सल्लाहकारको राजिनामा पछि झापालीहरुको बाहुल्यता बढ्ने – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

सल्लाहकारको राजिनामा पछि झापालीहरुको बाहुल्यता बढ्ने

ओलीलाई पार्टी र मन्त्रिपरिषद्को संरचना हेरफेरमा कठिन

काठमाडौं । सरकार गठनको करिव दुई वर्ष पुग्न लाग्दा पनि जनताको मन जित्न नसकेको र पार्टी एकीकरण डेढ वर्ष पुग्दा समेत एकताले पूर्णता नपाए पछि सरकार र पार्टीमा जिम्मेवारी हेरफेरको तयारीमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली जुटेका छन् ।

स्वास्थ्य प्रतिकूल भए पनि पार्टी र सरकारको संरचनालाई गतिशिल, बलियो र जनताको मन जित्ने बनाउन आफ्नै सचिवालय पुनर्गठनबाट गति लिन खोजेका प्रधानमन्त्री ओली स्वकिय सचिव, सल्लाहकारलाइ हटाएर आफू अनुकूल नियुक्ति गर्न समेत सकसमा परेका छन् ।

स्वार्थ समूहको घेरामा रहेका प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयका सहयोगीबाटै प्रभावकारी जनसम्पर्क नभएको पुनर्गठन गर्ने अभियान चलाए पनि पहिलो गाँसमै ढुंगा भने झैं आफ्नै सहयोगी हटाउने पूर्ववर्ती निर्णयबाट ब्याक भएका छन् ।

आफूले नियुक्त गरेका सल्लाहकार र स्वकिय सचिवहरु सवैको कात्तिक २२ गते राजिनामा मागेका प्रधानमन्त्री ओलीलाई धेरैले टेरेनन् । टेरुन पनि कसरी ? प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति पाएका पीए र सल्लाहकारहरु कुनै न कुनै शक्ति केन्द्रका बलिया व्यक्तिहरु नै छन् ।

आफ्ना पीएका पक्षमा आफूभन्दा माथिल्लो तह र मुख्य मन्त्रीबाटै पीए र सल्लाहकारहरु नहटाउन खुलेआम दबाब आएपछि राज्य सत्ता बदल्न मन्त्रिपरिषद् र पार्टीको संरचना नै परिवर्तन गर्ने योजना बनाएका प्रधानमन्त्री निकै निरास समेत भएको देखिन्छ ।

प्रधानमन्त्री सचिवालयका १४ मध्ये ओलीले निजी चिकित्सक दिव्या सिंह शाह र स्वकिय सचिव राजेश ब्रजाचार्यवाहेक सबैको राजिनामा मागेका थिए । विहीबार राजिनामा दिन निर्देशन प्रधानमन्त्रीले दिए पछि सबैले राजिनामा दिए तर सबैको स्वीकृत भएन । यसरी राजिनामा दिएर घर फर्कन लागेका पीएहरुको पछि बलिया नेताहरु देखा परेका थिए ।

छौंडा भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेर प्रधानमन्त्री कसैको आलोचना सहनु हुन्न भन्ने सन्देश दिएकै कारण बढी नै बिबादमा तानिएका प्रमुख सल्लाहकार विष्णु रिमालको पद जोगाउन पाँच नम्वर प्रदेशका मुख्य सचिव शंकर पोखरेल खुलेर लागेपछि अन्य पीएहरुको पनि पद जोगिने लहर चलेको छ ।

मंगलबार पाँच नम्वर प्रदेशका मुख्य मन्त्री पोखरेलले १२ बजेर ४३ मिनेटमा सामाजिक सञ्जाल फेसवुकमा उनै रिमालको पक्षमा स्टाटस राखेका थिए । ‘प्रमको समृद्ध नेपाल सुखी नेपाली अभियानको भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ’ भन्दै पोखरेलले स्टाटस लेखेपछि रिमालको प्रमुख सल्लाहकार पद सुरक्षीत रहेको थियो ।

मुख्य मन्त्री पोखरेल प्रधानमन्त्री ओलीका सबै भन्दा नजिकका राजनीतिक पात्र हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी तत्कालिन नेकपा एमालेको राजनीतिमा सक्रिय हुँदा ओलीका हरेक कदम भण्डारी र पोखरेलको सल्लाहमा मूलत संचालित हुने गरेका थिए ।

प्रधानमन्त्री ओलीले लिने महत्वपूर्ण निर्णयको पछि उनै पोखरेलको भूमिका निर्णायक हुने गर्छ । जननेता मदन मण्डारीको बहुदलिय जनवादका हिमायति भनेर पहिचान बनाएका पोखरेल र प्रधानमन्त्री ओलीको ससुराली शाक्य भएकै कारणले मात्र उनीहरुको सम्वन्ध प्रगाड भएको होइन । ओलीका धेरै जसो राजनीतिक दस्तावेज उनै पोखरेलले प्रदीप ज्ञवलीको सल्लाहमा तयार हुदै आएको स्रोत बताउँछ ।

पछिल्लो पटक प्रधानमन्त्री ओलीले सचिवालयमा हेरफेर गर्ने क्रममा सक्रिय भएर कार्य गर्ने व्यक्तिको छनोट गर्ने उदेश्य राखेका थिए । तर आफू निकटकाको दबाब थेग्न नसक्दा ओलीले सबै सल्लाहकार र स्वकिय सचिवलाई परिवर्तन गर्न सक्ने अवस्थामा नपुगेको वालुवाटार स्रोतले जनायो ।

प्रधानमन्त्री ओलीले प्रमुख सल्लाहकार विष्णु रिमालका साथै राजिनामा दिएका परराष्ट्र मामिला सल्लाहकारमा राजन भट्टराईलाई भने हटाएका छ्रैनन् । जनसम्पर्क सल्लाहकारबाट राजिनामा दिएका अच्युत मैनाली र विकास विज्ञबाट राजिनामा दिएका घनश्याम भट्टराईलाइृ प्रधानमन्त्री ओलीले घर फर्काएका छन् । उनीहरुको ठाउँमा आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे र विकास विज्ञमा गजेन्द्र थपलियालाई प्रधानमन्त्री ओलीले नियुक्त गरेका छन् ।

प्रधानमन्त्रीले प्रेस सल्लाहकारबाट डा. कुन्दन अर्यालले राजिनामा दिएपछि उनको स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख समेत रहेका सूर्य थापालाई नियुक्त गरिसकेका छन् । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका थापा १० वर्षअघि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकार थिए ।

प्रधानमन्त्री ओलीले यसअघि राजिनामा दिएका मध्ये प्रेस संयोजक चेतन अधिकारी र फोटोग्राफर कृष्ण पौडेलको राजीनामा स्वीकृत गरेका थिए । प्रधानमन्त्री ओलीले कात्तिक २२ गते सल्लाहकार र स्वकिय सचिवलाई राजिनामा दिएर आफूलाई सहयोग गर्न भनेका थिए । उनले मंसिर १ गतेदेखि लागू हुने गरी उनीहरुलाई सल्लाहकार र सचिवालयबाट हटाउने निर्णय गरेका थिए ।

प्रधानमन्त्री ओली राजनीतिक सल्लाहकारमा झापा क्षेत्र नं पाँचबाट २०६४ र २०७० को निर्वाचनमा विजयी भएका दीपक कार्कीलाई ल्याउने तयारीमा छन् । झापा गौरादहका स्थायी वासिन्दा कार्कीलाई प्रधानमन्त्रीको सचिवालयमा नहुल्न महान्यायाधिवक्ता अग्नी खरेलले प्रधानमन्त्रीलाई दबाब दिएका छन् ।

श्रोतका अनुसार प्रधानमन्त्री ओली खरेललाई मनाएर भए पनि आफूलाई झापाको साविकको ६ नम्वर र हालको ५ नम्वर क्षेत्रमा राजनीतिक भूमिका सुरक्षीत गर्न प्रमुख भूमिका खेलेका कार्कीलाई कुनै हालतमा ल्याउन चाहन्छन् । झपामा बसेर प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका हरेक विकास आयोजना र राजनीतिक गतिविधिमा अघोषित प्रतिनिधि झैं भएर बसेका कार्कीलाई बालुवाटार ल्याउन लागेको सूचना खरेल मार्फत लैजाने भूमिका देवेन्द्र दाहालले खेलेको स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीको राजनीतिक नियुक्तिको अवसर लिनको लागि ओलीको निर्वाचन क्षेत्र झापा ५ मा नेकपाका कार्यकर्ताहरुबीच दमक र गौरादहबीच प्रतिष्पर्धा नै हुने गरेको छ । यसअघि दमकका दिपेन्द्र दाहाललाई प्रधानमन्त्री ओली आफैले बालुवाटार नआउनु भनी मौखिक निर्देशन दिएका थिए । प्रधानमन्त्री ओली कतिपय मामलामा आफै प्रत्यक्ष सूचना र गुनासोहरु सुन्ने र संवोधन गर्ने गर्छन् ।

असन्तुष्ट
प्रधानमन्त्रीको निजी सचिवालयको लेटरहेटमार्फत प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा– ५ मा ६८ वटा योजनाका लागि गत वर्षको चैत २९ गते बजेट माग गरेर राष्ट्रिय योजना आयोगमा पत्र लेखेको भन्दै स्वकिय सचिव होमबहादुर थापासँग प्रधानमन्त्री ओली रिसाएका थिए । त्यो पत्र सार्वजनिक भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले प्रधानमन्त्रीको जानकारी बिना नै यस्तो बजेट माग गरिएको घटनाप्रति प्रधानमन्त्री आश्चर्यमा परेको जनाएका थिए ।

प्रधानमन्त्री ओलीले समेत प्रधानमन्त्रीको लेटर प्याड प्रयोग गरिरहनु पर्ने आवश्यकता नभएको बताएका थिए । प्रधानमन्त्री ओली असन्तुष्ट भएपछि पत्र कसरी आयोगमा गयो भनेर खोजी गर्दै जाँदा प्रधानमन्त्रीको निजी सचिवालयको लेटरहेड प्रयोग गरेर योजना माग्ने काममा उनकै सचिवालयका होमबहादुर थापा हुन भन्ने पत्ता लागेको थियो ।

सो घटनाबाट रुष्ट प्रधानमन्त्री ओलीलाई होमबहादुर थापा हटाउने यो उपयुक्त मौका थियो । जनसम्पर्क विस्तारको लागि खासै भूमिका नभएको भन्दै आलोचना भएपछि पत्रकार रामशरण बजगाईंलाई पनि ओली राख्न चाहँदैन थिए ।

चेतन अधिकारी भने प्रधानमन्त्रीको भ्रमण तालिका, कार्यक्रमको सूची र प्रधानमन्त्रीकै गृहजिल्ला वासी भएका कारण निर्वाचन क्षेत्रका कार्यकर्ताको जनसम्पर्कमा थिए । अधिकारीलाई तत्काल हटाइए पनि उनी हालसम्म बालुवाटारमै व्यस्त छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अपडेट गर्न, सरकारमाथि मिडियाबाट प्रहार भइरहँदा दैनिक पत्रिका र मूलधारका टेलिभिजनसँग प्रधानमन्त्रीको अन्तवार्ताको तालिका मिलाउन नसकेको जस्ता आरोप कुन्दन अर्यालमाथि प्रधानमन्त्रीकै अघि राजनीतिक सल्लाहकार विष्णु रिमालले लगाएका थिए  ।

रिमाललाई ओलीले नेताभन्दा बढी व्यवस्थापकका रूपमा विश्वास गर्ने र भर पर्ने गरेका छन् । रिमाललाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको बैधानिक र औपचारिक भूमिकाबाट हटाउन नहुने पक्षमा ओली पुगिसकेका छन् ।

उनी परराष्ट्र सल्लाहकार राजन भट्टराई, आईटीविज्ञ अस्गर अली, स्वकीय सचिव इन्द्र भण्डारी र फोटोग्राफर कृष्ण पौडेलको राजिनामा स्वीकृत नगरी पुन सचिवालयमा फर्कने निश्चित छ । तीन दशकदेखि प्रधानमन्त्री ओलीको स्वकिय सचिवालयमा काम गर्दै आएका इन्द्र भण्डारीलाई भने ओलीले राजिनामा दिन लगाए पनि पुन ल्याउने बचन दिएका थिए । भण्डारी ओलीका विश्वास पात्र हुन् ।

पोखरेलद्वयलाई अघि सारिने
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार दुवै ठाउँमा दुई पोखरेललाई स्थान दिन चाहन्छन् । जस अनुसार उनले मन्त्रिपरिषद्को बरिष्ठ सदस्यमा उपप्रधानमन्त्री इश्वर पोखरेललाई अघि सारेका छन् भने पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाँच नम्वर प्रदेशको मुख्य मन्त्री शंकर पोखरेललाई दिन चाहन्छन् ।

पार्टी सेकेण्ड मेनको रुपमा इश्वर पोखरेललाई जिम्मेवारी दिइएमा सरकारमा शंकर पोखरेललाई ल्याउन चाहन्छन् । त्यसका लागि राष्ट्रिय सभाको आगामी फागुनमा सकिने एक तिहाई सदस्यको रिक्त स्थानमा मुख्य मन्त्रीबाट शंकर पोखरेललाई राजिनामा गराउने सम्मको योजना अघि सारिएको छ । स्वास्थ्यमा गम्भिर समस्या आए पछि ओलीले पार्टी र सरकारको जिम्मेवारीमा आफू निकटकालाई अवसर दिन मन्त्रिपरिषद् समेत हेरफेर गर्न लागेका हुन् ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७६ मंसिर २, ०६: २१

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७६ मंसिर २, ०६: २१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७६ मंसिर २, ०६: २१

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...