हाम्रा कलमले सधैँ देश, जनता र प्रजातन्त्रका पक्षमा मात्र लेख्न सकोस्: हरिविनोद अधिकारी – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

हाम्रा कलमले सधैँ देश, जनता र प्रजातन्त्रका पक्षमा मात्र लेख्न सकोस्: हरिविनोद अधिकारी

१.नयाँ विकल्प साप्ताहिक पत्रिका अर्थात् तपाईँले पढिरहनु भएको पत्रिका २८ वर्ष पुगेर २९ वर्षमा प्रवेश गरेको छ । सूचना प्रविधिको विकासले पाठकहरु र सूचनाका सम्वाहकहरुलाई सूचना पाउन र पस्कन हतारो भएको बेलामा एकहप्ता पर्खनु भनेको लामो समय हो ।

र पनि हप्ताभरिका समसामयिक तथा महत्वपूर्ण विषयहरुमा विश्लेषणात्मक धारणा पस्केर विचारलाई नयाँ तरिकाले जनसमक्ष पु¥याउनु नै साप्ताहिकहरुको कर्तव्य हो । नेपालमा त बारम्बार प्रजातन्त्रका लागि लडिरहनु पर्ने बेलामा चेतनाकोे सम्वाहक र वाणीविहीनहरुको आवाजका रुपमा साप्ताहिक पत्रिकाहरुले कर्तव्य पूरा गरेका छन् ।

हामीले पनि करिब ३ दशकदेखि अनवरतरुपमा प्रजातन्त्र र जनजीविकाका लागि आफ्ना भावना मुखरित गर्दै आएका छाैं ।
२. मानिसको जीवनमा जस्तै संस्था र पत्रिकाको जीवनमा पनि आरोह अवरोह आउँछन् तर त्यसको समाधानचाहिँ जबाफदेही लिने व्यक्तिकै जिम्मामा हुन्छ । जसरी पनि , जुनसुकै हालतमा पनि निरन्तरर प्रकाशन हुनुमा हामीले प्रकाशकलाई धन्यवाद दिनैपर्छ ।

यो बिचमा धेरै पत्रिकाहरु आए, गए । तर व्यवस्थापनले जसलाई दिगोरुपमा समाजमा टिकाउन सक्यो, ती पत्रिकाहरुमात्र प्रकाशनमा आउन सके । तर समयको हेरफेरले होला, अहिले तिनको पनि हैसियत किन खस्किएको छ भने अनलाइनको व्यापकताले हुनुपर्छ ।

३. नयाँ विकल्पको सुरुवात असारको पहिलो हप्तामा भएको थियो २८ वर्ष पहिले । हामीले अरुकुरामा भन्दा बढी ध्यान दिएको पक्ष हो प्रजातन्त्रको दिगोपन । प्रजातन्त्रको नाममा धेरै विशेषणको जरुरत पर्दैन किनभने त्यो नै शब्दले एउटा पूर्ण शासन प्रणालीको अर्थ दिन्छ जहाँ अभिव्यक्ति स्वतन्त्रताको गहनता लुकेको हुन्छ ।

सहिष्णुता, समझदारिता, स्वतन्त्रता, पारदर्शिता र लेखन—पठन—सांगठनिक स्वतन्त्रताको निर्वाध प्रयोग गर्न पाइन्छ । अहिले नेपालमा कतिसम्मको अभिव्यक्ति स्वतन्त्रता छ भन्नु भन्दा हामीले कतिसम्म उपयोग गर्न सकेका छौँ भनेर आफैँलाई आत्ममूल्याङ्कन गर्नुपर्ने हुन्छ ।

४.नेपाल अझै संक्रमण अवस्थामा छ । सरकारमा आउने कतिपय दलहरुका सिद्धान्त हेर्दा तिनको शब्दकोशमा अभिव्यक्ति स्वतन्त्रता भनेको सरकारको प्रशंसा बाहेक हुँदैन भने कतिपय दलहरुमा आफ्नो दलको सरकारको विरोध पनि खप्ने र जनतालाई वाकस्वतन्त्रता पनि दिने चलन देखिन्छ ।

तर खोइ किन हो, जबजब प्रेससम्बन्धी कानुनहरु बन्न थाल्छन्, जहिले पनि पत्रकारहरुप्रति र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिने प्रावधानहरु राखिन्छन् जसका लागि हामीले अनवरत संघर्ष गरिरहनु पर्ने हुन्छ, गरिरहेका पनि छौँ ।

५. हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षधरतामा विश्वास गर्दछौँ तर छाडापन , राज्यप्रतिको अनास्था, प्रजातन्त्रप्रतिको वितृष्णा जगाउने र विश्वबन्धुत्वमा आँच आउने कुरामा भने विश्वास गर्दैनौँ । नेपालको समस्या भनेको दलहरु गठबन्धनमा हुन्छन् र परस्पर विरोधीहरुले सत्ता समालेकाले होला, प्रजातन्त्रका मूलभूत मान्यतामा नै उनीहरुको एउटै बुझाइ हुँदैन र उनीहरु आपसमा सम्झौता गर्छन् जसको मारमा मुलुकको संक्रमणकालीन प्रजातन्त्र परिरहेको हुन्छ ।

६. हाम्रो काम भनेको खबरदारी गर्ने हो । सरकारले गरेका जनपक्षीय राम्रो कामको प्रशंसा गर्ने हो र अचेल प्रयोगमा आएका तीनतहका सरकारले गर्ने कतिपय जनविरोधी कामको विरोध गर्ने हो । वास्तवमा अहिले त स्थायी विपक्षीको भूमिका प्रेसले गरेको छ र जनतालाई सुसूचित गराउने गुरुत्तर जिम्मेवारी प्रेसले नै लिएको छ ।

जसमा हामीले पनि बेलाबेलामा वाक स्वतन्त्रताका पक्षमा, प्रेस स्वतन्त्रताका पक्षमा भूमिका निर्बाह गरिरहेका छौँ, हाम्रो सन्तोष भनेको पनि त्यही हो । हामीले प्रजातन्त्रका पक्षमा कति गरिरहेका छौँ, त्यो त समाज र पाठकवर्गले मूल्याङ्कन गर्ने कुरा हो तर हामी आफ्ना अनवरत हिँडाइमा सन्तुष्ट छौँ र यो अवसर कहिले पनि गुमाउने छैनाैं भन्ने कुरामा विश्वस्त पार्न चाहन्छौँ ।
७. हाम्रा प्रजातन्त्रका बारेका मान्यता विश्वव्यापी मान्यताभन्दा फरक छैनन् ।

तर प्रजातान्त्रिक संविधानलाई मान्छु भनेर निर्वाचनबाट आउने दलहरु तथा निर्वाचित जनप्रतिनिधिहरुले प्रजातन्त्रको उपेक्षा गरेर शासन चलाउने वा प्रजातान्त्रिक संस्थाहरुको विरुद्धमा बोल्ने वा काम कार्बाही गर्दा भने हामी चुपचाप बस्न सक्दैनौँ । सायद यो प्रण जो सुकै , जुनसुकै व्यक्ति वा संस्था जो अभिव्यक्ति स्वतन्त्रताप्रति समर्पित हुन्छ, सबैको हो । हाम्रो पनि हो । हाम्रो काम भनेको सजगता गराउने हो ।

जसको जे काम हो , त्यसले त्यही गर्ने हो । हाम्रो काम भनेको बोलेर, लेखेर, प्रकाशित गरेर जनतामा सचेतना फैलाउने हो जसले गर्दा मुलुकमा भएका अप्रजातान्त्रिक करतुतहरुको भन्डाफोर होस् , जनता त्यसबाट मारमा नपरुन् र मुलुक बारम्बारको संक्रमणबाट जोगियोस् भन्ने हो ।

८. नयाँ संविधान आएपछिको संसदीय निर्वाचनबाट स्थायीरुपमा मुलुकमा प्रजातन्त्रको विकासक्रम दिगो होला भन्ने सोचेका थियौँ तर झन झन मुलुक संक्रमणकालतर्फ मोडिँदै छ र सत्तामा रहनेहरु अस्थिर प्रवृत्तिका कारणले मुलुकको विदेश सम्बन्ध झन झन तरल बन्दैछ । हामी धेरै नै पारदर्शी भएका हौँ कि मुलुक अरु कसैले अस्थिर बनाउँदै छ भन्ने कुरामा शंका उठ्न थालेको छ । प्रेसले पनि यसबारेमा स्पष्ट कुरा गर्नुपर्छ भनेर हामीले भन्दै आएका छौँ ।

९. र अन्त्यमा, हामीलाई पाठकहरुको माया चाहिन्छ । हामीलाई समाचार सूत्रहरुको विश्वास चाहिन्छ । हामीलाई विद्वान विचारक, लेखक तथा विश्लेषकहरुको अनवरत सहयोग चाहिन्छ जसले गर्दा हाम्रो अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अनवरत लागिरहन उर्जा मिल्नेछ भन्ने कामना सहित हामी सबैलाई , यो पत्रिकासँग सम्बन्धित सबैलाई वधाइ तथा शुभकामना व्यक्त गर्दछु किनभने म पनि यसमा करिब २ दशकभन्दा बढी समयदेखि निरन्तर स्तम्भकारका रुपमा रहेको छु ।

मैले पनि आफूले जानेसम्म आफ्ना विश्लेषण, विचार तथा सूचना दिँदै आएको छु । त्यसैले पनि मेरो कामना भनेको हाम्रो यो संस्थाले सदैव प्रजातन्त्रको पक्षमा बोलोस् र यसमा को रिसाउँछ वा खुसाउँछ भन्ने कुरा गौण हो । देश बन्नुपर्छ, प्रजातन्त्र रहनु पर्छ ।

अरु सबैकुरा हुँदैजान्छ । हाम्रा कलमले सधैँ देश र प्रजातन्त्रका पक्षमा लेख्न सकोस् र अरुलाई पनि हामीले त्यही मान्यतामा डो¥याउन सकौँ । फेरि पनि २८ बर्से नयाँ विकल्पलाई शुभकामना जन्मदिनको ।

सम्बन्धित समाचार

मुलुकको अवस्था, रास्वपा र नेपाली कांगे्रसको भविष्य
मुलुकको अवस्था, रास्वपा र नेपाली कांगे्रसको भविष्य
  • २०७९ असार १०, १५: ४४

१. राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार २०७९साल असार ७गते स्थापना भएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को पहिलो महाधिवेशन असार ७गते सुरु...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७९ असार १०, १५: ४४

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७९ असार १०, १५: ४४

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...