December 3, 2021, Friday

विश्वसनीय पार्टीको रुपमा नेपाली काङ्ग्रेस कसरी विकसित हुनसक्छ ?

१.नेपाली काङ्ग्रेसको आन्तरिक निर्वाचनका विभिन्न चरणहरु पार हुँदैछन् । यसपटकको निर्वाचनमा संघीय संरचनालाई आधार बनाएर पहिलेको भन्दा फरक तरिकाले निर्वाचन गराउनु परेकाले होला, प्रक्रियामा केही अलमल भएको देखिन्छ ।

जहाँ जहाँँ निर्विरोध निर्वाचन सम्पन्न भएका छन्, सहमतिमै विभिन्न प्रकारका प्रतिनिधि छान्ने काम सहज तरिकाले भएको देखिन्छ । तर जब महाधिवेशनका लागि प्रतिनिधि पठाउने बेला हुनेछ, अनि लोभी, स्वार्थी, धनबाद, लाठीबाद र राजनीतिको कुरुप देखिन थाल्ने छ ।

२. जो साँच्चै प्रजातन्त्रवादी हो, काङ्ग्रेसमा बुझेर लागेको छ र प्रजातन्त्रका मूल्य र मान्यतामा आफूलाई न्यौछावर गर्न राजनीतिमा लागेको छ, उसले त्यस्तो अस्वस्थ प्रतिस्पर्धा किन पनि गर्न चाहना राख्नेछैन ।

यदि त्यसरी प्रतिस्पर्धा गरेमा या त उसले हार्नेछ, या उसका लागि पार्टीमा बस्न नै दुरुह हुनेछ । हुन त यो आन्तरिक प्रतिस्पर्धा हो र तर यी आन्तरिक प्रतिस्पर्धामा नै कसैको राजनीतिक भविष्य सखाप पार्न भनेर केही लागेकै हुन्छन् । तिनीहरुको दुईओटा अभीष्टता हुनेछन्—एउटा अर्कोपक्षको अस्तित्व नै पार्टीमा मेटाउने ।

त्यसको लागि उपयुक्त समय भनेको नै निर्वाचनमा जसरी हुन्छ हराएर आगामी चार पाँच वर्षसम्मका लागि सक्रिय राजनीतिक जीवनबाट उसलाई टाढा राख्ने, अनि त त्यसबिचमा नयाँ नयाँ नेतृत्वका लागि बाटो तयार गरेर उसको दलप्रतिको आस्था र लगानीलाई सदाका लागि सिध्याउने । त्यसको मतलब के पनि होइन भने प्रतिस्पर्धामा जाने बित्तिकै राजनीतिक जीवनको नै अन्त्य भएको मान्ने ।

त्यस्तो अस्वस्थ प्रतिस्पर्धा गर्ने भनेकै अवसरवादी, अहङ्कारी, अरुबाट निर्देशित अनि कुनै पनि बेला अवसरको खोजीमा रहने मनुवाहरु हुने रहेछन् । त्यस्तो उदारताको खोलभित्र अनुशासनहीनहरु धेरैजसो नेपाली काङ्ग्रेसमा देखिन्छन् भन्ने राजनीतिक पर्यवेक्षकहरुको धारणा छ । अरु दलमा सक्रिय, सबै दलहरु एकै हुन् या मलाई त राजनीतिमा पटक्कै वास्ता छैन भन्दै सबे दलहरुमा लगानी गर्नेहरुले जत्ति नेपाली

काङ्ग्रेसमा मौका पाएका देखिन्छन्, त्यति अरु दलमा देखिँदैन भन्ने राजनीतिक विश्लेषकहरु पनि छन् । यसका कारण के पनि हो भने पञ्चायतका कालमा शुद्ध राजनीतिक कारणले, प्रजातन्त्रको आवश्यकताका लागि अडिग रहेर आफूलाई पूर्णकालीन राजनीतिमा लगाउनेहरु जो जेल नेल र धेरै लामो समय प्रवासमा समेत बिताएकाहरु धेरै छन् र आकाङ्क्षीहरु प्नि त्यहाँ बढी नै देखिन्छन् ।

तर सत्ताको राजनीति गर्ने खुला समयमा ती हिजोका पीडितहरुभन्दा ओठे भक्तिवालाहरुले तत्कालै पार्टीमा प्रभाव पारेर धेरै अवसरहरु प्राप्त गरेर ती दलभित्रका पीडितहरुलाई आफ्नो निसानामा पारेका धेरै उदाहरणहरु पाइन्छन् ।

त्यसो त नेपाली काङ्ग्रेसमा हिजोका सिद्धान्तनिष्ठ र पीडितहरु पनि अझै नेतृत्वमा त छन् तर उनीहरुबाट फाइदा पाउनेहरु र पार्टीको मुख्य भागमा नाग कुण्डली मागेर बस्नेचाहिँ त्यस्तै छन् भन्ने आम जनगुनासो पाइन्छ । त्यस्ता इमान्दार कार्यकर्ताले नेतृत्व गरेका ठाउँमा मुख्य नेताहरुले विश्वास गर्दैनन् र तिनीहरुकै सेरोफेरोमा उनीहरुलाई घुमाउनका लागि मौका दिन्छन् भन्ने पनि छ ।

अरु दलमा पनि त्यस्तो त होला, तर अलि खुकुलो अनुशासनका कारणले होला, नेपाली काङ्ग्रेसमा बढी नै छ भनिन्छ । त्यसैले अहिले यो आन्तरिक निर्वाचनमा ती अवसरवादीहरु यसकारणले सलबलाएका छन् कि तिनले पार्टीमा कब्जा गर्ने बेला यही हो ।

ती कति पार्टी सभापति शेरबहादुर देउबाको नाममा सलबलाएका होलान्, कति उपसभापति विमलेन्द्र निधिका नाममा, कति पार्टी महामन्त्री डाक्टर शशाङ्क कोइरालाको नाममा, कति वरिष्ठ नेता रामचन्द्र पौडेलका नाममा, कति पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहका नाममा त कति अरु नाम चलेका आकांक्षीहरुका नाममा आफूलाई महान कार्यकर्ता ठान्नेहरुले पार्टीको नाम बदनाम गरिरहेका पाइन्छन् ।

विचारद्वारा मात्र सिद्धान्त गतिशील हुन्छ र सिद्धान्तले मात्र असल कामको यश अपयश लिने कुरामा नैतिक पाठ सिकाउँछ । अचानक अवसरको खोजीमा हिँड्नेहरुका लागि कुनै नेताको आशीर्वाद अरुको मान मर्दन र संस्थाको बदनाम गराउने चालमात्र हुने कुरामा यही आन्तरिक, स्थानीय, प्रादेशिक तथा संघीय निर्वाचनका बेलामा झन बढी चाल चल्न सहज हुने रहेछ ।

किनभने कुनै पनि निर्वाचनको बेलामा सहयोगीको जरुरत पर्दछ र त्यस्ता व्यक्तिहरु त्यस्तै समयको खोजीमा हुन्छन् । झन दलीय प्रतिस्पर्धाको जटिल समयमा कुटिलताको सिद्धान्त प्रयोग गरेर भए पनि असल व्यक्तिको आन्तरिक कमजोरी पत्ता लगाउनका लागि त्यस्तो काम हुने गर्छ ।

३. आन्तरिक निर्वाचनमा समेत अहिले नेपाली काङ्ग्रेसमा अनेक तिकडम गरेको देखिन्छ । सबैभन्दा ठुलो कुरा संगठनको सुदृढीकरण हो र सिद्धान्तसँगै विचारलाई स्पष्ट गर्ने बेला पनि हो ।

सिद्धान्त र व्यवहारको मिलन छ भने मात्र दलको विश्वसनीयता बढ्छ । नेताको विश्वसनीयता नीतिको स्पष्टता र प्रयोगमा निहित हुन्छ । त्यसैले यसपटकको चौधौँ महाधिवेशनको बेलामा त्यही कुरालाई ध्यानमा राखेर नेपाली काङ्ग्रेसले आप्mनो पार्टीको विश्वसनीयता सँगै सिद्धान्तमा पनि स्पष्टता ल्याउला भन्ने अपेक्षा गर्ने प्रजातन्त्रवादीको अपेक्षा देखिन्छ ।

सायद त्यसैले पनि होला, धेरै ठाउँमा निर्विरोध निर्वाचनका वातावरण विकसित भएको छ ।

४. र अन्त्यमा, संख्याभन्दा गुणस्तरीय सदस्यहरुको सक्रियताले मात्र दलको महत्व बढ्दो देखिन्छ । दलले आफ्नो घोषणा पत्रको पाना पानामा लेखिएका कुराहरु जनतामा बुझाउन सक्नुपर्छ र त्यही अनुसार गरेको पनि देखिनु पर्छ ।

कागजमा देखिने नाराले भन्दा आम नागरिकको जीवनमा देखिने रुपान्तरणले मात्र दलको विश्वसनीयतामा वृद्धि हुन्छ भन्ने कुरा यही आन्तरिक निर्वाचनका बेलामा नै हो सम्झने र भावी नेतृत्वलाई त्यसमा बचनबद्धता गराउने ।

यदि बचनबद्धताअनुसार काम नभए त्यस्तालाई प्रत्याह्वान गर्ने नीतिमा सक्रिय सदस्यहरुको उत्तरदायित्व हुन्छ भन्ने कुरामा आफैँले आफैलाई सम्झाउने हो कि ?

सम्बन्धित समाचार

खानेपानीको अभाव र ढल निकासको समस्या समाधान गर्न मन्त्रीकाे निर्देशन
खानेपानीको अभाव र ढल निकासको समस्या समाधान गर्न मन्त्रीकाे निर्देशन
  • २०७८ आश्विन १९, १७: ३६: १४

बीरगञ्ज । खानेपानी मन्त्री उमाकान्त चौधरीले तराई मधेशका जिल्लामा देखिएको खानेपानीको समस्या समाधान गर्नको लागि मन्त्रालय मातहतका संघीय कार्यालयका प्रमुख...

बागमतीमा त्रिपक्षिय भिडन्तः बानियाँ, केसी र प्रधानको प्यानल प्रचारमा
बागमतीमा त्रिपक्षिय भिडन्तः बानियाँ, केसी र प्रधानको प्यानल प्रचारमा
  • २०७८ आश्विन १९, १७: ३६: १४

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत देशका सात वटै प्रदेशमा आज उम्मेदवारी दर्ताको क्रम जारी छ । सबै प्रदेशमा...

अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस
अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस
  • २०७८ आश्विन १९, १७: ३६: १४

काठमाण्डौं । आज अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमगरी मनाइँदै छ । समावेशी, सुलभ र दिगो, कोभिड–१९...