उन्मुक्तिको अध्यक्ष बनेका चौधरीको चयनमा नै कानुनी प्रश्न ? – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

उन्मुक्तिको अध्यक्ष बनेका चौधरीको चयनमा नै कानुनी प्रश्न ?

काठमाडौँ ।उन्मुक्तिको अध्यक्ष बनेका चौधरीको चयनमा नै कानुनी प्रश्न उठिरहेको छ । टीकापुर  हत्या अभियोगमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलद्धारा कैद माफी पाएपछि रिहा मात्रै भएनन्, उनलाई नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशनले अध्यक्ष चयन समेत गर्‍यो । तर उनको सर्वसम्मत चयनको वैधानिकतामाथि भने कानुनी प्रश्न उठेको छ । कानुनविद्का अनुसार राष्ट्रपतिबाट पाएको कैद माफी रेशमविरुद्ध अदालतले गरेको फैसलाको खारेजी नभएकाले कानुनतः उनी दलको अध्यक्ष बन्न सक्दैनन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (ख) मा भएको व्यवस्थाअनुसार रेशमको पार्टी अध्यक्ष बन्ने योग्यता पुग्दैन । ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको’ व्यक्ति मात्रै दलको सदस्य हुन पाउने व्यवस्था उक्त दफामा छ ।

कानुनको प्राविधिक व्याख्या नगरी, समग्रमा व्याख्या गर्दा चौधरीलाई सार्वजनिक जवाफदेहिताको पद लिने सुविधा नभएको अर्का अधिवक्ता रोविन शर्माको जिकिर छ । ‘संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिद्वारा प्रदान गरिने माफीले कसुरदारको दोष मेटाउँदैन, केवल कैदबाट छोड्ने सुविधासम्म दिने हो,’ उनले भने, ‘जन्मकैद कसुर ठहर भई अन्तिम फैसला भएको व्यक्ति प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत हुन अयोग्य मानेको परिप्रेक्षमा संसद्मा प्रतिनिधित्व गर्ने दलको प्रमुख नेता नै बन्नु लोकतन्त्रको उपहास हो ।’

कारागारमै रहेका बखत पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा चौधरीले पार्टी गठन गरेका थिए, जसको उनी संरक्षक थिए । जेलभित्रैबाट उनैको रणनीतिअनुसार पार्टीले २०७९ को आम चुनावमा उम्मेदवारी दिएको थियो, जसमा संघीय संसद्मा चार, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनीमा ४ र मधेश प्रदेशमा १ सिट जितेको थियो । पार्टीको संस्थापक अध्यक्ष उनकी पत्नी रञ्जिता हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन् ।
निर्वाचन आयोगले रेशमको अध्यक्षताका बारेमा आफूलाई कुनै जानकारी नगराइएको जनाएको छ । ‘आयोगमा अभिलेख नभएसम्म कुनै दलको महाधिवेशनले तय गरेको पदाधिकारी र अध्यक्षले मान्यता पाउँदैन,’ आयोगका अध्यक्ष दिनेश थपलियाले भने, ‘अहिलेसम्म आयोगमा त्यस्तो कुनै जानकारी नआएकाले कानुन अनुसार रेशम चौधरी अभिलेखमा भएका १२० दलमध्ये कसैको पनि अध्यक्ष छैनन् ।’ उनका अनुसार दलले आफ्नो विधान र आयोगले स्वीकृत गरेको ढाँचाबमोजिम अधिवेशन गरेपछि अध्यक्ष र केन्द्रीय समितिका पदाधिकारीको नामावलीसहितको विवरण एक महिनाभित्र बुझाउनुपर्छ । यसरी बुझाउँदा ऐनले तोकेबमोजिमको योग्यता पुगेकाहरू मात्रै महाधिवेशनमा चुनिएका छन् भनी स्वघोषणा पनि गर्नॅपर्छ । ‘अनि त्यतिबेला हामी दलले भने अनुसारको अवस्था छ, कि छैन भनेर छानबिन गर्छौं,’ थपलियाले भने, ‘छानबिन गर्दा ऐनअनुसार रहेछ भने अधिवेशनको अभिलेख हुन्छ र त्यसले मान्यता पाउँछ, रहेनछ भने पाउँदैन ।’

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ १, १३: ४३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ १, १३: ४३

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ १, १३: ४३

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...