लुक्लामा हवाई सेवा लिने पर्यटक २३ दशमलव ८४ प्रतिशतले बढे – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

लुक्लामा हवाई सेवा लिने पर्यटक २३ दशमलव ८४ प्रतिशतले बढे

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय स्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाले जनाएको हो ।

प्राधिकरणका प्रमुख उमेश पन्थीका अनुसार सन् २०२२ मा एक लाख एक हजार पाँच सय एक पर्यटकले हवाई सेवा प्रयोग गरेकामा सन् २०२३ मा एक लाख ३३ हजार दुई सय ७४ जना पुगेका थिए । सङ्ख्यात्मक हिसाबले ३१ हजार सात सय ७३ बढी हो । हवाई सेवा लिने अधिकांश विदेशी पर्यटक रहेको उनको भनाइ थियो ।

सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको प्राधिकरण प्रमुख पन्थीले बताए । सगरमाथा क्षेत्रको विमानस्थल भनेर चिनिने लुक्ला विमानस्थलमा हवाई सेवा लिनेको सङ्ख्या अधिक हुने गरेको छ । खुम्बु भ्रमण गर्ने अधिकांश विदेशी पर्यटक काठमाडौँ वा रामेछापको मन्थलीबाट जहाजमै लुक्लासम्म पुग्ने र त्यहाँबाट पैदल यात्रा गर्दै उकालो लाग्ने गरेको तारा एयरलाइन्स लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले बताए ।

उनकाअनुसार लुक्लासम्म सडक मार्ग नपुगेकाले खुम्बु भ्रमण गर्ने अधिकांश पर्यटकले हवाई सेवा नै लिनुपर्ने बाध्यता छ । सीमित पर्यटकले मात्रै गाडीबाट सदरमुकाम सल्लेरी, थाम डाँडा हुँदै त्यहाँबाट हिँडेर लुक्ला पुग्ने गरेको उनको भनाइ थियो । जिल्लाको आठ स्थानीय तहमध्ये खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्रसम्म सडक नपुगे पनि अन्य स्थानीय तहका केन्द्रसम्म सडक पुगिसकेको छ ।

खुम्बु पासाङल्हामुले पनि यसै आर्थिक वर्षभित्र पालिकाको केन्द्रसम्म सडक पुर्‍याउने लक्ष्यका साथ सडक विस्तारलाई तीव्रता दिएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताए । उनले भने, “लुक्लासम्म गाडीको बाटो पुगेपछि पर्यटकलाई पनि सगरमाथा क्षेत्र भ्रमण गर्न सहज हुनेछ, अहिलेजस्तो हवाई सेवाकै भर पर्नु पर्दैन, त्यसैले लुक्लालाई जतिसक्दो चाँडो सडक मार्गले जोड्न स्थानीय सरकार लागिपरेको छ ।”

नौ सय २८ टनभन्दा बढी कार्गो खुम्बु ढुवानी

सोलुखुम्बुको लुक्लामा नौ सय २८ टनभन्दा बढी कार्गो सामग्री ढुवानी भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित उक्त विमानस्थलमा सन् २०२३ मा नौ लाख २८ हजार नौ सय ८४ किलोग्राम अर्थात् नौ सय २८ दशमलव ९८ टन कार्गो ढुवानी भएको उक्त शाखाले जनाएको छ ।

कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार ढुवानी गरिएका सामग्रीमा खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडालगायत रहेका छन् । लुक्लासम्म सडक नपुगेकाले सो क्षेत्रमा सामग्री ढुवानीको भरपर्दो साधन नै हवाई सेवा बनेको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताए । ती सामग्री जहाज तथा हेलिकोप्टरमार्फत ढुवानी गरिएको उक्त शाखाले जनाएको छ ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८० माघ ४, १५: २०

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८० माघ ४, १५: २०

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
  • २०८० माघ ४, १५: २०

काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...