बर्लिनको पर्खाल ढले झैं धरानमा नेकपा बजारियो – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

बर्लिनको पर्खाल ढले झैं धरानमा नेकपा बजारियो

उपनिर्वाचनको सन्देशः दुईतिहाईको नेकपा कमजोर

काठमाडौं । दुई तिहाई वहुमतको समर्थनमा बनेको खड्ग प्रसाद (केपी) ओलीको नेतृत्वमा बनेको सरकार सत्ता सम्हालेको २ वर्ष नपुग्दै अलोकप्रिय र कमजोर हुँदै गएको सन्देश गत मंसिर १४ गते भएको उपनिर्वाचनले दिएको छ ।

सरकारले निर्वाचन आचार संहिता विपरित दर्जनौं काम गरेर सत्तारुढ दल नेकपाका उम्मेदवारप्रति जनतालाई प्रभावित गरे पनि आशातित सफलता पाउन सकेन । यसको ज्वलन्त उदाहरण विगत ६० वर्षदेखि आफूले जित्दै आएको पूर्वी नेपालको आधुनिक शहर धरानमा कांग्रेसका उम्मेदवार तिलक राईले उपमहानगरको प्रमुखमा विजयी हुनुलाई लिन सकिन्छ ।

अढाइ वर्षअघि धरानमा भएको निर्वाचनमा तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका तारा सुब्बाको नेतृत्वमा वहुसँख्यक सिट प्राप्त गरेको थियो । तर, सुब्बाको निधनपछि रिक्त रहेको धरान उपमहानगरको उपनिर्वाचनमा तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाका उम्मेदवारले यो उपनिर्वाचनमा पराजय भोग्नुले स्वतन्त्र राजनीतिक विश्लेषकहरुले नेपालमा बर्लिनको पर्खाल ढले झैं कम्युनिष्टको लाल किल्ला ढलेको टिप्पणी गरेका छन् ।

२०१६ सालमा भएको धरान नगरपञ्चायतको चुनावदेखि २०७४ सालसम्म भएका सबै निर्वाचनमा विभिन्न कम्युनिष्ट घटकले एकछत्र कब्जा गर्दै आएका थिए । नेपाली कांग्रेसले हालसम्म पराजय बेहोर्दै आएको धरानमा यस पटक लालकिल्ला ढाल्ने नेतृत्व युवा नेता तिलक राईले गरेका हुन् । धरानमा नेकपाको पराजयलाई कतिपय राजनीतिक विश्लेषकहरुले आश्चर्यको रुपमा लिएका छन् ।

धरानमा बर्तमान पुस्ताले लगातार बामपन्थीहरुलाई कम्युनिष्ट पार्टी, जनपक्षिय उम्मेदवार, नेकपा एमाले, माओवादी हुँदै नेकपाको रुपमा जनप्रतिनिधिको रुपमा विजय बनाउँदै गए । धरानले जति जननिर्वाचित प्रतिनिधि नगरदेखि संसदसम्म पु¥यायो, ति सोही पार्टी र धरानवासी हुन सकेनन् । २०१६ सालमा नगरपञ्चायतमा विजयी भएका अधिकांस कम्युनिष्ट पार्टीका जनप्रतिनिधिहरु कालान्तरमा पञ्चायतमा प्रवेश गरे ।

२०४८ सालमा धरानले प्रतिनिधि सभा सदस्यमा निर्वाचित गरेको मनोमोहन अधिकारी धरानका वासिन्दा थिएनन भने सोही स्थानबाट सांसद भएकी कुन्ती शर्मा राजनीतिमा त्यति विघ्न जम्न सकिनन् ।

२०४८ सालमा प्रधानमन्त्री भएपछि गिरिजाप्रसाद कोइरालाले कांग्रेस विरोधी जनधारणालाई बदल्न धरानमा नेपालकै पहिलो निजी क्षेत्रको चिकित्सा शिक्षा प्रतिष्ठान स्थापना गरे । ब्रिटिस लाहुरेको लागि छनोट स्थल र क्याम्पको रुपमा रहेको घोपामा स्थापना भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धरानको पहिचानलाई उजिल्याउने र प्राण भर्ने काम गरे ।

धरानबाट पूर्वको प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र र चतरा जाने बाटो स्तरउन्नति कांग्रेस नेतृत्वको सरकारले गरे पनि धरानका जनताले कांग्रेसलाई सँधै ठग्दै आएका थिए । धरानमा भएको खानेपानी अभावलाई पूर्ती गर्न र प्रदेश नम्वर एकको राजधानी धरानलाई घोषणा गर्न वर्तमान नेकपाको नेतृत्वले इन्कार गरेपछि छ दशकपछि आएर धरानका जनताले मन बदलेका हुन् ।

आज धरानदेखि हेटौंडासम्मको बाटो अधिकांस पिच भइसकेको छ भने केही भागको ट्रयाक खोल्ने काम भएको छ । यो वाटो निर्माणको शुरुआत कांग्रेसले गरे पनि ओली नेतृत्वको सरकारले यही वाटोलाई मदनमण्डारी मार्ग नामाकरण गरिसकेको छ ।

समग्र उपनिर्वाचनको परिणामलाई हेर्ने हो भने तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुटै दलको रुपमा दुइ वर्षअघि २०७४ साल बैशाख, असार र भदौमा भएको निर्वाचनमा प्रतिस्पर्धा गरेको चुनावमा भन्दा हालै मंसिर १४ गते सम्पन्न भएको निर्वाचनमा दुई पार्टी मिलेर प्रतिस्पर्धा गर्दा झन कमजोर भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा दाहाल पुत्री रेणु महानगर प्रमुख भएको भरतपुरको वडा नं १६ मा कांग्रेसले विजय हासिल गर्नु सत्तारुढ दलप्रति चरम असन्तुष्टीको नमुना हो । २०७४ सालको स्थानीय निर्वाचनमा भरतपुर १६ मा पराजित कांग्रेसले अहिले तत्कालिन एमाले र माओवादी नेकपाको रुपमा एक भएर चुनावी प्रतिस्पर्धामा आउँदा समेत सफलता पाएको छ ।

गत असार १४ गते सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल निर्वाचित भएको घोराही उपमहानगरपालिका १६ मा भएको उपनिर्वाचनमा समेत कांग्रेसले यसअघि नेकपाले जितेको वडा आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्थायी वसिन्दा भएको भक्तपुरको जिल्लाको निर्वाचन क्षेत्र १ को प्रदेशसभा निर्वाचन क्षेत्र क मा भएको निर्वाचनमा समेत कांग्रेसले नेकपालाई पराजित गरेको छ । यसअघि नेकपा एमाले, माओवादी, कांग्रेस र नेमकिपाका उम्मेदवारहरु प्रतिष्पर्धी रहेको यो प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका थिए ।

तर यो पटक एमाले र माओवादी एकीकृत भएर नेकपाको रुपमा चुनावी प्रतिष्पर्धामा उत्रिए पनि कांग्रेसले विजय हात पारेको छ । यो विजयलाई आगामी तीन वर्षपछि हुने निर्वाचनमा सत्तारुढ दललाई निकै धक्का दिने निश्चित छ ।

यो निर्वाचनलाई धेरेले मिनी जनमत संग्रहको रुपमा समेत लिए । त्यसैले सरकारले जनतामा सत्तारुढ दलप्रतिको जनताको विश्वास घटेको छैन भनेर देखाउन चुनाव जित्ने रणनीति नलिएको होइन । तर, ति सबै रणनीति असफल भएका छन् ।

प्रदेश नं १ को पाँचथर जिल्लाको तीन स्थानीय तहमा उपनिर्वाचन भएको थियो पाँचथरमा तीन स्थानीय तहमा भएको निर्वाचनलाई प्रभावित गर्न आचारसंहिता विपरित सात वटा प्रदेशका प्रदेश प्रमुखलाई अनाहकमा एक्कासी हटाउने र नयाँ सात जना नेकपाका सक्रिय नेतालाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष दबाब पनि दिए ।

निर्वाचनमा उम्मेदवारहरु भोट माग्दै गर्दा भौतिक पूर्वाधार मन्त्रीको रुपमा बसन्तकुमार नेम्वाङलाई नियुक्त गरेर चुनाव प्रभावित गर्ने काम गरेका थिए ।

प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री टंक आङ्बो र संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले चुनावको मुखमा निर्वाचन हुने फिमिम, फाल्गुनन्द र हिलिहाङमा गएर हरेक गाउँ जाने बाटो बनाउन बजेटको घोषणा गर्दै मतदातालाई प्रभावित पारेका थिए ।

यसरी उपनिर्वाचनको मत परिणालाई हेर्ने हो भने नेकपाको मत विगतको नेकपा एमाले र माओवादीको भन्दा घटेको पाइन्छ । यो निर्वाचनमा कांग्रेसले करिव ८ प्रतिशत मत बढाउन सफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् ।

कतिपय स्थानीय तहमा नेकपाले जित्नुको पछि तत्कालिन नेकपा एमाले र माओवादीबीचको एकता पनि हो । तर समग्रमा कांग्रेसको मत हरेक स्थानीय तहको निर्वाचनमा बढेको देखिन्छ ।

नेकपाले आफूले विगतमा जितेको भक्तपुर क्षेत्र नं १ को क, धरान उपमहानगरपालिका, भरतपुर र घोराहीको महानगर र उपमहानगरको वडा गुमाएको छ । तर कांग्रेसले पाँचथरको फाल्गुनन्द गाउँपालिका प्रमुख, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुख र अन्य गाउँपालिकाको वडा मात्र गुमाएको छ । मतदाताको आधारमा हेर्ने हो भने कांग्रेसले मत बढाएको छ तर नेकपाले घटाएको छ ।

नेकपाले जित्दै आएको प्रतिनिधिसभाको एक र प्रदेश सभाको दुई पद पनि मतदातासँग सहानुभूतिको आधारमा प्राप्त गरेको छ । काश्की क्षेत्र नं दुईमा प्रतिनिधिसभाको लागि भएको निर्वाचनमा सत्तारुढ नेकपाकाले तत्कालिन नेकपाका नेता तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनकै श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाएको थियो ।

त्यस्तै, दाङमा भएको प्रदेशसभा निर्वाचनमा समेत श्रीमान उत्तर कुमार ओलीको निधन भएपछि श्रमिती कमला ओलीलाई चुनावी मैदानमा उतारिएको थियो ।

पति गुमाएका पत्नीलाई उम्मेदवार बनाएर सहानुभूतिको सहायताले चुनाव जितेको नेकपाले आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्नको लागि बागलुङमा विपक्षी दलको भूमिकामा रहेको राष्ट्रिय जनमोर्चासँगको गठबन्धन गरेको थियो । रोल्पाको थवाङ्मा भएको निर्वाचनमा १६ प्रतिशत मत खसेको र सोही विषयलाई लिएरु आत्मरतीमा सत्तारुढ दलका कतिपय नेताहरु रमाउने गरेका छन् ।

तर कतिपय नेताले ८४ प्रतिशत जनतालाई १६ प्रतिशतले निर्वाचित गरेका जनप्रतिनिधिले शासन गर्न लागेको भनेर टिप्पणी पनि गरिएको थियो ।

गत मंसिर १४ काश्कीको २ नम्वर क्षेत्रमा प्रतिनिधिसभा सदस्य, दाङ, वाग्लुङ र भक्तपुरमा प्रदेशसभा सदस्य तथा पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पपरा गाउँपालिकाको अध्यक्ष र हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो ।

निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर १ मा पाँचथरको फिदिम नगरपालिका–१ र हिलिहाङ्ग गाउँपालिका–७, मोरङको धनपालथान गाउँपालिका ं–२, सुनसरीको धरान उपमहानगरपालिका वडा नं–७, संखुवासभाको खाँदवारी नगरपारिका –३, खोटाङको साकेला गाउँपालिका –३ मा वडाध्यक्षको निर्वाचन भएको थियो ।

यस्तै प्रदेश २ मा सप्तरीको छिन्नमस्ता गाउँपालिका – ७, सिराहाको कल्याणपुर नगरपालिका –१२, महोत्तरीको बलवा नगरपाकिलका –८ र २ तथा मटिहानी नगरपालिका– ६, सर्लाहीको हरिपूर्वा नगरपालिका–१, रौतहटको गढीमाई नगरपालिका –२, बाराको बारागढी गाउँपालिका –१ र पर्साको सखुवा प्रसौनी गाउँपालिका –५ मा वडाध्यक्ष पदमा निर्वाचन भएको थियो ।

प्रदेश– ३ मा रामेछापको उमाकुण्ड गाउँपालिका –५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका –८, काभ्रेको धुलिखेल नगरपालिका –२, काठमाडौँ दक्षिणकाली नगरपालिका –३, चितवनको खैरहनी नगरपालिका –४ र ५ मा समेत निर्वाचन भएको थियो ।

गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित सुन्दरबजार नपा –२, बाग्लुङ्ग बडिगाड गाउँपालिका –२ र नवलपरासी (पूर्व) बैदीकाली गाउँपालिका –५मा, प्रदेश– ५ को गुल्मीमा रुरुक्षेत्र गाउँपालिका –६, अर्घाखाँचीको मालारानी गाउँपालिका –३, प्युठानको प्यूठान नगरपालिका –२, प्यूठान ऐरावती गाउँपालिका – १ र २, रोल्पाको थावाङ गाउँपालिका –१, कपिलवस्तु शिवराज नगरपालिका –१०, घोराही उपमहानगर–१६, बाँकेको कोहलपुर नगरपालिका – ६ मा, कर्णाली प्रदेशमा सल्यान कुमाख गाउँपालिका –५ को वडाध्यक्ष पदमा निर्वाचन भएको थियो ।

सुदूरपश्चिम प्रदेशको बाजुरास्थित त्रिवेणी नगरपालिका –१, अछामको मेल्लेख गाउँपालिका –५, डोटीको आदर्श गाउँ पालिका –२, कञ्चनपुरको पुर्नवास नगरपालिका –३, बैतडीको पुचौंडी नगरपालिका –४, सुर्नया गाउँपालिका –१ र दोगडाकेदार गाउँपालिका –४ मा वडाध्यक्ष चयनका लागि मतदान भएको थियो ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७६ मंसिर २३, ०७: १२

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ मंसिर २३, ०७: १२

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ मंसिर २३, ०७: १२

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...