
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १७.१६ प्रतिशतले घटेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ६५ हजार ८१३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।
योसँगै चालु आर्थिक वर्षको पहिलो ६ महिना (२०८० साउनदेखि पुससम्म)मा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या तीन लाख ४३ हजार ४०५ पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा वैदेशिक रोजगारीमा जानको लागि विभागबाट चार लाख १४ हजार ५४६ जनाले श्रम स्वीकृति लिएका थिए ।
अघिल्लो वर्षको तुलनामा यसवर्ष श्रम स्वीकृति लिनेको संख्या ७१ हजार १४१ ले कमी आएको छ । विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेको संख्यामा १७.१६ प्रतिशतले गिरावट आएको छ ।
विभागका अनुसार २०८० को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ७१ हजार २७६ र पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै, २०७९ सालको साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मंसिरमा ६८ हजार ५६४ र पुसमा ६५ हजार ४६४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि नेपाल भित्रने रेमिट्यान्स भने बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) नेपाल भित्रने रेमिट्यान्स २७.६ प्रतिशतले बढेको छ ।
२०८० साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको अवधिमा नेपालमा ६ खर्ब १३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपालमा चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा आगामी वर्ष नेपाल भित्रने रेमिट्यान्समा असर पर्नेछ ।
काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...