प्रधानमन्त्रीको गृहनगरमा नेकपाका नेता पुरीले हडपे अर्बौंको सार्वजनिक जग्गा – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

प्रधानमन्त्रीको गृहनगरमा नेकपाका नेता पुरीले हडपे अर्बौंको सार्वजनिक जग्गा

दमक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताले प्रधानमन्त्री तथा नेकपामा अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा करोडौं रुपैयाँ मुल्य पर्ने सार्वजनिक जग्गा हडपेका छन् । तत्कालिन नेकपा माओवादी केन्द्रका नेताका रुपमा चर्चित हाल नेकपाका नेता भएका गगन पुरीले सार्वजनिक जग्गालाइ निजी बनाउँदै करोडौं सम्पति आर्जन गरेका हुन् ।

नेकपाका अध्यक्ष पुष्पमकमल दाहालसँग समेत निकटस्थ सम्वन्ध राख्न सफल पुरीले दमकका खाली जग्गा, सार्वजनिक जग्गा र रतुवा तथा दिपीनी खोला बगर र छेउका जग्गा जमिनलाई कब्जामा लिएर यति धेरै बहुमुल्य जग्गा जमिन जोडेका हुन् ।

नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री निवास बालुवटार क्षेत्रको सरकारी जग्गा आफ्नै छोराको नाममा खरिद गरेर आलोचना र आक्रोस भइरहँदा प्रधानमन्त्री ओलीको गृहनगर दमकमा यस्तो काण्ड फेरि आएको हो । त्यहाँको बालुवाटार जग्गा घोटालामा गगन पुरी मुछिएका हुन् ।

नेपाल प्रहरीको सिआईबीले सो जग्गा घोटाला छानबिन गरिरहेको छ । सिआईबीले अहिलेसम्मको सबैभन्दा ठूलो भ्रष्टाचार हुन सक्ने भन्दै छानबिन अघि बढाएको छ । उनलाई जोगाउन ओली र दाहालसम्म कुरा पुगेपछि सिआईबी ब्याक नहुने सम्भावना बढेको छ ।

दमक नगरपालिकाको दमक चोकबाट दक्षिणतर्फ वडा नम्वर ८ बालुवाटारमा नेकपाको विशाल पार्टी कार्यालय हालै बनेको छ । सो कार्यालयको दक्षिणतर्फ ठूलो फाँटमा रहेको सोही जग्गा झापाका नेकपा प्रभावशाली नेता गगन पुरीको समूहले किर्ते गरेको रहस्य सीआइवीले पत्ता लगाएको छ ।

रतुवा नदीबाट पश्चिम र दिपेनी खोलाबाट उत्तरमा रहेको सो ठाउँको जग्गा कठ्ठाको ५० लाखभन्दा बढी पर्छ । हालसम्म ५० बिगा जग्गा घोटाला भएको देखिएको छ । ५० बिगाको करिब ५ अर्ब रुपैयाँ मुल्य हुन आउँछ । सो जग्गामा विगतमा करिब ८८ घर परिवार सुकुम्वासी बस्थे । उनीहरुलाई जग्गा दिने प्रक्रिया सुरु गरिएको थियो । तर २०४० सालतिर रतुवा खोलामा बाढी आउँदा बस्ती बगाएपछि वस्ती बगरमा परिणत भएको थियो । उनीहरुलाई लालपूर्जा दिइएको थिएन ।

रतुवा खोलामा तटवन्ध बनाएपछि बगरमा परिणत भएको जग्गा घडेरीमा परिणत भएको थियो । सो जग्गा किर्ते गरे हत्याउने काम उनै नेकपाका नेता गगन पुरीले गरेको हुन् । दमक नगरपालिकामा तत्कालीन माओवादीबाट मेयरमा उम्मेदवार बनेर पराजित भएका थिए । उनी दमकबाट पाँचथरको रबी जोड्ने मोटरबाटोको उपभोक्ता समितिका अध्यक्ष समेत भएका थिए ।

रकम खर्च गरेर चुनाव जित्न सफल पुरी स्थानीय खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष समेत भएका थिए ।

बालुवाटारको जग्गामा लालपुर्जा पाउने भनी सुकुम्वासीहरुको नाममा दर्ता भएको थियो । पछि त्यहाँ सर्पट नापी गरियो । नापी गर्दा सुकुम्वासी परिवार त्यहाँ थिएनन् । गगनले एकलौटी नापी गराए । त्यसपछि गगनले आफ्नो तथा परिवारको नाममा धनीपूर्जा बनाउने प्रयास गरे तर सुकुम्वासीको नामको जग्गा अरुलाई दिन नमिल्ने भन्दै गगनले आफै सो जग्गा हडपेका थिए ।

पुरीले नापी र मालपोतका कर्मचारी प्रयोग गरेर ती कार्यालयको ढड्डामा विभिन्न व्यक्तिको नाम चढाएर जग्गा लिन खोजे । गत चारवर्ष बीचमा गगनको समूहले यी सबै काम गरेको अनुसन्धानबाट खुलेको छ ।

सिआईबीले गरेको छानविनमा विगतमा सुकुम्वासीहरुको जग्गा र त्यहाँ रहेका अन्य ऐलानी जग्गाहरुको कित्ता नम्बर नै परिवर्तन गरेर गगनको समूहले लिएको बुझिएको छ । यसरी लिनका लागि नापी कार्यालयको ढड्डामा पाना थप गरिएको स्रोतको दाबी छ । सरकारी खाता किताबमा पाना नम्बर हुन्छ । खाता किताबमा पछि पाना थप्न पाइँदैन ।

गगनको समूहले नापि र मालपोत कार्यालयका खाता किताबमा पछि पाना थप्न लगाएर सो अनुसारको किर्ते धनीपुर्जा बनाएको स्रोतको दाबी छ । गगनको समूहमा रहेका केही कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ भने कैयन कर्मचारी फरार छन्  । कर्मचारी प्रयोग गरेर श्रेष्ता कितामै पाना थपेर गगनको समूहले जग्गा कब्जा गर्न सफल भएको स्रोतले बतायो ।

त्यसरी धनीपुर्जा बनाइएकामध्येका १३ विघा जग्गा राख्ने ओमप्रकाश पौडेललाई पक्राउ गरेको छ । उनले गगन पुरीले आफ्नो नाममा जग्गा राखेको वयान सिआईबीलाई दिएका छन् । कीर्ते कागज सम्पूर्ण गगनले नै बनाइदिएको खुलासा गरेका थिए । उनी मोरङका एक गरिब किसान तथा साधारण मजदुर भएको बताइएको छ ।

सिआईबीले खोज्दै जाँदा सो क्षेत्रको करिब ५० बिगाहा जग्गा गगनले विभिन्न व्यक्तिको नाममा राखेको खुल्न आएको स्रोतको दाबी छ । सिआईबीले गगनको घरमा छापा मारेको छ तर उनी हाल फरार भएका छन् । उनको घरबाट दर्जनौं किर्ते कागज प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । उनले गगन पुरी र रेवतराज पुरी दुई नाममा नागरिकता बनाएको समेत खुल्न आएको छ ।

दुईटा नागरिकता बनाएको विषयमा पनि गगन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । घरमा छापा मारिएपछि गगन फरार भएका छन् । उनी फरार भएसँगै नेकपाका कतिपय नेताहरु गगनलाई जोगाउने, उनले बालुवाटारमा किर्ते गरी कब्जा गरेको जग्गा जोगाएर भित्रभित्रै बाँडफाँड गर्ने दाउमा लागेका स्रोतको दाबी छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेको तर्फ उम्मेदवार हुँदा केपी शर्मा ओलीलाई हराउन साम दाम दण्ड भेदको नीति लिएर नेतृत्व नै लिएका पुरीप्रति प्रधानमन्त्री ओली उनीप्रति धेरै सकारात्मक छैनन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेका उम्मेदवार रोम ओलीलाई आच्छुआच्छु पारेका थिए ।

दमक नगरपालिकामा भएको मेयरको चुनावमा कांग्रेस, राप्रपा, तत्कालिन एमाले र माओबादीबीच प्रतिष्पर्धा हुँदा एमालेका रोम ओलीले चुनाव जितेका थिए । हरेक उपभोक्ता समितिमा आफू निकटकालाई जिताएर तत्कालिन एमालेबिरुद्धको मोर्चाबन्दी गर्दै हिँड्दा सफलता पाएका पुरीलाई प्रधानमन्त्री ओलीले माया वा दया गर्ने स्थिति छैन ।

दमकमा विश्व स्तरीय डिज्ने पार्क बनाइने भनी प्रचारमा आएको छ । नेपालका चर्चित नवधनाढ्य अजेयराज सुमार्गी, प्रधानमन्त्रीका स्वकिय सचिव इन्द्र भण्डारी, नेकपा केन्द्रीय सदस्य देवेन्द्र दाहाल, दमकका ठेकेदार गणेश बस्नेत लगायतका नेताहरुको १६ अर्ब रुपैयाँ लगानीमा बनाइने भनिएको डिज्ने पार्क यही बालुवाटारको जग्गामा हो ।

गगनले एकातिर डिज्ने पार्क बनाउने भनेर प्रक्रिया चलाइरहेका थिए भने अर्कातिर जग्गा बेच्न पनि प्रयास गरिरहेका थिए । तर नापि कार्यालयले जग्गा बेच्न कित्ताकाट गर्न मानिरहेको थिएन । गगनले राजनीतिक दवाब दिइरहेका थिए ।

अवैध र कीर्ते जग्गा र धनीपुर्जाको आधारमा कित्ताकाट गरेर जग्गा किनबेच गराउन नापि कार्यालयभित्र प्रक्रिया थालिएको थियो । तर, केही कर्मचारीले फसिन्छ भन्दै मानिरहेका थिएनन् । गगनको समूहले कडा राजनीतिक दवाब दिन थालेपछि केही इमानदार कर्मचारीले सिआईबीलाई यो जानकारी दिएको स्रोतले बतायो । त्यसपछि मात्र जग्गा घोटालाको पोल खुलेको हो ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७६ मंसिर ३०, ०६: ०१

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७६ मंसिर ३०, ०६: ०१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७६ मंसिर ३०, ०६: ०१

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...