मन्त्रीज्यू ! कोरोनाविरुद्ध लड्न चिकित्सकलाई जिम्मेवारीबाट पन्छाएर सम्भव होला ? – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

मन्त्रीज्यू ! कोरोनाविरुद्ध लड्न चिकित्सकलाई जिम्मेवारीबाट पन्छाएर सम्भव होला ?

कोरोना संक्रमणबाट विश्वका अधिकांस देशसहित नेपाल समेत प्रभावित भइरहेको बेला त्यसको रोकथाम, नियन्त्रण र उपचार कसरी हुन्छ भन्ने विषयमा चिन्तन, मनन, छलफल गर्नुभन्दा स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकाल संक्रमणको बेला अग्रमोर्चामा रहेर काम गरिरहेका चिकित्सकको हुर्मत लिने कर्ममा लागेका छन् ।

कोेरोना उपचारको हव अस्पतालका रुपमा चिनिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको उपचारको अग्रमोर्चाका सिपाई डा.शेरबहादुर पुनलाई कारवाही गरेर मन्त्री ढकालले संक्रमण नियन्त्रणप्रति आफ्नो बेप्रवाह व्यवहार देखाएका छन् ।

चुनौतिपूर्ण अवस्थामा समेत काम गर्ने चिकित्सकलाई हतोत्साहित गर्न मन्त्री ढकालले कोरोना उपचारमा खटिएका डा. मन्त्रालयमा सरुवा गरेको घटनाले कोरोना उपचारमा खटिएका चिकित्सको मनोवल गिराउन मन्त्रीले यस्तो हर्क गरेको सूचना समाचार र सामाजिक सञ्जालमा भाइरल भए पनि मन्त्री ढकालले डा. पुनलाई मन्त्रालयमा सरुवा गरेको नभइ सल्लाहकारको रुपमा जिम्मेवारी थप गरिएको दावी गरे ।

चिकित्सा पेशाप्रति योग्य, दक्ष र इमान्दार भन्दा पनि आफूप्रति व्यक्तिगत रुपमा बाफादार स्वास्थ्यकर्मी मात्र रुचाउने मन्त्री ढकालले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका मिर्गौला प्रत्यारोपण विशेषज्ञ सर्जन डा. पुकारचन्द्र श्रेष्ठलाई हटाएर मन्त्रालयमा काम बिहीन बनाएर आफ्नो बहादुरी देखाए ।

देशमा सबैभन्दा बढी ६०० मिर्गौला प्रत्यारोपण गरेर चर्चामा आएका मानवअंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई हटाएर त्यसको ठाउँमा नियमले समेत नमिल्ने शिक्षा मन्त्रालय मातहत कार्यरत त्रिवि शिक्षण अस्पतालमा कार्यरत मिर्गौला प्रत्यारोपण सर्जन डा. प्रेम ज्ञवालीलाई निर्देशक बनाएका थिए ।

यो घटनाले मन्त्री ढकालको रबैया र उद्देश्य कोरानाबाट जनतालाई बचाउने भन्दा स्वास्थ्य सामग्री खरिदमा बढी ध्यान गएको देखिन्छ । ६ महिना अगाडि उपेन्द्र यादवको स्थानमा स्वास्थ्य मन्त्री भएका ढकाल सम्भवत अहिलेसम्मकै सबैभन्दा बढी विवादास्पद् र असफल स्वास्थ्य मन्त्री हुन् ।

गृह जिल्ला तेह्रथुममा चुनाव जित्न सक्ने अवस्था नभएपछि मोरङको क्षेत्र नं ३ बाट चुनाव लडेर जितेको मन्त्री ढकाल तत्कालिन नेकपाकै गढ मानिएका क्षेत्रमा तत्कालिन माओवादीले समर्थन गर्दा पनि एक हजार बढी मातान्तर गर्न सकेनन् । उनलाई नोवल मेडिकल कलेजका संचालक समेत रहेका डा. सुनिल शर्माले टक्कर दिएका थिए ।

चिकित्सा क्षेत्रका स्थापित व्यक्तित्व डा. शर्माले ढकालका निर्वाचन क्षेत्रका विरामी, असक्त, बृद्ध र आर्थिक अवस्था कमजोर भएका व्यक्तिको निशुल्क उपचार गर्न थालेपछि ढकाल असिमित आर्थिक आम्दानी गरेर उनलाई टक्कर दिन चाहन्छन् । त्यसैले मन्त्री ढकालले विवादस्पद कम्पनी ओम्नीलाई अर्वौंको स्वास्थ्य सामग्री खरिदको लागि सार्वजनिक खरिद ऐनको छिद्रलाई उपयोग गर्दै बजार मुल्यभन्दा ४० प्रतिशत बढीमा खरिदको लागि ठेक्का दिएका थिए ।

सो प्रकरण बिबादस्पद भए, ओम्नीले निर्धारित समयमा गुणस्तरीय सामग्री आपूर्ति गर्न नसकेपछि ठेक्का रद्ध गरिएको थियो । तर, ठेक्का सम्झौता गर्ने विभागी प्रमुख र मन्त्री ढकाललाई अख्तियारदेखि राज्यका कुनै पनि निकायले कारबाही गर्ने प्रयास गरेन ।

स्वास्थ्य मन्त्रालयमा चिकित्सक सचिवको दरबन्दी खाली छ । उनी आउनु अगाडि सचिव डा. पुष्पा चौधरीले राजिनामा दिएकी थिइन । ढकालले डा. चौधरीको राजिनामा स्विकृत गराएर गैर चिकित्सकलाई सचिवमा नियुक्त गरे । जबकी सचिव हुनका लागि बाह्रौ तहमा दुई जना चिकित्सक डा. रोसन पोखरेल र डा. दीपेन्द्ररमण सिँह थिए र अहिले पनि छन् ।

कोरोना संक्रमणको संकटमा परेका बेला डाक्टर सचिवको नेतृत्वमा पूरै स्वास्थ्यको टिम मैदानमा ओर्लनु पर्नेमा प्रशासन तर्फका सचिवले अहिले मन्त्रालय चलाउने धृष्टता गरेका छन् । तर ती प्रशासनमा सचिव पनि चार महिनामा दुई जना परिवर्तन भइसकेका छन । ओली सरकारको दुई बर्षमा ६ जना सचिव परिवर्तन गराएर स्वास्थ्य मन्त्रालय आयाराम गयाराम बनाइदिएका छन ।

डा.निराकारमान श्रेष्ठ, डा.सुधा शर्मा, डा.प्रविण मिश्र, डा. किरण रेग्मी, डा. सेनेन्द्र उप्रेति हुदै डा.पुष्पा चौधरीसम्म स्वास्थ्य मन्त्रालयको नेतृत्व चिकित्सकले हाँकेका थिए । तर केपी ओलीको सरकार बनेपछि फूल मन्त्रीको अधिकार दिएर नेकपाबाट पद्मा अर्याललाई राज्यमन्त्री बनाएपछि स्वास्थ्यमा फेरी चिकित्सक सचिवलाई हटाएर प्रशासनतर्फका सचिवलाई सचिव बनाएर एउटै मन्त्रालयमा दुई सचिव बनाएर दुईलाई भिडाउने काम गरियो ।

डा. पुष्पा चौधरी र प्रशासनबाट स्वास्थ्य सचिव बनाइएका केदार अधिकारीबीच त गत वर्ष सचिवको कुर्शी खोसाखोस भएको थियो । अधिकारपछि चन्द्र घिमिरे, रामप्रसाद थपलिया, खगराज बराल, यादव कोइराला हुदै अहिले लक्ष्मण अर्याल स्वास्थ्य सचिव भएर आएका छन ।

दुई वर्षमा ७ सचिवको सरुवा गरेर मन्त्रालय अस्तव्यस्त बनाइएको छ । अहिले देश भरिका चिकित्सकहरुले मन्त्रालयमा आफूहरुको भावना र कुरा बुझ्ने व्यक्ति नभएको महसूस गरेका छन । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा समेच चिकित्सक सेवाका सबै भन्दा सिनियर डा. रोसन पोखरेललाई हटाएर कनिष्ठ पब्लिक हेल्थका महेन्द्रप्रसाद श्रेष्ठलाई महानिर्देशक बनाएका छन् ।

स्वास्थ्य मन्त्रालयको इतिहासमा गैर चिकित्सकलाई विभागको महानिर्देशक बनाएको यो नै संभवतय पहिलो घटना हो । श्रेष्ठले खरिद गरका कोरोना स्वास्थ्य सामग्रीका कारण स्वास्थ्य मन्त्रालय बदनाम भयो । इतिहासमै औषधि किन्ने अधिकार समेत स्वास्थ्य मन्त्रालयबाट सेनालाई दिइयो । महेन्द्रले बदनाम हुने गरि डुवाउदा समेत मन्त्री ढकालको चेत खुलेको छैन ।

दुई तिहाईको सरकारको स्वास्थ्य मन्त्री भएकाले चिकित्सक संघका नेकपा निकट चिकित्सकहरुलाई जुनसकै हतकण्डा अनपाएर पनि जित्ने रणनीति बनाएका ढकाल आफै पछारिएका छन् उनको मेहनत सबै खेर गयो र सोचेभन्दा ठिक उल्टो आयो । १० हजार चिकित्सक सदस्य रहेको एक मात्र छाता संगठनको अध्यक्षमा प्रजातान्त्रिक निकट चिकित्सकका अध्यक्ष डा. लोचन कार्की बिजय भएपछि मन्त्री ढकाल झन आगो भएका थिए ।

मन्त्री ढकालले कसरी हुन्छ औषधि खरिद र सरुवा वढुवा गरेर दाम अर्थ संकलनलाई बढी प्राथमिकता दिएको पाइन्छ । प्रशासनका सचिव अर्याल वा गैरचिकित्सक महेन्द्र श्रेष्ठले स्वास्थ्य समस्यालाई चाहेर पनि बुझ्न सक्ने अवस्था छैन । उनीहरुको एकोहोरो ध्यान भनेको खरिदमा करोडौ कमिसन आर्जन गर्ने ध्याउन्न मात्र छ ।

डाक्टर जतिलाई कांग्रेसी ठान्नु मन्त्री ढकालको अर्को मुख्र्यार्ईं हो । डाक्टर नै स्वास्थ्य मन्त्री हुनुपर्छ भन्ने होइन । तर सचिव चिकित्सक हुनु पर्छ । त्यो पनि भएन भने महानिर्देशक डाक्टर हुनु पर्छ । अहिले मन्त्री, सचिव र महानिर्देशक कुनै पनि नेतृत्व चिकित्सक छैनन् । त्यसभन्दा पनि ठूलो कुरा मन्त्रीको भावना नै चिकित्सक बिरोधी छ । कि मन्त्रीले छोड्नु पर्यो नभए चिकित्सकहरुलाई साथमा लिएर काम गर्नु पर्यो । भद्रगोल बनाएर जनताको स्वास्थ्य अधिकारको हनन गर्ने अधिकार तिनलाई छैन ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०७७ जेष्ठ २२, १६: ३३

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०७७ जेष्ठ २२, १६: ३३

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०७७ जेष्ठ २२, १६: ३३

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...