्कुल विभागसहित अन्य ३१ वटा विभागको नेतृत्व समेत तोकेको हो । बैठकले ३३ विभाग तथा सात वटा प्रदेश कमिटीका इन्चार्ज तथा सह इन्चार्जहरूका टुङ्गो पनि लगाएको छ ।

कुन नेतालाई कुन विभाग ?
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले स्कूल विभागको नेतृत्व दावी गरेको नारायणकाजी श्रेष्ठलाई प्रचार विभागको जिम्मेवारी दिइएबको छ । उनी पार्टी प्रवक्ता समेत हुन् । नेकपाको विदेश विभाग प्रमुखमा माधव नेपाललाई र उपप्रमुखमा राम कार्की अर्थात सुरेन्द्र कार्र्कीलाई तोकेको छ ।

नीति अध्ययन प्रतिष्ठानको प्रमुखको जिम्मेवारी झलनाथ खनाललाई र उपप्रमुखमा रामचन्द्र झालाई लिइएको छ । झा तत्कालिन नेकपा एमाले छाडेर माओवादी केन्द्रबाट नयाँ शक्ति पार्टी नेपाल हुँदै पुन माओवादीमा फर्किएका नेता हुन् । एमालेमा हुँदा झा झलनाथ खनाल निकट भनेर चिनिन्थे भने उनी मन्त्री समेत भएका थिए ।

गौतम प्रमुख भएको संगठन विभागको उपप्रमुखमा पूर्वमाओवादीका तर्फबाट जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । पोखरले प्रमुख बनाइएको स्कुल विभागको उप्रमुखमा नयाँशक्तिबाट माओवादीमा आएका देवेन्द्र पौडेललाई चयन गरिएको छ ।

श्रेष्ठ प्रमुख रहेको प्रचार विभाग प्रमुखको उपप्रमुखमा सूर्य थापालाई जिम्मेवारी तोकिएको छ । यूवा संगठनका संयोजक दीपशिखासँग सामाजिक सञ्जालमै तिक्तता पोखेका थापा झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए ।

गृहमन्त्री तथा पूर्वमाओवादी नेता रामबहादुर थापालाई राजकिय मामिला तथा सुशासन विभाग प्रमुखमा र पूर्वएमालेका गुरु बराललाई उपप्रमुखको जिम्मेवारी दिइएको छ । बन तथा वातावरण मन्त्री शक्ति बस्नेतलाई वन तथा वातावरण विभागको प्रमुखमा र तत्कालिन एमालेका चुडामणी जंगलीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङलाई संघीय संसदीय विभागको प्रमुखमा र सत्तारुढ दलका प्रमुख सचेतक पूर्वमाओवादी देव गुरुङलाई उपप्रमुख तोकिएको छ ।

पार्टी अध्यक्ष दाहालकी बुहारी तथा मन्त्री विना मगरलाई खानेपानी तथा सरसफाई विभागको प्रमुखमा र तत्कालिन एमालेकी ममता गिरीलाई उपप्रमुखमा चयन गरिएको छ । पूर्वमाओवादीका हरिवोल गजुरेललाई कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुखमा र पूर्वएमाले नेता कृष्णगोपाल श्रेष्ठलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

तत्कालिन एमालेका उपमहासचिव घनश्याम भूषाललाई प्रादेशीक मामिला विभागको प्रमुखमा थन्काइएको छ भने उपप्रमुखमा तत्कालिन माओवादीका परशुराम तामाङलाई जिम्मेवारी दिइएको छ । तत्कालिन एमालेका सचिव योगेश भट्टराईलाई पर्यटन प्रवद्धन तथा नागरिक उड्डयन विभागको प्रमुखमा र उपप्रमुखमा पूर्वमाओवादीका पाशाङ शेर्पालाई चयन गरिएको छ । योगेश दुई साताअघि मात्र मन्त्री भएका थिए ।

अर्थ विभाग प्रमुखमा सुरेन्द्र पाण्डे तथा उपप्रमुखमा डोरमणि उपाध्याय रहेका छन् । स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा पूर्वएमालेका राजेन्द्र पाण्डे र उपप्रमुखमा पूर्वमाओवादीकी अञ्जना विसंखे, स्थानीय तह विभागको प्रमुखमा पूर्वएमालेका युवराज ज्ञवली र उप्रमुखमा एमालेबाट माओवादी गएकी उर्मिला अर्याललाई जिम्मेवारी तोकिएको छ । मन्त्री बर्षमान पुनलाई जलश्रोत, सिँचाई तथा उर्जा विभागको प्रमुखमा र पूर्वएमालेका परशुराम मेघी गुरुङलाई उपप्रमुखको जिम्मेवारी तोकिएको छ ।

तत्कालिन माओवादीका टोपबहादुुर रायामाझीलाई यूवा तथा खेलकुद विभागको प्रमुख र पूर्वएमालेका नेता ठाकुर गैरेलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुखमा भौतिक पूर्वाधार मन्त्री रघुबी महासेठलाई र उपप्रमुखमा तत्कािलन माओवादीका हरि अधिकारीलाई चयन गरिएको छ ।

न्याय, कानून तथा मानवअधिकार विभाग प्रमुखको जिम्मेवारी पूर्वएमाले रघुजी पन्तले पाएका छन भने उपप्रमुखमा पूर्वमाओवादीका मुक्तिनारायण प्रधानले पाएका छन् । तत्कालिन माओवादी नेता तथा मन्त्री मातृका यादवलाई उपभोक्ता हित तथा आपूर्ती विभागको प्रमुखमा र पूर्वएमाले बलराम बाँस्कोटालाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

पूर्वएमालेका सचिव तथा पराराष्ट्र मन्त्री प्रदीप ज्ञवलीलाई निर्वाचन विभाग प्रमुखमा र उपप्रमुखमा तत्कालिन नयाँ शक्ति पार्टीबाट माओवादीमा आएका खिमलाल देवकोटालाई जिम्मेवारी दिइएको छ ।

सामान्य प्रशासन मन्त्री पूर्वएमालेका लालबाबु पण्डितलाई सामान्य प्रशासन विभाग प्रमुख र पूर्वसामान्य प्रशासन मन्त्री पूर्वमाओवादीकी नेतृ रेखा शर्मालाई उपप्रमुख बनाइएको छ । शहरी विकास विभागको प्रमुखमा पूर्वमाओवादीका लेखराज भट्ट र उपप्रमुखमा पुर्वएमालेका जगन्नाथ खतिवडा चयन भएका छन् ।

सहकारी तथा गरिवी निवासरण विभागको प्रमुखको जिम्मेवारी प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमाललाई दिइएको छ भने उपप्रमुखमा पूर्वमाओवादीका धर्मदत्त देवकोटालाई जिम्मेवारुी दिइएको छ । समाजकल्याण विभागको प्रमुखमा पूर्वएमाले केशवलाल श्रेष्ठ र उपप्रमुखमा एमालेबाट संघीय समाजवादी पार्टीमा गएर पुन माओवादीमा फर्किएका गोपाल ठाकुरलाई जिम्मेवारी दिइएको छ ।

पूर्वमाओवादी लडाकुको डिभिजन कमाण्डर भएका मन्त्री चक्रपाणी खनाललाई कृषि तथा भूमिसुधार विभाग र पूर्वकृषी मन्त्री पूर्वएमाले हरि पराजृलीलाई उपप्रमुखको जिम्मेवारी तोकिएको छ । श्रम मन्त्री तथा पूर्वएमाले गोकर्ण विष्टलाई श्रम तथा रोजगार विभागको प्रमुखमा र उपप्रमुखमा तत्कालिन संघीय समाजवादी फोरमबाट लोकतान्त्रिक फोरमको वरिष्ठ उपाध्यक्ष हुँदै तत्कालिन माओवादी प्रवेस गरेका रामेश्वर राय यादवलाई ल्याइएको छ ।

शिक्षा मन्त्री समेत रहेका पूर्वमाओवादी नेता गिरिराजमणी पोखरेललाई शिक्षा तथा मानवश्रोत विभागको प्रमुखमा र पूर्वएमाले डा. विजय पौडेललाई उपप्रमुखमा ल्याइएको छ । तत्कालिन नेकपा संयुक्तबाट नेकपामा आएका गणेश साहलाई विज्ञान तथा प्रविधि विभागको प्रमुखमा र पूर्वएमालेका नेता अरुण नेपाललाई उपप्रमुखमा चयन गरिएको छ ।

पूर्व उर्जामन्त्री तथा पूर्वएमाले राधा ज्ञवलीलाई उद्योग तथा वाणिज्य विभागको प्रमुखमा र वामदेव क्षेत्रीलाई उपप्रमुखमा ल्याइएको छ ।

तत्कालिन माओवादीका माओवादीका मणी थापा एक्लैलाई साहित्य, कला तथा संस्कृृति विभागको जिम्मेवारी दिइएको छ । पुस्तकालय तथा अभिलेख विभाग प्रमुखमा पूर्वमाओवादीका नारायणप्रसाद शर्मालाई र उपप्रमुखमा पूर्वएमालेको ज्ञानबहादुर भुजेललाई ल्याइएको छ । पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी श्रीराम ढकाल र ईश्वरी रिजालाई दिइएको छ ।

३३ वटा विभाग गठन गर्दा नेकपाका दुई जना राधा ज्ञवली र विना मगरलाई मात्र प्रमुख बनाइएको छ । तत्कालिन नेकपाकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, तत्कालिन माओवादी नेतृहरु पम्फा भूषाल, ओनसरी घर्तीलाई कुनै पनि विभागको जिम्मेवारी दिइएको छैन् । उर्मिला अर्याल, रेखा शर्मा जस्ता मन्त्री भएसकेकालाई उपप्रमुख बनाइएको छ ।

यि मन्त्री जसले कुनै विभाग पाएनन
मन्त्री भएर पनि कुनै जिम्मेवारी नेपाउने नेकपाका नेताहरुमा अर्थमन्त्री डा. युवराज खतिवडा, कानून मन्त्री भानुभक्त ढकाल, संचार मन्त्री गोकुल वास्कोटा, भूमिसुधार मन्त्री पद्मा अर्याल, महिला तथा वालवालिका मन्त्री थममायाँ थापा, खेलकुद मन्त्री जगतबहादुर सुनार पर्दछन भने पर्यटन राज्यमन्त्रीहरु धनबहादुर बुढा र कृषिराज्यमन्त्री रामकुमारी चौधरीले पनि कुनै विभागको जिम्मेवारी पाएका छैनन् । विभागको जिम्मेवारी नपाउने मन्त्रिपरिषद् सदस्यमा चौधरीवाहेक सबै पूर्वएमाले हुन् ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७६ भाद्र २, ०७: ५९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७६ भाद्र २, ०७: ५९

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७६ भाद्र २, ०७: ५९

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...