श्रीमतीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई अदालतबाट दोषी ठहर – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

श्रीमतीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई अदालतबाट दोषी ठहर

नयाँ विकल्प

धनुषा- धनुषामा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ।

अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २७ वर्षीय सञ्जीव साहलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी गङ्गाकुमार मिश्रले जानकारी दिए। उनका अनुसार सोही घटनामा पक्राउ परेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई भने सफाइ दिइएको छ।

गत कात्तिक २९ गते दीपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए।

आरतीमाथि एसिड प्रहार गरेकै दिन सञ्जीव पक्राउ परेका थिए भने सञ्जीवको बयानका आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्तापछि पक्राउ गरिएको थियो। घटनापश्चात् सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जीव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए।

दुवै जनाविरुद्ध अङ्गभङ्ग, कुरुप र एकीकृत कसुर गरी तीनवटा कसुरको सजायका लागि माग दाबी गरिएको थियो। अङ्गभङ्गमा ५ वर्ष, कुरुप बनाएकामा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको थियो।

यस मुद्दामा यसअघि ६ वटा पेसी भए पनि विभिन्न कारणले स्थगित गरिएको थियो। सूचना अधिकारी मिश्रले अब सरकारी वकिल तथा कानुन व्यवसायीबाट प्रतिवेदन आइसकेपछि सञ्जीवलाई सजायका लागि पेसी हुने बताए। अदालतले दोषी ठहर गरिसकेपछि अब अर्को पेसीमा सजाय तोकिने सूचना अधिकारी मिश्रले जानकारी दिए।

“सजायको सन्दर्भमा सरकारी वकिलबाट प्रतिवेदन माग गरिएको छ”, उनले भने, “त्यो पेस भएपछि सजाय तोकिनेछ।”

चार वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा निवासी सञ्जीवसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो। एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नाका साथै घाँटी, छाती लगायतका शरीरको आधी अङ्ग जलेर कुरुप बनेका छन्।

एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकामा खत बसेको छ। घरायसी विवादका कारण माइतमा बस्दै आएकी आरतीमाथि सञ्जीवले एसिड प्रहार गरेको आरतीकी आमा सुनिता देवीले बताइन्।

केही वर्षअघि पनि सञ्जीवले मट्टितेल खन्याएर आगो लगाई आरतीलाई मार्ने प्रयास गरेका थिए।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण २६, ०७: ४४

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ श्रावण २६, ०७: ४४

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ श्रावण २६, ०७: ४४

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...