
काठमाडौँ । वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौँ आइपुगेको छ ।
पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गर्ने भएका छन् । सोमबार बिहान वितरण शुभारम्भ गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाक्की अहमद अन्सारीले जानकारी दिए ।
जसअनुसार भोलिदेखि मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ । मेलम्ची खानेपानी विकास समितिका प्रमुख अन्सारीले भने, ‘भोलिदेखि काठमाडौँको खानेपानी सिस्टममा दैनिक १७ करोड लिटर पानी आउँछ । सबै पानी सबैतिर एकैचोटी वितरण गर्न सकिँदैन, एउटा एउटा गरेर पानी भण्डारण तथा वितरण केन्द्रमा भर्ने काम भइरहेको छ । सुरुमा अनामनगर र मीनभवनको पानी भण्डारण तथा वितरण केन्द्र भर्ने काम भइरहेको छ । त्यसपछि क्रमशः खुमलटार, बालाजु, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिनेछ ।’
एक दुई दिनभित्र सबै ठाउँमा पानी वितरण भइसक्ने अन्सारीले जानकारी दिए । मेलम्ची खोलाबाट गत बुधवारदेखि पानी पठाउन थालिएकोमा सुन्दरीजलको पानी भण्डारण तथा प्रशोधन केन्द्रमा शनिवार साढे ८ करोड हाराहारी पानी आएको थियो । आइतबारदेखि सुरुङ पूर्ण रूपमा भरिएर १७ करोड लिटर
पानीआइरहेको उनले बताए । सुन्दरीजलमा पानी प्रशोधन भएर सो परिणामको पानी वितरण प्रणालीमा जाने अन्सारीले जानकारी दिए ।
गत पुस ३ गते मेलम्ची खानेपानी विकास समितिले २८ दिनभित्र काम सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । त्यसपछि दिउँसो र राती गरेर दुई सिफ्टमा काम गराएर २८ दिनको कार्य योजना भन्दा अगाडि नै पानी ल्याउन सफल भएको अन्सारीले बताए ।
उनले भने, ‘अहिले हामीले पठाउन थालेको पानी अब लगातार आउँछ । पछि केही मर्मत गर्नुपर्ने भविष्यको कुरा त अनिश्चित हुन्छ । अब वर्षा अघिसम्म लगातार नै पानी आउँछ । बर्सातमा हाम्रो मुख्य संरचना सुरुङ जोगाउनका लागि दुई–तीन महिनाचाहिँ पानी नआउने हुन्छ । अब बर्सातअघि चाहिँ निरन्तर पानी आउँछ ।’
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...